+
+
Shares

वीरगञ्जमा सुविधा सम्पन्न बसपार्क निर्माण, छिट्टै सञ्चालनमा ल्याइने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १० गते १७:४२

१० भदौ, वीरगञ्ज । वीरगञ्जमा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ ।

बसपार्कको उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार उदघाटन गरेका छन् ।

बसपार्क एक महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याइने वीरगञ्ज महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पीपीपी मोडल) अवधारणा अन्तर्गत ठेक्का प्रक्रिया अघि बढाइ सकेको छ ।

५ बर्षे ठेक्काका लागि दुई पटक सूचना जारी भईसकेको छ । ७ करोड ५० लाख रुपैयाँमा ठेक्का दिने गरी पहिलो पटक ०७६ जेठ ३१ गते ३० दिने सूचना निकालिएको थियो । कसैले पनि आवेदन नदिएपछि महानगरले साउन ४ गते दोस्रो पटक सूचना जारी गरेको थियो ।

पछिल्लो पटक आवेदन परेको र प्राविधिक मुल्याङ्कनको काम अघि बढाइएको नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।

‘विद्युतको हाईटेन्सन लाईन नहटाउँदा सुरुमा काम अघि बढ्न सकेन, पछि एडिबीको नाला निर्माणको कामले अल्झायो, सवारी साधन नहटाएर पनि समस्या भयो ।’ उनले भने, ‘अब पीपीपी मोडलमा सञ्चालनको प्रक्रिया अघि बढीसकेको छ । एक महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउँछौं ।’

बसपार्क निर्माणका लागि जर्मन विकास बैंकले वीरगञ्ज नगर विकास कोषमार्फत ऋण दिएको थियो । ९० प्रतिशत ऋण, ७.५ प्रतिशत सरकारी अनुदान र २.५ प्रतिशत महानगरपालिकाको लगानीमा बसपार्क निर्माण गरिएको हो ।

५ विगाहा ५ कठ्ठा जग्गामा निर्माण गरिएको वसपार्क १५ महिनाको कार्य अवधिसहित २०७१ माघ २२ गते ठेक्का सम्झौता गरिएको थियो । निर्माणको जिम्मेवारी आशिष–पप्पु–रोशन जेभीले लिएको थियो ।

१७ करोड ७३ लाख ५० हजार ६ सय ३ रुपैयाँ ८० पैसामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । १५ करोड ७० लाख ८६ हजार ८ सय ४१ रुपैयाँ ८० पैसामा निर्माण सम्पन्न भएको महानगरपालिकाले जनाएको छ । स्रोतका अनुसार निर्माण कम्पनीलाई महानगरपालिकाले ४ करोड ५८ लाख ९५ हजार रुपैयाँको बिलको भुक्तानी गर्न बाँकी छ ।

अन्तिम पटक थपिएको म्याद अनुसार ०७५ मंसिर २९ गतेसम्म बसपार्क निर्माण भइसक्नुपर्ने थियो । बसपार्क सञ्चालनमा नआउँदा बाइपास सडकको ट्राफिक व्यवस्थित हुन सकेको छैन ।

यस्तो छ बसपार्क

बसपार्कमा ४ तले टर्मिनल भवन निर्माण गरिएको छ । जसको भूँई तलामा लबी, वेटिङ हल, टिकेट काउन्टर, लगेज रुम, प्राथमिक उपचार केन्द्र, कन्ट्रोल रुम, फोटोकपी, सैलुन, व्यूटीपार्लर, एटीएम बुथ छ ।

दोस्रो तलामा ट्राभल एजेन्सी र बस व्यवस्थापनका लागि कार्यालय हुनेछन् । दोस्रो तलामा रेष्टुरेन्ट र माथिल्लो तलामा स्टोर छ ।
बसपार्कका लागि २ हजार लिटरका ४ वटा खानेपानी ट्याङकी जडान गरिएको छ । बसपार्क भित्र ५५ वटा पसल छन् । गाडी मर्मतका लागि वर्कसप, महिला पुरुष र अपाङ्गमैत्री शौचालय, रिक्सा, टाङ्गा, मोटरसाईकल, ट्याक्सी, मिनी बस, माईक्रो बस पार्किङ गर्न मिल्ने पार्किङ क्षेत्र, यात्रु प्रतिक्षालय बनाइएको छ ।

उद्घाटन समारोहका लागि राखिएको साउन्डक्सको स्ट्याण्ड र मोटरसाईकलका स्ट्याण्ड समेत बसपार्कको पीचमा धसेपछि पीचको गुणस्तर कमजोर भएको आशंका गरिएको छ ।

पीच गरिसकेपछि सवारी साधन नचलाएका कारण राम्रोसँग पीच नकस्सिएकोले पाइप धसेको निर्माणमा संलग्न प्राविधिकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?