
१० भदौ, काठमाडौं । पर्यटन विभागले साविकमा आफू मातहत रहेका २२ हजार ३ सय ६४ पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा प्रदेशलाई हस्तान्तरण गरेको छ ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका पर्यटन मन्त्रालयका सचिवहरुलाई अभिलेख हस्तान्तरण गरेका हुन् ।
पर्यटनसँग सम्बन्धित व्यवसायको काम प्रदेश तहमा हस्तान्तरण भएपछि अब साविकमा विभागले गर्दै आएको दर्ता, नविकरण, अनुगमन, मूल्यांकनजस्ता प्रशासकीय काम अब प्रदेश मातहत गएको छ ।
संविधानले संघ, प्रदेश र स्थानीय तहका लागि छुट्याएको अधिकारक्षेत्र भित्रै रहेर साविकमा विभागले गर्दै आएका काम प्रदेश सरकारहरुसमक्ष हस्तान्तरण गरिएको महानिर्देशक घिमिरेले जानकारी दिए ।
यसरी हस्तान्तरण भएर गएका व्यवसायको काम १ असोजबाट कार्यान्वयन हुने भएको छ । प्रदेशमा यी अभिलेख अब उद्योग, पर्यटन, वन तथा वातावरण मातहत संचालन हुने छन् ।
विभागले आफू मातहत रहेका देशका विभिन्न ७ पर्यटन कार्यालयलाई प्रदेशमा हस्तान्तरण गरेको छ । विभागका अनुसार कार्यालयले प्रदेश मातहत रहि काम थालिसकेका छन् । कांकडभिट्टा (झापा), नाम्चे (सोलुखुम्बु), जनकपुर (धनुषा), विरजंज (पर्सा), भैरहवा (रुपन्देही), पोखरा (कास्की) र कोहलपुर (बाँके) बाट साविकमा भइरहेका काम प्रदेश तहमा हस्तान्तरण भएको विभागले जानकारी दिएको छ ।
पर्यटनका कुन कुन व्यवसाय प्रदेशमा पुगे ?
पर्यटकस्तरीय होटेल : ३६१
होमस्टे : ९२
र्याफ्टििङ एजेन्सी : ८५
ट्राभल एजेन्सी : ३२६२
ट्रेकिङ एजेन्सी : २४१७
रिभर गाइड : २१४
ट्रेकिङ पोटर गाइड : १७२
पर्यटन यातायात सेवा : ७९
ट्रेकिङ गाइड : १२९८१
टुरिष्ट गाइड : २७०१
अब प्रदेशबाट के के काम हुनेछ ?
- ट्राभल एजेन्सी इजाजत पत्र जारी तथा नवीकरणलगायत कार्य
- ट्रेकिङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण लगायत कार्य
- पर्यटक यातायात सेवा सञ्चालन इजाजत पत्र जारी तथा नवीकरण
- र्याफ्टिङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण
- पर्यटक स्तरीय होटेल इजाजत पत्र जारी तथा नवीकरण
- होमस्टे इजाजत पत्र जारी तथा नवीकरण
- टूर गाइड, ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर गाइड, रिभर गाइडको इजाजत पत्र जारी र नविकरण
विभागको सहजीकरण
साविकमा विभागले गरिरहेको काम तल्लो तहमा जाँदा पर्यटनको विभागको कार्यबोझ निकै घटेको छ । विभागले आगामी दिनमा तल्ला सरकारहरुलाई आवश्यक सहयोग गर्नुका साथै नीतिगत काम र नियमनमा बढी ध्यान केन्द्रित गर्ने भएको छ ।
यसबाहेक पर्वतारोहणको अनुमति, ठूला होटेल/रिसोर्ट/क्यासिनोको दर्ता, नविकरणलगायतको काम पनि विभाग मातहत नै रहने गर्छ ।
प्रतिक्रिया 4