+
+
Shares

के हुँदैछ प्रतिनिधिसभा बैठकमा ?

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १३ गते १०:३७

१३ साउन, काठमाडौं । प्रतिनिधिसभाको चालिसौं बैठक आज मध्याह्न एक बजे बस्ने भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यक्रम तय भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा संसदीय समितिको चार वटा प्रतिवेदन पेश गरिने भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ तथा ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले ‘प्रशासकिय अदालत विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘प्रहरी समायोजन विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश गर्ने छन् ।

यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भूउपयोग विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?