
७ असोज, काठमाडौं । स्वयम्भूतर्फबाट रन्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई प्रहरीले गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले राँगोलाई गोली हानेको हो ।
केही मानिसहरुलाई राँगोले आक्रमण गरेर घाइतेसमेत बनाएकाले गोली हानेर मार्नु परेको प्रहरीले जनाएको छ ।
काठमाडौंमा राँगोलाई प्रहरीले गोली हानेर मारेको यो पहिलो घटना भने होइन । यसअघि २०७५ साल फागुन ११ गते चन्द्रागिरि नगरपालिकामा राँगोले बितन्डा मच्चाउँदा दुई जनाको मृत्यु भएको थियो भने प्रहरी हबल्दारसहित ६ जना घाइते भएका थिए ।
राँगोको आक्रमणबाट मानबिर महर्जनको फागुन ११ गते नै मृत्यु भएको थियो भने नायब सुब्बा कान्छा श्रेष्ठको फागुन १४ गते मृत्यु भएको थियो । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँ हुँदै दहचोकसम्म लखेटेर प्रहरीले गोली हानेर सो राँगोलाई मारेको थियो ।
यस्तै २०७१ साल मंसिर १५ गते ह्याम्स अस्पतालको तत्कालीन बुद्धनगरस्थित कार्यालयमा पसेर भैंसीले आतंक मचाएको थियो । सो भैंसीलाई पनि प्रहरीले अस्पताल परिसरमै गोली हानेर मारेको थियो ।
त्यसअघि २०७३ असार ९ गते मानिसहरुलाई आक्रमण गर्दै हिँडेको एक राँगोलाई शहीदगेट क्षेत्रबाट जिउँदै नियन्त्रणमा लिइएको थियो ।
मासुको प्रयोजनका लागि काठमाडौं भित्राइने राँगा र भैंसीले काठमाडौंमा बेला-बेलामा दुःख दिने गरेको स्थानीयबासीको गुनासो छ । अधिकांश वधशालाबाट फुत्किएर आएकाले यसरी दुःख दिने गरेको पाइएको छ ।
प्रतिक्रिया 4