
१२ साउन, वीरगञ्ज । नेकपा नेता घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा विस्तारै सामूहिकतामा चल्नुपर्छ भन्ने सोच पलाउन थालेको बताएका छन् ।
पछिल्ला छलफल र भेटघाटहरुले ओली सामुहिकतामा जानुपर्छ भन्ने नजिक पुगेको उनले बताए ।
पार्टीमा ओलीका स्थायी प्रतिपक्षी मानिने स्थायी कमिटी सदस्य भुसाललाई केही दिनअघिमात्र प्रधानमन्त्री ओलीले एक्लै बालुवाटारमा बोलाएर छलफल गरेका थिए ।
वीरगन्जमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै भुसालले ओलीले आफ्नै हिसाबले पार्टी र सरकार चलाउन खोज्दा कमिकमजोरी देखा परेको बताए ।
ओलीले प्रधानमन्त्री भएपछि पार्टी र सरकार मैले नै चलाउने भनेर अगाडि बढेको तर पार्टी स्थायी कमिटी त्यसको पक्षमा नहुँदा तानातानीले १४ महिना गएको बताए । उनले अघि भने, ‘पछिल्ला घटनाक्रमले प्रधानमन्त्री ओली यो तरिका ठिक होइन भन्नेमा पुग्नुभएको महशुस हामीले गरेका छौं ।’
स्कूल विभागलाई प्रधानमन्त्री र अध्यक्षभन्दा ठूलो बनाइयो
नेता घनश्याम भुसालले पार्टीको स्कूल विभाग प्रमुखलाई प्रधानमन्त्री वा अध्यक्षभन्दा पनि ठूलो हो कि जसरी विवादमा ल्याइएको टिप्पणी गरेका छन् ।
दुवै अध्यक्षको कमजोरीका कारण स्कूल विभागको विवाद सडकसम्म आएको बताए । भुसालले भने, ‘उहाँहरुले पार्टी एकताको भावनालाई ख्याल राखेर कुन विभाग कता पर्छ भन्ने टुङ्ग्याएको भए यस्तो अवस्था आउने नै थिएन । अहिले स्कुल विभाग भनेको प्रधानमन्त्री वा अध्यक्ष भन्दा ठूलो विभाग हो कि भन्ने जस्तो देखिएको छ । जति चर्चा भयो त्यो आवश्यक थिएन ।’
स्कूल विभागमा आफ्नो दावी कायमै रहेको भन्दै उनले पूर्वमाओवादीको भागमा परे मात्र दावी फिर्ता लिने बताए ।
विवादका कारण स्कूल विभाग दुवै अध्यक्षले राख्ने भन्ने विकल्प सबैभन्दा कमजोर समाधान भएको बताए । उनले भने, ‘स्कुललाई सुसुप्त अवस्थामा राख्ने समाधान हो ।’
प्रतिक्रिया 4