
१३ साउन, विराटनगर । साढे १३ लाख रुपैयाँ चोरी गरेका एक युवकले सवा लाख खर्च गरेर मोबाइल किनेको पाइएको छ ।
सामान्य परिवारका सुरज कामतले साढे १३ लाख चोरी गर्दा एकलाख १० हजारमा मोबाइल फोन खरिद गरेका हुन् ।
साउन ७ गते विराटनगर– १ का मोतीराज दाहालको घरबाट कटहरी गाउँपालिका १ का २० वर्षका सुरज कामतले १३ लाख ५० हजार चोरी गरी फरार भएका थिए । दाहालकै घरमा बेला बेला काम गर्ने कामत पक्राउ परेपछि चोरीको रहस्य सार्वजनिक भएको हो ।
प्रहरीका अनुसार कामतको साथबाट मोबाइल र रकम गरी करिब पाँच लाख रुपैयाँ भेटिएको छ । बाँकी रकम भने पाँच दिनमा उनले खर्च गरेको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी बताउँछ ।
साउन ७ गते चोरी गरेका उनले लगत्तै सीमावर्ती भारतीय बजार जोगवनी पुगेर नयाँ मोबाइल खरिद गरेका थिए ।
गत साउन ७ गते दाहालको घरबाट साढे १३ लाख रुपैयाँ हराएको थियो । नगद हराएपछि दाहाल परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीले आइतबार सुरजलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सुरजका बुबा दहालकै घरमा काम गर्छन् । सुरजले पनि दाहालको घरमा लामो समय काम गरेका थिए । सामान्य परिवारका उनले एक्कासी महंगो मोबाइल चलाउन थालेपछि उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
विषेश सूचनाका आधारमा पुगेको प्रहरीले लुकाएर राखेको नगद ३ लाख ८१ हजार रुपैयाँ सहित कामतलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिइजूले पक्राउ परेका युवकमाथि अनुसन्धान सुरु गरेको बताए ।
प्रतिक्रिया 4