
काठमाडौं । बेलायतको हथ थिएटरमा यही सेप्टेम्बर २४ तारिखदेखि नेपाल यात्रा कला प्रदर्शनी भइरहेको छ । कलाकार पि.सिंहले प्रदर्शनी सुरु गरेका हुन् ।
प्रदर्शनीमा विभिन्न आकारका ४० वटा कलाकृतिहरू राखिएका छन् । स्केच, पानीको रंग र एक्रिलिक पेन्ट्सको माध्यमबाट नेपालको प्राकृतिक सुन्दरता, नेपाली कला तथा संस्कृतिबारे चिनाउने प्रयत्न गरिएको छ ।
प्रदर्शनीमा पि।सिंहकी छोरी रोषलिनका पनि केही चित्रहरू राखिएका छन् । १५ वर्षीया कलाकार रोषलिन सिंह बेलायतको निजी स्कूल वर्थमा ११ कक्षाका विद्यार्थी हुन् । उनले प्राथमिक विद्यालयमा हुँदा नै बेलायतमा प्राथमिक तहका विद्यालयस्तरीय प्रतियोगिता जितेकी थिइन् ।

बेलायतीहरू निकै उत्सुकताका साथ पेन्टिङहरू हेरिरहेको कलाकार सिंहले बताए । कलाको माध्यमबाट बेलायतमा नेपाललाई चिनाउने आफ्नो सपना साकार भइरहेको उनले खुसीसमेत व्यक्त गरे ।
‘वास्तुगत रूपमा धनी प्राचीन मन्दिर तथा मठहरू विभिन्न जातीय समूहहरूको प्रतिनिधित्व गर्ने चित्र र परम्परागत पोशाक आदिको प्रदर्शनीले नेपालप्रति जागरूकता जगाउने र बेलायतवासीलाई नेपालबारे जानकारी गराउँदै नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने प्रयत्न गर्ने यस प्रदर्शनीको उदेश्य रहेको छ,’ उनले भने ।
कलाकार सिंहले यो प्रदर्शनीले केही हदसम्म बेलायतमा नेपाललाई प्रबर्द्धन गर्न मद्दत पुर्याउने र नेपाल भ्रमण २०२०’लाई सहयोग पुग्नेमा आशावादी रहेको बताएका छन् ।
हाल बेलायतस्थित अन्तर्राष्टिय संस्था एआईजी मा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत सिंह आफ्नो फुर्सदको समयमा शौखको रूपमा पेन्टिङ गर्ने गर्ने गर्छन् ।
उनी नेपालमा चलेका सफ्टवेयर टाइपिङ ट्युटर ‘टाइपशाला’, रोडइन्जिनियरिङ सफ्टवेयर ‘राजमार्ग’, ठमेल डटकम तथा ‘नेपाली युनिकेड’लगायत विभिन्न सफ्टवेयरका निर्माता हुन्
प्रदर्शनी अक्टोबर १० तारिखसम्म चल्नेछ ।
प्रतिक्रिया 4