
१२ भदौ, काठमाडौं । द्विपक्षीय व्यापार सम्बन्धमा सम्बाद टुटेको ८ वर्ष पछि नेपाल र भुटानबीच तेस्रो वाणिज्य वार्ता बिहीबार काठमाडौंमा सुरु भएको छ । वार्तामा दुई देशबीचको वाणिज्य व्यापार सहजीकरणमा छलफल केन्द्रित हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् । भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भने भुटानी अर्थमन्त्रालयका व्यापार महाशाखा निर्देशक सोनाम तेन्जिङले गरेका छन् ।
नेपाली वार्ता टोलिका प्रमुख सहसचिव ढकालका अनुसार वार्तामा नेपालले द्विपक्षीय व्यापार सम्झौता गर्ने गरी तयारी गरेको छ । ‘भुुटानी प्रतिनिधिमण्डलले तयारी कस्तो गरेको छ त्यसैका आधारमा ब्यापार सम्झौता तय हुनेछ,’ सहसचिव ढकालले भने ।
वार्तामा सहजीकरण गरिरहेकी उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयकी क्षेत्रीय व्यापार शाखा प्रमुख उपसचिव सिर्जना तिवारीका अनुसार आयात–निर्यातमा एक अर्को देशलाई दिन सकिने सहुलियतबारे वार्ता केन्द्रित हुनेछ ।
‘दुई देशबीचको व्यापार मार्ग, निर्यात र आयातमा अनुदान एवं कर छुट तथा दुई देशबीचको व्यापार बढाउन सरकारी तहबाट गरिने पहलमा छलफल हुनेछ,’ उपसचिव तिवारीले भनिन् ।
नेपाली व्यवसायीहरुले भुटानसँग गर्न सक्ने ब्यापारबारे सुझाएका वस्तु किटेरै नेपालले भुटानसँग सहुलियत र कर छुटबारे प्रस्ताव राख्ने तयारी गरेको उपसचिव तिवारीले जानकारी दिइन् । नेपालबाट भुटानमा साबुन, चाउचाउ र चाउमिन मात्र निकासी हुने गरेको छ ।
यता, नेपालले भुटानबाट कोइला तथा निर्माण उपकरणहरु आयात गर्ने गरेको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा भुटानबाट एक अर्ब हाराहारीको आयात हुनेगरेको छ भने निर्यात १ करोड मात्रै छ । नेपाल भुटान द्विपक्षीय पहिलो व्यापार वार्ता सन् २०१० मा काठमाडौमा भएको थियो ।
प्रतिक्रिया 4