
१९ असोज, बिराटनगर । दशैंको रौनकले छोपिसकेको छ । घर बाहिर भएकाहरु दशैं मनाउन घर फर्किएका छन् । दशैंको रौनकले प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुलाई पनि छोएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दशैं मनाउन घर (भोजपुर) जाने तयारीमा छन् । भोजपुरमा मुख्यमन्त्री राईका बुबाआमा छन् । दशैंमा मुख्यमन्त्री राईले ससुराली जानुपर्ने छैन, किनभने उनले विवाह नै गरेका छैनन् ।
टीका थाप्नका लागि मौसम अनुकुल भए भोजपुर जाने मुख्यमन्त्री राईले अनलाइनखबरलाई बताए । पहाडी क्षेत्रको बाटो पानी पर्दा हिलाम्मे हुन्छन् । मौसम खुले घर जाने योजना रहेको बताउँदै राईले सार्वजनिक पद धारण गरेपछि परिवारसँग बसेर चाडबाड मनाउने समय नपाएको बताए ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले दशैंमा टीका लगाउन छाडेको ७/८ वर्ष भयो । बुबाको निधनपछि टीका लगाउन छाडेको उनी बताउँछन् । सामाजिक हिसाबले आफन्त भेटघाट, खानपानमा दशैं बित्ने उनले बताए । तर, कसैले लाइदिन्छौ भन्दा टीका लगाउने आङ्बोले बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की दशैंमा चार दिन बिदा बस्ने योजना बनाएको बताउँछन् । मन्त्री कार्की दशैंमा केही दिन बिराटनगर केही दिन झापा घरमा बस्ने कार्यक्रम बनाएको बताउँछन् ।
मन्त्री कार्कीका आमा र आफन्त झापामा छन् । दशैंमा खुसी साट्ने र नयाँ जोशका साथ काममा फर्कने योजना बनाएको कार्की बताउँछन् । दशैंमा गाउँघरमा छुट्टै रौनक हुने बताउँदै उनले साथीभाइहरुसँग भेटघाटमा व्यस्त हुने बताए ।
सामाजिक विकास मन्त्री जीवन घिमिरे दशैंमा परिवारलाई दिने समय नै कम हुने बताउँछन् । उनी दशैं भनेर दशमीको दिन छुटटी बस्ने गरेको बताउँछन् । दशैंको टीकाअघि र पछि दशैंमा शुभकामना आदान-प्रदान र भेटघाट कार्यक्रममा बित्ने बताउँछन् ।
उद्योग वन पर्यटन तथा बातावरण मन्त्री जगदीश कुसियैत दशैं सामान्य रुपमा बित्ने गरेको बताउँछन् । दशैंमा आफन्त कार्यकर्ता भेटघाटमा समय बित्ने गरेको उनी बताउँछन् । २५ वर्षयता एकै शैलीमा दशैं मनाउँदै आएको कुसियतले बताए ।
त्यसैगरी प्रदेश १ का प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङ दशैं सामान्य रुपमा मनाउने बताउँछन् । आफन्तलाई टीका लगाएपछि धनकुटा ससुराली जाने योजना रहेको उनले बताए । तुम्बाहाङले टीकापछिको दुई दिन दशैंका रुपमा नमनाउने बताए । आमाको तिथि परेका कारण एकादशी र द्वादशीमा दशैं नमनाउने प्रदेश प्रमुख तुम्बाहाङले बताए ।
प्रतिक्रिया 4