+
+
Shares

हेग लगे विश्वकै हिरो भएर निस्कन्छु : प्रचण्ड

'विप्लव नेकपामा आउनुपर्छ या सिद्धिनुपर्छ'

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १३ गते २०:५७

१३ साउन, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने पार्टी र नेताहरुविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । गणतन्त्र, संघीयता जस्ता उपलब्धी गुमेमा नेपाल बर्बाद हुने भन्दै उनले उपलब्धीको रक्षाका लागि एकतावद्ध हुन नेता कार्यकर्तालाई अपील गरे ।

नेकपा विप्लव समूह छाडेर आएका नेता कार्यकर्तालाई सोमबार पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने पार्टी, त्यसका नेताहरुलाई सिद्ध्याउन पाइयो भने यसलाई उल्ट्याउन सकिन्थ्यो भनेर आजभोलि बढी नै फोकस गरेर हाम्राविरुद्ध षडयन्त्र र प्रचारहरु भएका छन् ।’

कतिपयले ‘प्रचण्डलाई हेगमा लैजाने रे’, ‘एक दिन भए पनि जेलमा हाल्ने रे’ भनेर प्रचार गरिएको भन्दै उनले त्यसलाई परिवर्तन नचाहनेहरुको डिजाइनको संज्ञा दिए । ‘हेग लगे भने त म झन् विश्वकै हिरो भएर निक्लिन्छु,’ प्रचण्डले भने, ‘तर यिनीहरुले मलाई हेग लैजान्छन् र विश्वको हिरो बनाउँछन् भन्ने लाग्दैन । त्यो हुन दिन चाहँदैनन् ।’

हेग पुर्‍याए संसारका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भनेर बुझ्ने भन्दै प्रचण्डले त्यो आफ्ना लागि गर्वको कुरा हुने बताए ।

प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेसम्म आफूहरु कोही पनि कमजोर नहुने बताए । ‘यो रहँदासम्म हामीलाई जहाँ लगेपनि हामी हिरो । यो नै उल्टियो भने नेपालले दुःख पाउने, नेपाल नै बर्बाद हुने खतरा छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन् ।

‘विप्लव नेकपामा आउनुपर्छ या सिद्धिनुपर्छ’

उनले विप्लव समूहले सिद्धिने या नेकपामा समाहित हुने एक विकल्प रोज्नुपर्ने पनि बताएका छन् । विप्लव समूहका रमण घिमिरेसहितका कार्यकर्ताहरुलाई सोमबार पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ, कुनै उपाय छैन । या त सिद्धिनपर्छ ।’

नेत्रविक्रम चन्द (विप्लव) समूहले थालेको संघर्ष सफल नहुने उनले दाबी गरे । पेरुको, फिलिपिन्सको, श्रीलंकाको लिट्टे जस्तै समाप्त हुने खतरा रहेकाले आफूहरु शान्ति प्रक्रियामा आएको उनले बताए ।

माओवादी पार्टी विभाजन हुनुको जिम्मेवारी आफूले लिने पनि उनले बताए । प्रचण्डले भने, ‘यसको जिम्मेवारी मैले नै लिनुपर्छ, म मुख्य लिडर हुनुको नाताले त्यो बेलामा साथीहरुलाई बुझाउन सकिनँ ।’

तर, नेता मातृका यादव, महेन्द्र राय यादव लगायतको उदाहरण दिँदै र नवप्रवेशीलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा पार्टी परित्याग गरेकाहरु पनि अहिले फर्किन थालेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘तपाईंहरु ठीक समयमा, ठीक निर्णय गरेर ठीक ठाउँमा नै आउनु भएको छ । मैले भन्ने गरेको छु, ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?