+
+
Shares

देशभर ११ प्रतिशत रोपाइँ, उत्पादन घट्नसक्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १५ गते ८:४७

१५ असार, काठमाडौं । मध्यअसार आइपुग्दा पनि पर्याप्त पानी नपर्दा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । हालसम्म नेपालभर जम्मा ११.६४ प्रतिशत मात्र रोपाइँ भएको छ । यो गत वर्षको तुलनामा ३.४५ प्रतिशत कम हो । गत वर्ष असार १५ को अवधिमा देशभर १५.०९ प्रतिशत रोपाइँ भएको थियो ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार हाल उच्च पहाडमा २६.३१ प्रतिशत र मध्य तराईमा १५.१२ प्रतिशत रोपाइँ भएको छ । अन्नको भण्डार मानिने तराईमा जम्मा ९.५९ प्रतिशत मात्र रोपाइँ भएको छ । जबकी तराईमा धान रोपाइँ १० लाख ९४ हजार ६३६ हेक्टर क्षेत्रमा हुन्छ । तर, १५ असारसम्म जम्मा १ लाख ५ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ ।

यस वर्ष किसानहरुले खडेरी र मलखादको अभाव भोगेका छन् । इटहरी, इलाम, उदयपुर, कलैया, काठमाडौं, धुलिखेल, हेटौंडा, भरतपुर, गजुरी, नेपालगञ्ज, गुलरिया, दाङ घोराही, तुल्सीपुर, लमही, सुर्खेत, धनगढी र महेन्द्रनगरका किसानहरुले मलको अभाव भोगेको कृषि सामाग्री व्यवस्थापन तथा प्रविधि शाखाको तथ्यांक छ ।

उत्पादन घट्न सक्ने

सरकारले तामझामका साथ धान दिवस र रोपाइँ महोत्सव मनाइरहँदा धेरैजसो किसानहरुले मल र पानीको अभावका कारण खेती गर्न पाएका छैनन् । अधिकांश खेत बाँझै छन् । सुक्खाका कारण खेतमा धाँजा फाटेका छन् । धानका बेर्नाहरु पनि खेतमै सुक्न थालेका छन् । यस वर्ष नेपालमा १० दिन ढिला गरी मनसुन भित्रिए पनि सक्रिय नहुँदा पर्याप्त पानी पर्न सकेको छैन ।

यस्तै अवस्था रहीरहे यस वर्ष ५ प्रतिशतले धान उत्पादन घट्ने कृषि मन्त्रालयको प्रक्षेपण छ । मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले अनलाइनखबरसँग भने, ‘आजको मौसमअनुसार, आजको रोपाइँअनुसार, आजसम्म प्राप्त तथ्यांकअनुसार ५ प्रतिशत घट्ने अनुमान गरिएको हो । मौसममा हुने परिवर्तनले यो तथ्यांक परिवर्तन पनि हुनसक्छ ।’

लक्ष्य भेट्न मुस्किल

सरकारले आगामी आर्थिक वर्षमा ७० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य लिएको छ । यो लक्ष्यअनुसार चालु आर्थिक वर्षको तुलनामा १५ लाख मेट्रिक टन बढी धान उत्पादन गर्नुपर्छ ।

तर प्रतिकुल मौसम, मलखादको अभाव लगायतका कारण लक्ष्य भेट्टाउन मुस्किल पर्ने देखिन्छ । आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले धान उत्पादन बढेको थियो । यो उत्पादन अहिलेसम्मकै अधिक र ऐतिहासिक हो ।

यस उत्पादन वृद्धिलाई निरन्तरता दिनु चुनौती रहेको कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलले बताए । ‘धान उत्पादन वृद्धि हुनुमा रासायनिक मलखाद तथा उन्नत बीउ बिजनको समयमै उपलब्धता, अनुकूल वर्षा भई समयमै रोपाइँ सम्पन्न हुनु आदि कारणहरु थिए, यस उत्पादन वृद्धिलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिनु पर्ने चुनौति भने हाम्रो सामु विद्यमान छ,’ उनले भने ।

धान आयातमा वार्षिक २५ अर्बभन्दा बढी रकम विदेशियो

धानको उत्पादन एवं उत्पादकत्वमा हासिल भएको उपलव्धि एवं व्यवसायीकरणका लागि गरिएका प्रयासका बाबजुद पनि नेपाल धानमा आत्मनिर्भर हुन सकिरहेको छैन । चालु आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्नेमा करिब ६ लाख मेट्रिक टन चामल अपुग हुने अनुमान छ । केही दशकअघि धान निर्यातको इतिहास बोकेको नेपालले हरेक वर्ष विदेशबाट हुने आयातमा निर्भर छ । यसबाट वार्षिक २५ अर्बभन्दा बढी नेपाली रुपैयाँ विदेशिन पुगेको महानिर्देक पौडेल बताउँछन् ।

धान सिजन भरी नियमित सिँचाइ उपलब्ध हुन नसक्नु, धानको गुणस्तरीय बीउ प्रतिस्थापन दर न्यून हुनु, माटोमा प्रांगारिक पदार्थ न्यून भई उर्बराशक्ति कमजोर हुनु र सन्तुलित मलखादको प्रयोग हुन नसक्नु आदि कारणहरुले आशातित रुपमा उत्पादकत्व वृद्धि हुन नसकेको सरकारी अधिकारीहरु बताउँछन् । त्यस्तै प्रतिकुल मौसम र रोग कीराको महामारीले पनि धान उत्पादन प्रभावित हुने गरेको छ ।

संसारमा करिब १६ करोड ७० लाख हेक्टरमा धान खेती भई ७६ करोड ९६ लाख मेट्रिक टन उत्पादन भएको पाइन्छ, जसको ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकहरुमै हुन्छ । उत्पादनको दृष्टिले सबैभन्दा विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन हो भने त्यसपछि क्रमशः भारत, इन्डोनेशिया, बंगलादेश र भियतनाम पर्दछन् ।

वैज्ञानिक तथ्यअनुसार ८ देखि १० हजार वर्ष अगाडि मानवीय उपयोगका लागि पहिलो बालीको रुपमा धानलाई संरक्षण एवं खेती गर्न सुरु गरिएको मानिन्छ । यसको उत्पत्ति क्षेत्रमध्ये नेपाल पनि एक हो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?