+
+
Shares

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारलाई दुर्व्यवहार, प्रहरीमा किटानी जाहेरी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १९:५९

११ भदौ, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुर्याललाई प्रतिष्ठान बचाउ अभियानका प्रतिनिधिहरुले दुर्व्यवहार गरेका छन् । उनीहरुले प्याकुर्याललाई कार्यकक्षमै दुर्व्यवहार गरेका हुन् ।

आफ्ना पदाधिकारीलाई दुर्व्यवहार गरेको भन्दै प्रतिष्ठानले सीडीओ कार्यालय र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भने, ‘रजिष्ट्रारलाई दुर्व्यवहार भएको भनेर उजुरी आएको छ, साँझ परेकाले धेरै बुझ्न पाइएन । अब भोलि डिटेल बुझ्छौं ।’

प्रतिष्ठानले विकीरण गौतम, विवेक श्रेष्ठ, सविन प्रियासनलगायतविरुद्ध किटानी जाहेरी दिएको छ ।

गौतम स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानका संयोजक, श्रेष्ठ नेकपा दाङका कार्यकर्ता र प्रियासन नेपाल पत्रकार महासंघ दाङका सभापति हुन् ।

उपकुलपति संगिता भण्डारीले केही व्यक्तिहरु आएर कार्यालयमा तोडफोड गरेको र रजिष्ट्रारलाई दुर्व्यवहार गरेको बताइन् ।

‘म त तुलसीपुरमा गएको थिएँ, सीसीटीभी फुटेजमा हेर्दा हाम्रो रजिष्ट्रार सरलाई विवेक श्रेष्ठले घोक्राएर भुइँमा लडाएको देखिन्छ, कार्यकक्षमा तोडफोड गरेर वितण्डा पनि मच्चाए छन्,’ उनले भनिन् ।

प्रतिष्ठानमा तालाबन्दी

प्याकुरेलका सहयोगीका अनुसार उनको हातमा चोट लागेको छ र सामान्य उपचारपछि उनले आराम गरिरहेका छन् ।

उपकुलपति भण्डारीको कार्यशैलीले सबै डाक्टरले राजीनामा दिएको र प्रतिष्ठान धरासायी हुन लागेको भन्दै स्थानीयबासीले प्रतिष्ठान बचाउ अभियानमार्फत् आन्दोलन गर्दै आएका छन् । आन्दोलनकर्ताले बुधबार प्रतिष्ठानमा तालाबन्दीसमेत गरेका छन् ।

उपकुलपतिको राजीनामा अभियानको मुख्य माग हो । तर, उपकुलपति भण्डारीले राजीनामा नदिने अडान लिँदै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?