+

सागका लागि तयार होला त हिटिङ स्वीमिङ पुल ?

२०७६ साउन  १२ गते २०:५१ २०७६ साउन १२ गते २०:५१
सागका लागि तयार होला त हिटिङ स्वीमिङ पुल ?

१२ साउन, काठमाडौं । सम्झौताअनुसार काम भएको भए सातदोबाटोमा हिटिङ स्वीमिङ पुल तयार भइसक्नु पर्ने हो । अनि नेपाली खेलाडीहरुले त्यसमा अभ्यास गर्न पाउनु पर्ने हो ।

तर एक पटक होइन, पटकपटक म्याद थप्दा पनि हिटिङ स्वीमिङ पुलको निर्माण सकिएको छैन ।

अब मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुने तय भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता -साग) का लागि हिटिङ स्वीमिङ पुल तयार त हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाइने गरेको स्वीमिङ पुलकै छेउमा हिटिङ स्वीमिङ पुल निर्माण हुँदैछ । १८ महिनामा सक्ने गरस् किरातेश्वर कन्ट्रक्सन एन्ड डि्रलिङ कम्पनी प्रालीले २०७४ मा निर्माण थालेको थियो । सम्झौता अनुसार गत वैशाखमै काम सक्नुपर्ने हो ।

तर सकिएन । पहिलो चरणमा तीन महिना म्याद थप भयो । अहिले फेरि ३ महिना म्याद थपेर कात्तिक १५ को नयाँ भाका दिइएको छ । तर काम आधा जति मात्रै सम्पन्न भएको छ ।

यही गतिले सागका लागि हिटिङ स्वीमिङ पुल तयार हुन्छ त ? नेपाल पौडी संघका अध्यक्ष अशोक बज्रचार्य भन्छन्, ‘अहिले सबैसँग समन्वयन गरेर अघि बढ्दा कात्तिक १५ गतेभित्र सकिन्छ भन्ने छौं ।’

किरातेश्वर कन्ट्रक्सन एण्डल डि्रलिङ कम्पनी प्रालीले पनि कात्तिक १५ को भाकामा निर्माण सक्ने बताएको छ । ठेकेदार कम्पनीका प्रबन्ध निर्देशक सनकसिंह राईले भने, ‘पौडी पोखरीका केही सामग्री आइसके, केही आउने क्रम बाँकी छ । हामी कात्तिक १५ भित्र फाइनल गरेर दिन्छौं ।’

स्वीमिङ पुलका लागि आवश्यक पर्ने सामानहरु विदेशबाट ल्याउनुपर्ने भएकाले पनि केही ढिलो भएको संघको तर्क छ । अध्यक्ष बज्रचार्य भन्छन्, ‘हामीसँग केही समय त बाँकी छ तर, स्वीमिङ पुलमा आवश्यक सामग्री आयात गर्नुपर्छ । यसका लागि एलसी खोल्नुपर्छ । यो प्रक्रिया अघि बढेको छ ।’

कस्तो बन्नेछ हिटिङ स्वीमिङ पुल ?

स्वीमिङ पुलमा छाना हाल्ने तरखर भइरहेको छ । अहिले कर्भड लगाइँदैछ । यो करिब एक महिनाभित्र सकिनेछ । कर्भड (छाना) लगाएपछि बाँकी काम हुनेछ ।

हिटिङ स्वीमिङ पुल त्यस्तो प्रविधियुक्त हुनेछ, जहाँ जुनसुकै मौसममा पनि प्रतियोगिता आयोजना गर्न र खेल्न सकिन्छ । नेपालमा अहिलेसम्म यस्तो हिटिङ स्वीमिङ पुल बनेको थिएन । यो नै पहिलो पटक हो ।

अत्याधिक प्रविधिजडित यो स्वीमिडङ पुल विशेषगरी जाडो महिनाको लागि निर्माण गरिएको हो । करिब २० करोडभन्दा माथि लागतमा निर्माण भइरहेको यो स्वीमिङ पुलको डीपीआर नेपाल पौडी संघले तयार पारेको हो । २० प्रतिशत लागत पौडी संघले ब्यहोर्ने छ भने बाँकी सरकारको लगानी हुनेछ ।

संघका अध्यक्ष बज्रचार्य भन्छन्, ‘स्वीमिङ पुलभित्रको तापक्रम व्यबस्थापन गर्न हामीले अन्तर्राष्ट्रिय मान्यताअनुसार सहमति गरायौं तर, भवनभित्रको तापक्रम ब्यवस्थापन गर्न आवश्यक पर्ने प्रविधि जडान गर्न करिब साढे चार महिना लाग्दो रहेछ । त्यसले गर्दा साग अगाडि रुमभित्रको तापक्रम ब्यवस्थापन गर्न नसकिएला । तर विकल्पको रुपमा त्यसलाई ब्यवस्थापन गछौं ।’

अन्तर्राष्ट्रिय मान्यताअनुसार पानीको तापक्रम २५ देखि २७ डिग्री हुनुपर्छ । यो भन्दा कम वा बढी हुनु हुँदैन ।

हिटिङ स्वीमिङ पुलको पूर्व पश्चिमतिर दुई भवन निर्माण भएको छ । पूर्व पट्टीको भवनमा खेलाडी बस्नका बनाइएको हो भने पश्चिमतर्फको भवन प्रशासनिक र भीआईपी बस्न प्रयोग हुनेछ ।

सट कोर्सका लागि उपयुक्त

अहिले निर्माण भइरहेको हिटिङ स्वीमिङ २५ बाई २५ मिटरको हुनेछ, जुन पुल सट कोर्सका लागि उपयुक्त हुन्छ ।

साँघुरो ठाउँ भएकै कारण सर्ट कोर्स निर्माण गरिएको पौडी संघले बताएको छ । यदि यो निर्माण सम्पन्न भएमा पहिलो पटक साग खेलकुदमा सट कोर्समा प्रतियोगिता सञ्चालन हुनेछ । ‘पहिलो सागदेखि १२औं सागसम्म ५० मिटरको लङ कोर्समा सञ्चालन हुँदै आएको थियो । यसपाली पहिलो पटक २५ बाई २५ को सर्ट कोर्समा प्रतियोगिता सञ्चालन गर्न चाहेका छौं’ अध्यक्ष बज्रचार्य भन्छन्, ‘सट कोर्समा यसको टाइमिङ र कीर्तिमानहरु पनि अलगै हुन्छन् ।’

नसके के हुन्छ ?

हिटिङ स्वीमिङ पुल निर्माणको समय कात्तिक १५ भित्र अन्तिम मिति तोकिएको छ । यो समयभित्र सम्पन्न नभए के हुन्छ ? किनकी नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा पनि स्वीमिङ पुल निर्माण सम्पन्न नभएपछि एउटा प्राइभेट होटलमा प्रतियोगिता गर्नु परेको थियो ।

यो चिन्ता पौडी संघलाई छ । अध्यक्ष बज्रचार्य भन्छन्, ‘जुन गतिमा काम हुनुपर्ने थियो, त्यो नभएकाले अझै शंका छ । तर हाम्रोतर्फबाट समयमै काम सम्पन्न गर्न हरसम्भव प्रयास भइरहेको छ ।’

उसो त हिटिङ स्वीमिङ पुलको छेउमै पहिलेदेखि प्रतियोगिताहरु गर्दै आएको सुविधा सम्पन्न स्वीमिङ पुल छ । यो स्वीमिङ पुल अन्तर्राष्ट्रिय स्तरको सुवधिा सम्पन्न लङ कोर्स हो । तर १३औं साग यहाँ आयोजना गर्न मिल्दैन । कारण चिसो मौसम । यो स्वीमिङ पुलमा गर्मी मौसमको बेलामा मात्रै प्रतियोगिताहरु आयोजना गर्न सकिन्छ । त्यसैले हिटिङ स्वीमिङ पुल निर्माण थालिएको हो ।

यो स्वीमिङ पुलको पुननिर्माण पनि गत बैशाखमा मात्र सकिएको हो । तर अहिलेसम्म चीनले नेपालाई हस्तान्तरण गरेको छैन । अन्य भौतिक संरचना पनि निर्माण भइरहेकाले एकै पटक हस्तान्तरण गर्ने बताइएको छ । छिटो हस्तान्तरण भए खेलाडीहरुले अभ्यास गर्न पाउँथे ।

नेपाली खेलाडीले निजी क्षेत्रको सानो स्वीमिङ पुलमा अभ्यास गर्न परिरहेको छ । केहि दिनमै यो स्वीमिङ पुल हस्तान्तरण हुने र यसमै अभ्यास थाल्ने संघका अध्यक्ष बज्रचार्य बताउँछन् । ‘मलाई आसा छ यो हप्ताभित्र नै उहाँहरुले हस्तान्तरण गर्नु हुनेछ । त्यसपछि हामी त्यहाँ अभ्यास गर्नेछौ ।’

फोटो : शंकर गिरी

लेखक
सरोज तामाङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय