+
+
Shares

१६ वर्षे किशोर–किशोरीको नागरिकता लौरो न हतियार !

राज्यले नागरिकता दियो, बैंकले नागरिकै मानेन

रोयल आचार्य रोयल आचार्य
२०७६ साउन १४ गते ९:२०

१४ साउन, काठमाडौं । एसईई उत्तीर्ण भएका विद्यार्थीहरु अहिले काठमाडौंलगायत देशका विभिन्न शहरमा उच्च शिक्षाका लागि दौडधूप गरिरहेका छन् । सहरमा बस्दा बैंक खाता खोल्ने, एटीएम कार्ड प्रयोग गर्ने र अभिभावकले पठाएको पैसा बैंकिङ बैंकिङ प्रणालीबाट प्राप्त गर्ने उनीहरुको रहर मात्र होइन, दैनिक आवश्यकता हो ।

घर छाडेर शहरमा बस्दा आउने आर्थिक समस्या समाधानमा झञ्जट नहोस् भनेर बैंक खाता खोल्नकै लागि १६ वर्ष पुगेका अधिकांश विद्यार्थीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएका छन् ।

नागरिकता भनेको परिपक्व नागरिक भएको दरिलो प्रमाण हो । तर, राज्यले तँ वालिग भइस् है भनेर नागरिकताको प्रमाणपत्र दिइसकेका व्यक्तिलाई पनि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा खाता खोल्ने अधिकारबाट बञ्चित गरिदिएको छ ।

बैंकको यस्तो नीतिका कारण एसईई उत्तीर्ण गरेर उच्च शिक्षाका लागि शहर पसेका १६/१७ वर्ष उमेर समूहका किशोर/किशोरीहरु विभेदको शिकार बनेका छन् ।

हुन त सरकारले एक भव्य समारोहका बीच ‘हरेक नेपालीको बैंक खाता’लाई अभियानकै रुपमा शुरुवात गरेको छ । तथापि सरकारको यो अभियानबाट १६/१७ वर्षको उमेर समूहले लाभ लिन पाएको छैन । राज्यले यो नयाँ पुस्तालाई दिएको नागरिकताको प्रमाण पत्र ‘बाँदरको पुच्छर लौरो न हतियार’ जस्तै बन्न पुगेको छ ।

बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने योजना बनाएको नेपाल राष्ट्र बैंकले नै १६ वर्षका किशोर/किशोरीलाई नपत्याउने नीति ल्याएको हो । बैंकहरुले राष्ट्र बैंकको परिपत्रको हवाला दिएर खाता खोल्न मानेका छैनन् ।

बैंकहरुका अनुसार नागरिकता भए पनि १८ वर्ष नपुगेसम्म नावालककै हैसियतमा खाता खोल्नुपर्छ, जुन खाता १६/१७ वर्षका किशोर/किशोरीले आफ्नै हस्ताक्षरमा चलाउन पाउँदैनन् । बैंक खाता चलाउन नपाउँदा पढाइ खर्चका लागि गाउँबाट बा–आमाले पठाएको रकम प्राप्त गर्न उनीहरुले या त रेमिट्यान्सको प्रयोग गर्नुपर्छ, या पुरानै चलन अनुसार छिमेकी काठमाडौं आउँदा नगद हात लगाएर नाइट बसमा पठाइदिनुपर्ने हुन्छ ।

विद्यार्थीको गुनासो : नागरिकता पायौं, तर किन विभेद ?

ट्रिनीटी कलेज डिल्लीबजारमा कक्षा ११ मा अध्ययनरत निशान्त केही समय बैंक खाता खोल्नका लागि ग्लोबल आइएमई बैंकको न्यूरोड शाखामा पुगे । खाता खोल्नका लागि सक्कल नागरिकता, केहिप्रति फोटो लगायत बैंकले मागे अनुसारको सम्पूर्ण बिवरण बोकेर बैंक पुगेका उनको खाता पनि खोलियो । तर, खाता खोलेर खाता नम्बर आइसकेपछि बैंकका कर्मचारीले नागरिकतामा रहेको जन्म मितितिर नजर लगाए । उनको उमेर १७ वर्ष पुगेको थियो । अन्ततः उनलाई १८ वर्ष नपुगेको भन्दै चेकबुक दिन नमिल्ने ती कर्मचारीले बताएर फर्काइदिए ।

रामेछापको साविक लखनपुर गाविस–२ स्थायी घर भएका निशान्त काठमाडौंको नरदेवीमा बस्दै आएका उनले पछि अभिभावकको हस्ताक्षर चल्ने गरी खाता त खोले, तर उनलाई पैसा निकाल्ने अधिकार छैन ।

उनीमात्रै होइन, एसईई दिएर अध्ययनका लागि काठमाडौं आएका अधिकांश विद्यार्थीको हालत उस्तै छ ।

१६ वर्ष उमेर पुगेर यसै वर्ष नागरिकता लिएकी बर्दियाकी गीता यही साता अनामनगरस्थित प्रभु बैंकमा खाता खोल्न गइन् । उनलाई पनि बैंकले १८ वर्ष पुगेपछि आउनु भन्दै फर्काइदियो । बैंकमै भेटिएका एक प्रौढले गीतालाई सुझाए, ‘नागरिकता लिएर सहकारीमा जाऊ नानी, त्यहाँ खाता खोलिन्छ ।’

राज्यले योग्य ठानेर नागरिकता दिइसकेपछि एउटा साधारण खाता खोल्न त पाउनुपर्ने गीताले गुनासो पोखिन् । नावालकले खोल्ने खाता बोकेर गाउँमा भएका अभिभावकको हस्ताक्षर चलाउन शहरमा सम्भव नहुने उनले स्वाभाविक गुनासो पोखिन् ।

बैंकर्स संघका अध्यक्ष भन्छन्– कानूनले दिए हामी रोक्दैनौं

वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना बैंकहरुले प्रचलित कानुन अनुसार नै काम गरिरहेको बताउँछन् ।

कानुनले नावालक भनेको उमेर समूहलाई हस्ताक्षर चलाउन दिन नमिल्ने भएकाले बैंकहरुले १८ वर्ष पुगेपछि मात्रै हस्ताक्षर चलाउन दिने गरेको उनले बताए ।

प्रचलित ऐन र नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नै बैंकहरुले खाता खोलिरहेको उनले बताए । कानूनीरुपमै स्पष्ट गरेको खण्डमा वा राष्ट्र बैंकले निर्देशन दिएको अवस्थामा जुनसुकै उमेरमा पनि हस्ताक्षर चलाउन दिन सकिने अध्यक्ष ढुंगानाले बताए ।

राष्ट्र बैंक भन्छ– समस्या थाहा पायौं, समाधानबारे सोच्छौं

बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले भर्खरै मात्र व्यवहारिक समस्या देखिएको र यसलाई समाधान गर्नेबारे सोचिरहेको बताएको छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले १६ वर्षमा नागरिकता पाउनु तर बैंकमा हस्ताक्षर चलाउन नपाउनु समस्याको भएको स्वीकार गरे ।

देशले नागरिकता नै दिइसकेपछि बैंकमा हस्ताक्षर चलाउन नपाउँदा विद्यार्थीहरुलाई समस्या परेको भर्खरैमात्र आफूले थाहा पाएको उनले बताए ।

‘यो वास्तवमै व्यवहारिक समस्या रहेछ, नागरिकता पाइसकेको व्यक्तिले हस्ताक्षर चलाउन नपाउनु ठीक होइन’ अनलाइनखबरसँग निरौलाले भने, ‘यस विषयमा आवश्यक काम राष्ट्र बैंकले गर्छ ।’

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?