+
+
Shares

काभ्रेमा विमानस्थल बनाउने योजनाबाट सरकार पछि हट्यो

रामेछापलाई स्तरोन्नति गरिने

अच्युत पुरी अच्युत पुरी
२०७६ भदौ १० गते १३:१२

१० भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बन्ने गरी काभ्रेमा आन्तरिक विमानस्थल बनाउने योजनाबाट सरकार पछि हटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ विमानस्थल निर्माण गर्नुको साटो काठमाडौं नजिकैको रामेछाप विमानस्थल स्तरोन्नति गर्ने बताएका छन् ।

सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत काठमाडौं उपत्यकानजिकै वैकल्पिक विमानस्थल बनाउने योजना सार्वजनिक गरेको थियो ।

‘उपत्यका नजिकको उपयुक्त स्थानमा वैकल्पिक आन्तरिक आन्तरिक विमानस्थल निर्माण गरिनेछ,’ बजेटमा उल्लेख छ । यो कार्यक्रमलाई सरकारले अघिल्लो आव २०७५/७६ मा पनि बजेटमा राखेको थियो ।
तर, संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौं नजिकै अर्को विमानस्थल आवश्यक नरहेको भन्दै सरकारलाई योजना फिर्ता लिन निर्देशन दिएको थियो । उक्त निर्देशन लत्याउँदै सरकारले यस वर्ष पुनः यो आयोजनालाई बजेटमा समेटेको थियो ।

मन्त्री भट्टराईले भने उक्त निर्णयलाई आफ्नो वार्षिक कार्ययोजनामार्फत सच्याएका छन् । उनको कार्ययोजनामा ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न काठमाडौं नजिकको (रामेछाप) विमानस्थलको स्तरोन्नति गर्ने’ उल्लेख छ । मन्त्री भट्राईले यसलाई समयसीमा भने तोकेका छैनन् । रामेछापको विमानस्थल स्तरोन्नति गर्ने उनको योजनाले तत्कालका लागि काभ्रे विमानस्थलको ‘च्याप्टर क्लोज’ भएको मन्त्रालय स्रोतले बतायो ।

सरकारले काभ्रेमा विमानस्थल निर्माणको योजना बनाए पनि सत्तारुढ दलकै नेताहरु यस आयोजनाप्रति सकारात्मक थिएनन् । शक्तिशाली नेताले बल र पहुँचका आधारमा अनुपयुक्त स्थानमा जबर्जस्ती आयोजना थोपर्दा देशको ढुकुटीको दोहन भइरहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सांसदहरुले बताउँदै आएका छन् । काभ्रे सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको गृहजिल्ला हो ।

यस्तो थियो समितिको निर्देशन

‘भविष्यमा लाभ लागतको राम्रो अध्ययन नगरी अति अपरिहार्य हुने अवस्था नरहेको स्थितिमा जथाभावी विमानस्थल निर्माणको निम्ति होडबाजी हुनु र जथाभावी अध्ययन टिम खटाउनु राम्रो होइन,’ समितिले आफ्नो निर्देशनमा भनेको थियो, ‘अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा निर्माण भइसकेपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग मुलतः घरेलु विमानस्थलका रुपमा गर्न सकिन्छ । यसरी खर्च गर्दा रकमको सदुपयोग नहुने र अनावश्यक खर्च हुने हुनाले जथाभावी विमानस्थल निर्माणको काममा नियन्त्रण गरिनुपर्छ ।’

लुक्लाको चाप थेगेर सघायो रामेछापले

सरकारले वसन्तु ऋतुको सगरमाथा आरोहण शुरु हुने समयमै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति थाल्यो । चैत दोस्रो साताबाट शुरु भएको यो आयोजनाका बेला विमानस्थल केवल दैनिक १४ घण्टा मात्र सञ्चालन भएको थियो ।

सोही कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले वसन्त ऋतुका लागि लुक्लामा हुने सबै उडान रामेछाप सार्‍यो । व्यवसायीले पर्यटकलाई सडक माध्यमबाट रामेछाप पुर्‍याए र त्यहाँबाट जहाजमा लुक्लासम्म सेवा दिए । मूख्य पर्यटकीय सिजनमा लुक्लामा दैनिक ५० भन्दा बढी उडान हुने गर्छ । लुक्ला आन्तरिकतर्फ सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक हो ।

रामेछाप विमानस्थलमा पर्याप्त सुविधा नहुँदा पर्यटकले भने सास्ती भोग्नुपरेको थियो । मन्त्री भट्टराईको योजना अनुसार स्तरोन्नति भयो भने रामेछापले काठमाडौं विमानस्थलको विकल्प दिन सक्ने सम्भावना छ । सन् १९७९ मा सञ्चालनमा आएको यो विमानस्थलको धावनमार्ग सन् २०१५ मा कालोपत्रे गरिएको थियो । यहाँ ५१८ मिटर लामो धावनमार्ग रहेको छ । यस विमानस्थलबाट साना जहाजले मात्र उडान अवतरण गर्न सक्छन् ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?