+
+
Shares

विप्लव समूहको बैठकमा प्रहरीको छापा, २१ नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३० गते ९:३५

३० असोज, काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित विप्लव समूहको राप्ती ब्युरो बैठक स्थलमा घेरा हालेर २१ जना नेताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लवका दाजु चन्द्रबहादुर चन्द ‘बीरजंग’लगायत छन् ।

५ नं. प्रदेश प्रहरी कार्यालय, तुल्सीपुर र जिल्ला प्रहरी कार्यालय, दाङको टोलीले विशेष सुराकीका आधारमा बैठकस्थल घेरेर २१ जना नेतालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी विनोद विक्रम शाहले अनलाइनखबरसँग भने, ‘पक्राउ पर्नेमा समूहका केन्द्रीय सदस्यदेखि जिल्ला स्तरीय नेतासम्म छन्, अहिले जिल्लामा ल्याउने क्रममै भएकाले नाम खुलिसकेको छैन ।’

यद्यपि, जिल्लाका अर्का एक अधिकृतले पक्राउ पर्नेमा समूहका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर पनि रहेको पुष्टि गरेका छन् । उनले भने, ‘पक्राउ पर्ने अन्यमा अधिकांश राप्ती ब्युरोका नेताहरु छन् ।’

स्रोतका अनुसार पक्राउ पर्नेहरुमा मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग), केन्द्रीय सदस्य एवम् राप्ती व्यूरो इञ्चार्ज सुवास बाँठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीलगायत छन् ।

राजपुरबाट गढवा चौकी हुँदै ती नेताहरुलाई जिल्ला प्रहरी कार्यालय, घोराहीमा ल्याएर हिरासतमा राखिने छ ।

जंगलमा तीन दिनदेखि अड्डा

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार राजपुर गाउँपालिका-४, मरेठामा विप्लव समूहका नेता तीन दिनदेखि बसिरहेका थिए । निरन्तरको निगरानी पश्चात गएराति १ बजे छापा हानिएको थियो ।

भारतसँग सीमा जोडिएको त्यस क्षेत्रमा रहेको घना जंगलभित्र केही घर थिए । तीमध्ये ज्ञानेन्द्र ओलीको घरमा उनीहरुको बैठक बसिरहेको थियो ।

‘ज्ञानेन्द्रजी विदेशमा हुनु हुँदो रहेछ । खाली भएकाले विप्लव समूहका नेता त्यहीँ बैठक बसेका रहेछन्’, ती अधिकृतले भने ।

पक्राउ परेकाको साथबाट महत्वपूर्ण दस्तावेज, चन्दा मागिएका विवरण, ३२ थान मोबाइल, विष्फोटक पदार्थलगायतका सामग्री बरामद भएका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?