+
+
Shares

रूपन्देहीमा बस संचालनका विषयमा झडप, एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १२ गते १९:११

१२ साउन, बुटवल । आलोपालो प्रणालीअनुसार बस सञ्चालनका विषयमा विवाद हुँदा तीनवटा बस व्यवसायी संस्थाका कर्मचारीले अर्को संस्थाका कर्मचारीमाथि आक्रमण गरेका छन् ।

रुपन्देहीको बेलहियाबाट बुटवलतर्फ बस छुट्ने क्रममा यातायात मजदुरबीच विवाद हुँदा पश्चिम नेपाल, सिद्धार्थ यातायात र बुटवल यातायातका तीनजना कर्मचारी मिलेर लुम्बिनी मेट्रोसिटी प्रालिका कर्मचारीमाथि आक्रमण भएको हो ।

बुटवल यातायातका सोनु धोबी, सिद्धार्थका जितेश गुरुङ र पश्चिम नेपालका अनिश थापाको नेतृत्वमा ७-८ जनाको समूहले लुम्बिनी मेट्रोसिटीका कर्मचारी बसन्त गौचनमाथि धारिलो हतियार र शिशाको बोतलले टाउकोमा आक्रमण गरेका हुन् ।

आक्रमणबाट गौचनको टाउकोको अगाडि र पछाडीको भागमा गम्भीर चोट लागेको छ । भीम अस्पताल भैरहवामा उपचार गराइएका गौचनको टाउकाको अगाडिपट्टकिो चोटमा ११ वटा टाँका लगाइएको छ । उनको अवस्था खतरामुक्त रहेको छ ।

लुम्बिनी मेट्रोसिटीको बसलाई धपाउन अन्य यातायात संस्थाका कर्मचारी आएपछि गौचनले परिचय पत्र देखाउन भनेपछि विवाद भएको थियो ।

उक्त विवाद केहीबेरमा साम्य भएर फर्केपछि बुटवल यातायातका सोनु धोबीले फोनमार्फत अरु मान्छेलाई बोलाएर आक्रमण गरेका लुम्बिनी मेट्रोसिटी प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले बताए ।

आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । आक्रमणकारीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन अधिकारीले माग गरे ।

अन्य तीनवटा यातायात व्यवसायी समितिको भन्दा लुम्बिनी मेट्रोसिटीले नयां बस र एसी जडित गुणस्तरीय सेवा प्रदान गरेकाले स्वस्थ प्रतिस्पर्धा गर्न नसकी कर्मचारीमाथि भौतिक आक्रमण गरेर हतोत्साही बनाउन खोजिएको लुम्बिनी मेट्रोसिटीका सञ्चालक प्रेम थापाले बताए ।

‘गुणस्तरीय सेवाका आधारमा प्रतिस्पर्धा गर्नुको साटो भौतिक आक्रमणमा उत्रिनु कानुनी शासनको उपहास हो,’ थापाले भने, ‘राज्यले व्वहारमै सिण्डिकोट अन्त्यको प्रत्याभूति दिनुपर्छ ।’

सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्य सारुले गौचनमाथि आक्रमण भएको स्वीकार्दै लुम्बिनी मेट्रोसिटीकै कर्मचारीको परिचय पत्र नभएको अवस्थामा पुराना संस्थाका पुराना कर्मचारीको परिचयपत्र माग्दा विवाद उत्पन्न भएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?