
१३ असोज, बुटवल । प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले चिनियाँहरुले स्वदेशमै रोजगारी र काम गरेका कारण चीनले आर्थिक विकासमा चमत्कार गरेको बताएका छन् । नेपाली जस्तै चिनियाँहरु पनि विदेशमा रोजगारीका लागि हाम फालेको भए अहिलेको चीन बन्न नसक्ने मन्त्री गिरीले औंल्याए ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीले चीनको ७०औं राष्ट्रिय दिवसको अवसरमा सोमबार भैरहवामा गरेको अन्तरक्रियामा मन्त्री गिरीले चीनको आर्थिक विकास, समृद्धि र सुशासनमा चिनियाँ जनताको कडा परिश्रम, अनुशासन र देशभक्ति मुख्य आधारस्तम्भ रहेकोमा जोड दिए । ‘चिनियाँ जनतामा विदेशमा होइन, आफ्नै देशमा काम गर्नुपर्छ भन्ने साझा सोच थियो, त्यही देशभक्तिपूर्ण सोचले चीनले विकासमा फड्को मारेको हो,’ मन्त्री गिरीले भने, ‘हामीले चीनबाट सिक्ने भनेकै यही हो, अर्को कुरा सुशासन र अनुशासन पनि सिक्नुपर्छ ।’
नेपालीहरुमा नाकाबन्दीका बेला मात्रै देशमै केही गर्नुपर्छ भनेर लाग्ने तर केही समयपछि त्यसलाई बिर्सने बानीले आत्मनिर्भर बन्न नसकेको मन्त्री गिरीले औंल्याए । चीनले नेपालको आर्थिक र औद्यागिक विकासमा सहयोग गर्न तत्पर रहेको उल्लेख गर्दै मन्त्री गिरीले नेपालको कानूनी प्रक्रिया झन्झटिलो भएको चिनियाँ लगानीकर्तामा छाप परेकाले त्यसलाई नेपालले हटाउनुपर्नेमा जोड दिए । नेपाल सरकार र नेपाली पक्षकै कमजोरीका कारण नेपालमा चाहेजति चिनिया सहयोग भित्राउन नसकिएको मन्त्री गिरीले बताए ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्तेयले चीनसंग नेपालको वहुआयामिक सम्बन्ध रहेकाले बौद्ध धर्मावलम्बी पर्यटक भित्राउन सरकार र नीजि क्षेत्रले पहल गर्नुपर्ने धारणा राखे । उनले नेपालको नीतिगत कमजोरीका कारण चिनियाँ लगानी र पर्यटक अपेक्षाकृत आकर्षित हुन नसकेको औंल्याए ।
नेपाल चीन मैत्री समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले चीन स्वतन्त्र भएको सात दशकमै आर्थिक र औद्योगिक विकासमा फड्को मारेर विश्वको दोस्रो शक्तिशाली अर्थतन्त्र भएको मुलुक बनेको उल्लेख गर्दै नेपालका नेताहरुले चीनबाट सिक्नुपर्ने बताए ।
सन् १९४९ अक्टुबर १ तारिखमा चीन स्वतन्त्र भएको हो । उक्त दिनको सम्झनामा नेपाल-चीन मैत्री समाज लुम्बिनीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया 4