
१२ भदौ, काठमाडौं । विराटनगर महानगरपालिकाको विभिन्न स्थानमा डकैत गर्ने गिरोहका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ पथरी शनिश्चरे-१ स्थित ईलाका प्रहरी कार्यलय पथरीबाट खटिएको प्रहरीको टोलीले BR32PA2836 नम्बरको स्करपियो गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ४ जना नेपाली र ३ जना भारतीय नागरिकहरु रहेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुवनी बेनिपट्टि कटैया-१३ का ३५ वर्षीय धर्मेन्द्र कामत, सोही स्थानका ३२ वर्षीय लक्ष्मण गुप्ता र मधुवनी बेनिपट्टि थाना लदौत-६ का ४४ वर्षीय मो.मोतिउर रहमान रहेका छन् ।
यसैगरी पक्राउ पर्नेमा रौतहटको गौर-३ पोखरियाका ४१ वर्षीय मो.मोहिज धुनियाँ, सोही स्थानका ५० वर्षीय बलराम क्षेत्री, सर्लाहीको ब्रम्हपुरी-४ का ५२ वर्षीय सेख मो.सलिफ र
सोही स्थानका ४६ वर्षीय शेख अलि असगर रहेका छन् ।
लुटेरा समूहले विराटनगर महानगरपालिका-२ शनिहाटमा रहेको पन्चकन्या ट्रेड लिंकबाट साउन २३ गते सटर फोडेर ५ लाख ९५ हजार रुपैयाँ लुटेर लगेका थिए ।
यस्तै उनीहरुले विराटनगर शनिहाटमा रहेको गणनायक मार्केटिङ हाउसबाट साउन २३ गते नै ४ लाख रुपैयाँ लुटेर लगेका थिए ।
यस्तै विराटनगर महानगरपालिका-७ को कदमाह कृषि सहकारी संस्था लिमिटेडबाट उनीहरुले भदौ १ गते सटर फोडेर ४ लाख ९५ हजार रुपैयाँ लुटेर लगेका थिए ।
यस्तै भवानी ईन्टरप्राईजेजको सटर फोडेर उनीहरुले भदौ १० गते ६ लाख रुपैयाँ लुटेर लगेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट डकैत गर्न प्रयोग गरिएका विभिन्न सामाग्रीहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
डकैती गर्ने उदेश्यका साथ भदौ ९ गने विहान जोगबनी नाकाबाट उनीहरु नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4