
१२ साउन, गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकाको पहिरोको क्षति र प्रभावितहरुको नामावली संकलन गर्न थालिएको छ । प्रभावितहरुका लागि सुरक्षित आवास निर्माण गर्न नामावली संकलन गर्न थालिएको हो ।
गत मंलबार राति गुल्मीको सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरो जाँदा ३०७ घरधुरी प्रभावित भएका छन् । वडानम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घामा गरी १२ सय ६० जना प्रभावित भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
प्रभावित मध्ये १७ वटा घर, ६१ वटा गोठ र ३६ वटा शौचालयमा पूर्णरुपमा क्षति भएको छ ।१८ वटा घर, २३ वटा गोठ, १८ वटा शौचालयमा आंशिकरुपमा क्षति भएको प्रजिअ पौडेलले जानकारी दिए ।
प्रारम्भिक तथ्यांकअनुसार पहिरोमा परी २८ वटा भैसी, एउटा गाई, ६७ वटा बाख्रा, २१९ वटा कुखुरा र १९ वटा बंगुर मरेका छन् ।
पहिरोले बिस्थापितलाई सोही स्थानका धर्मपूर माबि, नवबिहानी प्राबि, धर्मपूर प्राबि, राम माबि, मनकामना प्राबि, साजपूर प्राबिमा राखिएको छ । विद्यालयमा बस्दा वृद्ध, गर्ववती, बालबालिकालाई समस्या परेको छ ।
ठूलो लुम्पेकमा मात्रै सानाठूला गरेर ५ सय वटा पहिरो गएका छन् भने ५ वटा भन्दा पहिरो २ किलोमिटरसम्मका छन् ।
पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि राहत सामग्री बाटोमै रोकिएको छ । प्रभावितलाई हेलिकोप्टरमार्फत खाद्यान्न पुर्याइएको छ ।
प्रभावित क्षेत्रमा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्नको लागि स्थान र प्रभावितहरुको नामावली संकलन गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । प्रभावित क्षेत्रमा महामारी फैलन नदिन औषधि र स्वास्थ्य सहितको तयारी अबस्थामा राखिएको छ ।
प्रभावित क्षेत्रमा रहेका स्वास्थ्यसहितको टोलीले स्थानीयलाई हात धुने लगायतका स्वस्थ्य सम्बन्धी जानकारीहरु पनि गराइरहेको उपचारमा खटिएकी डक्टर शिला ढकालले बताइन् ।
पहिरोमा परी सत्यवति गाउँपालिका २ वटा वडामा ३ वटा घरका १३ र आइतवार कालिगण्डकी गाउँपालिकाको वडानम्बर ७ को छापचौरमा १ जना गरी १४ जनाको मृत्यु भएको छ ।
७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको काठमाडौं र ५ जनाको पाल्पामा उपचार भइरहेको छ ।
प्रतिक्रिया 4