
१० भदौ, काठमाडौं । ट्रक ठोक्किएर क्षतिग्रस्त बनेको पूर्व–पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् ।
गत साउन २९ गते ट्रक ठोक्किँदा पुल एकको स्थानमा करीब डेढमिटर लच्किएको थियो । मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो ।
पुल मर्मतको काम पूर्ण रूपमा सम्पन्न भएसँगै गएरातिबाट दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले बताए ।
सडक डिभिजन कार्यालय बुटवलको प्राविधिक टोलीले पुल भाँचिएको १३औँ दिनमा मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।
पुलमा क्षति पुग्दा यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको थियो । वैकल्पिक बाटोका रूपमा बनाइएको ‘डाइभर्सन’ भरपर्दो नहुँदा यात्रुले सास्ती पाएका थिए । पुल भाँचिदा बनाइएको ‘डाइभर्सन’ पानीले बगाउँदा यातायात सञ्चालनमा समस्या भएको थियो ।
पुल बनेसँगै यात्रुले विगतमा भोग्दै आइरहेको सास्तीबाट मुक्ति मिलेको छ ।
प्रतिक्रिया 4