+
+
Shares

छात्रवृत्तिको नाममा विद्यार्थी फकाउँदै भारतीय कलेज

श्रवण देव श्रवण देव
२०७६ भदौ ९ गते २०:०२

९ भदौ, जनकपुरधाम । सप्तरीकी सालिनी यादवलाई भारतको आन्ध्र प्रदेशको श्रीकाकुलमस्थित आदित्य इन्स्टिच्यूट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टमा इन्जिनियरिङ पढ्न छात्रवृत्ति पाएको भन्दै  लगातार फोन आइरह्यो ।

‘इन्जिनियरिङ् अध्ययनका लागि तपाईंले छात्रबृत्ति पाइसक्नुभएको छ,’ ‘सोमबार नै आन्ध्र प्रदेश पुग्ने रेलको टिकट फिक्स भइसकेको छ । अबिलम्ब तयार भएर आउनुहोला ।’ आफूलाई कलेजको प्रतिनिधि बताउने राहुल चौधरीको फोन सम्वादबारे जानकारी गराउँदै सालिनीले भनिन् ।

सालिनीलाई मात्रै होइन, सप्तरीकै शिवानी ठाकुरलाई पनि यस्तै फोन निरन्तर आइरह्यो । तर, दुबै जना अध्ययन गर्न भारत जान पाएनन् । ‘एक दिन अगाडि मात्रै भनेपछि कसरी जान सक्छु’ सालिनीले अनलाइनखबरसँग भनिन् ।

छात्रावृत्तिबारे कलेजले पठाएको पत्रमा रजिष्ट्रेशन शूल्क २० हजार रुपैयाँ र एक वर्षको होस्टल बसाई वापत ८० हजार भारु कलेजको एसबीआई बैंकको खाता नम्बर ३२६००५२१०६० मा जम्मा गर्न भनेको उनीहरुले बताए ।

रकम कहिलेसम्म जम्मा गर्नुपर्ने भन्ने अभिभावकहरुको जिज्ञासामा कलेजका प्रतिनिधि बताउने चौधरीले यहींबाट बैंक मार्फत खातामा रकम जम्मा गर्न सकिने प्रतिक्रिया दिएको उनीहरुले बताए ।

‘रेलको टिकट आजकै गर्नुभएको छ, एकै दिनमा कसरी तयारी गर्न सकिन्छ ?’ भन्ने अभिभावकहरुको जिज्ञासमा चौधरीले टिकट आजकै भएपनि तपाईंहरु नआएका कारण टिकट रद्द गर्नुपरेको बताएका थिए ।

प्रदेश २ सरकारसँग २२ साउनमा ४२ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा उक्त कलेजले गरेको थियो ।

प्रदेश सरकारको सिफारिसमा ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत ३० जना छात्रा तथा सहिद परिवारका १२ जना छात्र-छात्रालाई सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फरमेशन टेक्नोलोजी, इलेट्रिकल, इलेक्ट्रोनिक र एमबीएमा पूर्ण छात्रवृत्ति दिने घोषणा कलेजले गरेको थियो ।

प्रदेश २ सरकार र कलेजबीचको सम्झौता

कलेजले ४२ जनालाई पूर्ण छात्रवृत्ति दिने भन्दै मुख्यमन्त्री राउतसँगै सम्झौता समेत गरेको थियो । सम्झौतापछि कलेजका प्रतिनिधि बताउने चौधरीले मुख्यमन्त्री राउतसँग फोटो समेत खिचाएका थिए ।

विना सिफारिस विद्यार्थी खोज्दै

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग सम्झौता गरी फोटो खिचाएका चौधरी अहिले विद्यार्थी खोज्न व्यस्त छन् ।

प्रदेश सरकारसँगको सम्झौताअनुसार उक्त कलेजले प्रदेश सरकारको सिफारिसमा विद्यार्थी लैजान पाउने छन् । तर, विद्यार्थीसँग आफैं सम्पर्क गरी अभिभावकसँग रकम माग्ने गरेको पाइएको छ ।

छात्रवृत्ति पाउने छात्र-छात्राले छात्रावास र परीक्षा शुल्क मात्रै व्यहोर्नुपर्ने बताइएको थियो । तर, कलेजले आफैं छानेका विद्यार्थीलाई पठाएको पत्रमा रजिष्ट्रेशन शुल्क २० हजार, युनिभर्सिटी शुल्क ५ हजार र एक बर्षको होस्टल शुल्क ८० हजार भारु लाग्ने उल्लेख छ।

प्रदेश २ भित्रका छात्र-छात्रालाई मात्रै कलेजले पढाउनुपर्नेमा कलेजका प्रतिनिधिले अहिले अन्य प्रदेशका विद्यार्थीलाई पनि भर्नाका लागि पत्र पठाएको पाइएको छ ।

पत्रमा विद्यार्थीको नाम लेखेरै, मुख्यमन्त्री कार्यालयबाट पाएको पत्र र कलेजबारेको जानकारीसहितको पत्र विद्यार्थीलाई उपलब्ध गराएर कलेजले आकर्षित गरिरहेका छन् ।

यसले प्रदेश सरकारको आडमा उक्त कलेजले नेपालमा खुल्ला शैक्षिक व्यापार थालेको पुष्टि भएको छ ।

कलेजको काम गलत हो : मुख्यमन्त्री कार्यालय

प्रदेश सरकारले विद्यार्थीको छनौट गरी सिफारिस गरेको आधारमा कलेजले पढाइ दिनुपर्ने हो । तर, सिफारिस बिना नै कलेजका प्रतिनिधिले आफ्नै तरिकाले विद्यार्थी छनौट गरेपछि मुख्यमन्त्री कार्यालयले यसलाई गलत भनेको छ ।

‘मुख्यमन्त्री कार्यालयले सिफारिस गर्ने विद्यार्थीलाई मात्रै कलेजले लग्न सक्छ, आफैंले छनौट गर्न पाउँदैन्’ मुख्यमन्त्रीका स्वकीय सचिव पशुपति यादवले भने, ‘कलेजले गरेको काम शत प्रतिशत गलत हो ।’

यस बिषयमा आफूले पनि बुझ्ने भन्दै उनले तत्काल कलेजका प्रतिनिधिलाई बोलाएर कुराकानी गर्ने बताएका छन् ।

हेर्नुस् कलेजले विद्यार्थीलाई पठाएको पत्र

लेखक
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?