+
+
Shares

अब ठूला बन्दरगाहमा नेपाली झण्डावाला कन्टेनर !

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १४ गते १८:५३

१४ साउन, काठमाडौं । ‘नेपालको राष्ट्रिय झण्डा फहराउँदै अब पानीजहाजले मालसामान ओसार्ने छन् ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा दिएको यो अभिव्यक्ति निकै चर्चित र विवादित बनेको थियो । वर्तमान कार्यकालमा पनि ओलीले पानीजहाजको मुद्दालाई आफ्नो प्रतिष्ठाको विषयको रुपमा लिएका छन् ।

केही समयअघि सरकारले पानीजहाज कार्यालय पनि स्थापना गरेको छ । तर, आफ्नै पानीजहाज चलाउने कुरामा ठोस प्रगति केही भएको छैन । तर, अब कम्तिमा पानीजहाजमा मालसामान ओसार्ने कन्टेनरमा भने नेपाली झण्डा फहराउने भएको छ ।

प्रभु ग्रूप अन्तर्गतको नेपाली सिपिङ लाइन्सले पहिलोपटक विश्वका ठूला समुद्री बन्दरगाहमा आफ्नो सेवा सुरु गरेसँगै नेपाली झण्डा अंकित कन्टेनरमा नेपालसम्म सामान ढुवानी हुने भएको हो । नेपालसँग कारोबार हुने ठूला एशियाली बन्दरगाहहरुमा नेपाल सिपिङ लाइन्सले सेवा सुरु गर्न लागेको कम्पनीका अध्यक्ष देवीप्रकाश भट्टचनले बताए ।

पहिलो चरणमा झण्डै २ हजार कन्टेनर खरिद गरी यो सेवा सुरु गर्न लागिएको उनले जानकारी दिए । ती कन्टेनरमा नेपाली सिपिङलाइन्स र नेपालको राष्ट्रिय झण्डा पनि अंकित हुने छ ।

योसँगै अब नेपाली व्यबसायीहरुले नेपालकै कम्पनीसँग सिपिङ सेवा लिन पाउनेछन् । जसले गर्दा नेपाली ब्यबसायीहरुले कन्टेनर भाडामा लिएर नेपालसम्म सामान ढुवानी गर्दा डलरमा भुक्तानी गर्नुपर्ने बाध्यता हटेको छ । साथै नेपाली व्यबसायीहरुले सामानको एलसी खोलेकै बेलामा कन्टेनर सेवाको समेत रकम पठाउनुपर्ने बाध्यता हटेको छ ।

यसले गर्दा नेपाल र नेपाली व्यबसायीलाई आर्थिक लाभ हुनुका साथै समुद्री ढुवानी सेवाका लागि बिदेशी कम्पनीको भर पर्नुपर्ने बाध्यता हट्ने भएको छ । नेपाली झण्डाअंकित पानीजहाज चलाउने प्रधानमन्त्री योजना सुनेपछि आफुले यो बिजनेसमा चासो दिएको अध्यक्ष भट्टचनले बताए ।

नेपाल सिपिङ लाइन्स २०७५ भदौमा दर्ता गरेको हो । यसले विभिन्न देशमा आफ्नो एजेन्ट नियुक्त गरेको छ । ती एजेन्टबाट सामान बुकिङ गरेर नेपालमा सिपिङ लाइन्सले कारोवार सुरु गरिसकेको भट्टचनले जानकारी दिए ।

‘अब हाम्रा व्यवसायीले विदेशी कन्टेनर भाडामा लिनुपर्ने छैन । साथै उनीहरुको समय र पैसाको पनि वचत हुने छ,’ उनले भने, ‘हामी सिंगापुर, बलेसिया, दुबईबाट छिटोछरितोरुपमा सामान ओसार्न सक्छौं ।’

नेपालले तत्कालै पानीजहाज किन्नसक्ने अवस्था नभए पनि पानीजहाजको सेवा चलाउन सकिने अध्ययनबाट थाहा पाएपछि यो व्यवसायमा आकषिर्त भएको उनले बताए ।

‘यदि राज्यले हामीलाई उचित प्रोत्साहन गरेको खण्डमा यो व्यवसायले छिट्टै फड्को मार्नेछ,’ भट्टचनले भने ।

(हिमालय टेलिभिजनको रिपोर्टमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?