+
+
Shares

घरभाडा वृद्धिले जनकपुरधामका व्यवसायी निरास

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १२:५२

११ भदौ, जनकपुरधाम । प्रदेश २ को राजधानी रहेको जनकपुरधामका घरधनीहरुले अप्रत्यासित रुपमा पटक–पटक घरभाडा बढाउँदा आफूहरुले ठूलो व्यापार घाटा सहनु परेको स्थानीय व्यापारीहरुले गुनासो गरेका छन् ।

जनकपुरधाम प्रदेश २ को राजधानी बनेयता घरधनीहरुले पटक–पटक घरभाडा बढाउँदा आफूहरु व्यापार नै छाडेर पलायन हुनुपर्ने स्थिति आएको गुनासो उनीहरुले गरेका हुन् ।

‘राजधानी बनेपछि हामीहरु हर्षित र उत्साहित भएका थियौं’ धनुषा चेम्बर अफ कमर्सले जनकपुरधाम उप–महानगरपालिकाका प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘तर उत्साहित नहुँदै घरधनीले अप्रत्यासित रुपमा बढाएको घर भाढाले व्यवसायी पलायन हुने स्थितिमा पुगेको छ ।”

एक बर्षअघिसम्म १०–१५ हजार घर भाडा तिर्ने व्यापारीले अहिले २५–४० हजारसम्म भाडा तिर्न बाध्य भएको ज्ञापनपत्रमा उल्लेख छ । घरभाडा २/३ गुणा वृद्धि हुने र बैंकको चर्काे व्याजले व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको उनीहरुले बताएका छन् ।

व्यापार घाटा कम गर्न ५ सयमा पाउने सामान ७ देखि ८ सयमा बेच्नुपर्ने बाध्यताका कारण उपभोक्ता सीमावर्ती भारतीय बजार जाने गरेको उनीहरुले बताएका छन् ।

‘यसले एकातिर यहाँका व्यापार खस्किदैं गएको छ भने अर्काेतिर सीमा पारी नेपाली मुद्राको पलायन भइरहेको छ’ ज्ञापनमा भनिएको छ, “यसले नेपाल सरकारको ‘सुखी नेपाली समृद्व नेपाल’को नाराले सार्थकता पाउन सक्दैन ।”

यहाँका घरधनीहरुले भाडा बढी लिएपनि राजस्व तिर्ने बेला कम देखाएर राजस्व समेत छली गरिरहेको व्यवसायीहरुले बताएका छन् ।

‘अहिले घरधनी व्यापारीसँग महिनाको ५० हजार घर भाडा लिएपनि राजस्व तिर्ने बेला १० हजार रुपैयाँमा मात्रै लगाएको भनेर राजस्व छलिरहेका छन्’ ज्ञापनमा भनिएको छ ।

बजार संरक्षण ऐन अनुसार घर भाडाको दर रेट निर्धारण गर्न तत्काल कानुन बनाएर कार्यान्वयन गर्न र व्यवसायीसँग घर भाडा सम्बन्धी भएको सम्झौता अनुरुप घर भाडा लिएको छ÷छैन त्यसको नियमित अनुगमन गर्न व्यवसायीहरुले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?