+
+
Shares

सुटुक्क किन आए डा केसी डोटी ?

रामहरि ओझा रामहरि ओझा
२०७६ भदौ ११ गते १६:४७

११ भदौ, डोटी । ‘डा गोविन्द के.सी आज सिलगढीमा हुनुहुन्छ ।’ स्थानीय शिक्षक हिक्मत शाहीले मंगलबार साँझ करिब ६ बजेतिर सामाजिक सञ्जाल फेसबुकमा यस्तो खबर सार्वजनिक गर्दा पत्याएनन्, धेरैले ।

स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउन ‘अनसन मास्टर’का रुपमा चिनिएका चर्चित व्यक्तित्व जिल्लामा आउँदा कसैलाई कुनै सुइको पनि नहोला र ? धेरैको आशंका मनमा थियो । तर, शाहीको उक्त खबर सत्य थियो ।

मंगलबार साँझ डा केसीले प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिरको दर्शन गर्दै बजारको चक्कर काट्न पनि भ्याएछन् । सानो झोला काँधमा भिरेका केसीलाई बजारमा धेरैले देखे र डा केसी जस्तै मान्छे भन्दै चर्चा पनि गरे । टेलिभिजनको पर्दामा पटक पटक देखिइरहने केसीलाई धेरैले केसी जस्तै अनुहार माने । तर, उनी केसी नै थिए ।

तिनै डा केसी बुधवार बिहान डोटी जिल्ला अस्पतालको प्रतिक्षालयमा एक बृद्धको स्वास्थ्य अवस्था बुझ्दै गरेका भेटिए । बिहानै शैलेश्वरीको दर्शन गरी उनले जिल्ला अस्पतालको अवस्था नियाले । अस्पतालमा भेटिएका व्यक्तिहरुसंग भलाकुसारी गरे ।

केसीलाई पछ्याउँदै डोटीका सञ्चारकर्मीहरु पनि जिल्ला अस्पताल पुगे । काँधमा सानो झोला, हल्का निलो रङ्गको भेष्ट, जिनको पाइण्ट र खुट्टामा कालो रङ्गको स्पोर्ट जुत्ता, हेर्दा अति नै साधारण देखिने व्यक्तिका वरिपरि घेरिए सञ्चारकर्मीहरु । डा केसीसंगको सेल्फी र सामान्य भलाकुसारीपछि सञ्चारकर्मीहरुले केसीको डोटी यात्राको बारेमा जान्न चाहे तर केसीले त्यसमा खुलेर बोल्न चाहेनन् ।

‘काठमाडाैंको धुलो धुँवा कति खाइरहने ? यस्तो पहाडतिर आएपछि स्वच्छ हावापानी त पाइन्छ नि !’ सञ्चारकर्मीहरुसँग गफिदै उनले भने, ‘यस्तो वातावरणमा बस्न पाए त दुई दिन भए पनि आयु लम्बिन्छ नि !’ यसबाहेक अरु केही नभएको उनले बताए ।

गफ गर्दा गर्दै उनी उठे । भने, ‘आज म सञ्चारकर्मी साथीहरुसँग अन्तरकि्रया गर्ने पक्षमा छैन,’ उनी जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा भूषण मिश्रसँगै अस्पतालको अनुगमनमा लागे ।

उनले आफू मंगलवार सिलगढी पुगेको र आजै डडेल्धुराका लागि जाने संकेत गरे । ‘निश्चित त केही छैन, उहिले पो हिडेर जानु पर्ने हुन्थ्यो र चिन्ता हुन्थ्यो,’ डा केसीले हास्दै भने, ‘अचेल जा निर पनि गाडी पाउँछ, सम्भवतः साँझ डडेल्धुरा बास बस्छु ।’

उनले डोटी जिल्ला अस्पतालको अवस्था पनि देशका अन्य सरकारी स्वास्थ्य संस्थाको अवस्था जत्तिकै रहेको प्रतिक्रिया दिए । तर, उनले आफू किन डोटी आएको भन्ने कुरा भने खुलाएनन् । न त स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालको कुनै औपचारिक कार्यक्रममा उनी आएका थिए न ही उनले आफू आउनेबारे कसैलाई जानकारी दिएका थिए ।

केही वर्ष पहिले आफू आउँदा सिलगढीको बजारको चहलपहल राम्रो रहेको तर अचेल बजार मुर्झाएकोप्रति उनी चिन्तित बने । ‘म खप्तड जानका लागि केही वर्ष पहिले आएको थिएँ,’ केसीले भने, ‘त्यतिबेला त बजारमा भिडभाडै देखिन्थ्यो तर अचेल त सुनसान पो भएछ ।’ बजारको चहल पहल बढाउनका लागि पर्यटकीय विकासका ध्यान दिनु पर्ने केसीको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?