
११ साउन, काठमाडौं । तामाकोसी-३ जलविद्युत आयोजनाको क्षमता तेस्रोपटक घटाइने भएको छ ।
अब यो आयोजना सुरुआतको सर्भेमा ८८० मेगावाट बनाउन सकिने भनिएको आयोजनाको क्षमता ६८० मेगावाट घटाएर २ सयमा कायम गर्ने तयारी छ । यसले स्रोतको सम्भाब्य क्षमता उपयोग नहुनेे अवस्था सिर्जाना भएको छ ।
योजनाअनुसार काम भएको भए नर्वेको स्ट्याटक्राफ्ट कम्पनीको लगानीमा आयोजनाले २ वर्षअघि नै दोलखामा विजुली उत्पादन गथ्र्यो । एसएन पावरले गरेको अध्ययनले यो आयोजना ८८० मेगावाटमा बनाउन सकिने देखाएको थियो । २०१२ देखि निर्माण कार्य सुरु गरेर सन् २०१६ भित्र २ सय २० मेगावाट र अर्को एक बर्षभित्र पुरै विजुली उत्पादन गरिसक्ने उसको योजना थियो ।
नर्वेजियन कम्पनीले निर्माण सम्पन्न गराउने वातावरण बनाउन भन्दै आयोजनालाई ६५० मेगावाटमा झार्न लगायो । उसले त्यसअनुसार सर्भे पनि गरेको थियो ।
तर बजार सुनिश्चित नभएको भन्दै आयोजना विकास सम्झौता गर्नेबेला २०७२ पुसमा नर्बेली कम्पनी आयोजनाबाट बाहिरियो । झण्डै दुई वर्षपछि ऊर्जा मन्त्रालयले २०७४ असोजमा टीबीआई होल्डिङ्सलाई आयोजना सुम्पियो । तत्कालीन समयमा ५ सय मेगावाट बढीका आयोजना लगानी बोर्डको कार्यक्षेत्रमा भएपछि मन्त्रालयले सर्भे अनुमति दिएपछि मतभेद समेत भएको थियो ।
लामो समय अलमलपछि टीबीआई होल्डिङ्सले बिहीबार दुई चिनियाँ कम्पनीसँग संयुक्त लगानीमा आयोजना २ सय मेगावाटमा बनाउने गरी समझदारी गरेको छ । चीनको वाईआईजी इन्टरनेसनल र सांघाइ इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिचर्स इन्स्टीच्युट कर्पोरेसनसँग ‘जोइन्ट भेन्चर डेभलपमेन्ट फ्रेमवर्क’मा हस्ताक्षर गरेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सम्झौताअनुसार आयोजनामा दुई चिनियाँ कम्पनीले ५ सय मिलियन डलर अर्थात् ५५ अर्ब रुपैयाँ रकम लगानी गर्नेछन् ।
हस्ताक्षर समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनको युनान प्रान्तका उपगभर्नर जाङ ग्वाहुआ पनि सहभागी भएको सिन्ह्वाले बताएको छ । कार्यक्रममा ऊर्जामन्त्रीको सहभागिताले आयोजनाको क्षमता घटाएर बनाउन स्वीकृति पाउने अनुमान गरिएको छ ।
आयोजना निर्माण २०२० मा सुरु हुने र साढे तीन वर्षमा सम्पन्न हुने बताइएको छ ।
सुरुमा यो आयोजना दोलखाको नाम्दु वुस्तीमा ९६ मिटर बाँध उठाएर साढे किलोमिटर सुरुङमार्फत मालु वा शहरेमा झारेर विद्युत उत्पादन गर्ने योजना थियो । यसअनुसार सिंगटीदेखि वुस्तीसम्म करिब १५ दशमलव ७५ किलोमिटर जलाशय बन्ने थियो । सुरुको योजना अनुसार बनाउने हो भने हिउँदमा पनि कम्तीमा दुई सय ५० मेगावाट विजुली उत्पादन हुने अवस्था थियो ।
तर तामाकोसीको सम्भावित स्रोतलाई नै घटाएर आयोजना बनाउने बाटोमा सरकार छ ।
एनआरएन अध्यक्ष भवन भट्टको कम्पनी टीबीआई होल्डिङ्सले तामाकोसी-३ जलविद्युत आयोजनाको क्षमता घटाउन सरकारसँग अनुमति मागेको छ ।
सिंगटीको बजार र वरपरका वस्तीका कारण ६५० मेगावाटमा आयोजना बनाउन जटिल हुने भएपछि क्षमता घटाउनु परेको उसको तर्क छ । यस्तै लगानी उठाउने पक्ष र निर्यातको समभावनाका हिसावले पनि आयोजना २ सय मेगावाटमै बनाउनु उपयुक्त देखिएको टीआईबीको दाबी छ ।
टीआईबीले आयोजनाको क्षमता घटाउनुपर्ने भन्दै अध्ययनबारे जानकारी दिएको विभागकी प्रवक्ता निशा रिजालले बताइन् । ‘उहाँहरुले केका आधारमा क्षमता घटाउने भन्नुभएको हो हेर्नुपर्छ । साँच्चिकै लगानी र अन्य अवस्थाका कारण घटाउनुपर्ने हो भन्ने ठहर भयो मात्रै क्षमता घटाउने निर्णय हुन्छ,’ उनले भनिन्, ‘अहिलेसम्म यसबारे निवेदन पनि आएको छैन, निर्णय पनि भएको छैन ।’
प्रतिक्रिया 4