+
+
Shares

सवारी ज्यान मुद्दामा ड्राइभरलाई कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १३ गते १८:५८

१३ साउन, विराटनगर । गाडी चलाएर नियतवश ज्यान मारेको आरोपमा पक्राउ परेका विराटनगरका किरण लामालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सवारी ज्यान मुद्दामा लामालाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

गत असार १४ गते शनिबार मादक पदार्थ सेवन गरी बा २० च ७४० नम्बरको कार चलाएका लामाले विराटनगर बरगाछीमा को ३ प ५६३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट चालक शंकरकुमार मिश्राको मृत्यु भएको थियो ।

सवारी दुर्घटना गराई फरार रहेका लामालाई प्रहरीले असार १६ गते नियन्त्रणमा लिएको थियो । आइतबार न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले कारागार चलानको आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए ।

असार १६ गते पक्राउ परेकामाथि तीन साता लामो अनुसन्धान गरेको प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत आइतबार अभियोग दर्ता गरेको थियो ।

अदालतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा २ का आधारमा पूर्पक्षकालागि पठाएको हो ।

उपदफा २ मा ‘कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनुपर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काइस दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ’ भन्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?