
१४ साउन, हेटौंडा । प्रदेश ३ को संसद एक महिनादेखि स्थगित भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले छिटो बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
असारको अन्तिम सातादेखिको प्राकृतिक विपदका कारण प्रदेश ३ मा धेरै जनधनको क्षति भएको भन्दै यसबारे गम्भीर छलफल आवश्यक रहेको भन्दै प्रदेशसभा सुरु गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् ।
प्रदेशसभालाई ‘विजनेश’ दिने दायित्व प्रदेश सरकारको भएको भन्दै कांग्रेस संसदीय दलका सचेतक राधा घलेले अहिलेको विपद्बारे छलफल गर्न पनि संसद सुरु हुनुपर्ने बताइन् ।
संसद सुरु भएको भए सबै संसदहरुले आˆनो क्षेत्रमा भएको जनधनको क्षतिको अवस्थाबारे सरकारलाई अवगत गराउन सक्ने र यसले राहत तथा पुनर्स्थापनामा काम गर्न सरकारलाई नै सजिलो हुने उनको भनाइ छ ।
प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले बैठक बोलाउने बिषयमा सरकारले तयारी गरेको बताए ।
चालु आर्थिक वर्ष ०७६/७७ को वाषिर्क नीति तथा कार्यक्रम र बजेट पारित पश्चात एक महिना संसद स्थगित गर्नु पर्ने प्रावधानका कारण बैठक नबोलाइएको भन्दै उनले प्रदेश सभालाई ‘विजनेश’ पनि प्रयाप्त भएकोले छिट्टै नै बैठक डाक्ने बिषयमा सभामुखसँग छलफल भइरहेको बताए ।
बिगत ३३ दिनदेखि संसद बैठक नबस्दा प्रदेश सभाका सांसदहरु फुर्सदिला बनेका छन् । प्रदेशसभा बैठकको अनिश्चितातले दैनिक करोडौं रुपैयाँ बराबरको राजस्व सरकारले गुमाइरहेको छ ।
प्रदेशले गत माघमा ल्याएको यातायात तथा सवारी व्यवस्था ऐन-२०७५ मा उल्लेख १०० प्रतिशत सवारी जरीवानाको चौतर्फी आलोचनासँगै सरकारले तत्कालका लागि सवारीसाधान नवीकरण बन्द गरेको छ । जसले दैनिक करोडौं रुपैयाँ बराबरको राजस्वसमेत गुमाइरहेको छ ।
ऐन संशोधन गर्न प्रदेशसभाको बैठक बस्नुपर्ने भए पनि हालसम्म बैठकको मितिसमेत तोकिएको छैन ।
प्रतिक्रिया 4