+
+
Shares

विप्लव खोजिरहेको प्रहरीले दाजुलाई भेट्यो !

महत्वपूर्ण दस्तावेज र चन्दा संकलनका विवरण बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३० गते २१:४४

३० असोज, काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको राप्ती ब्युरोका अधिकांश नेतालाई एकैपटक गिरफ्तार गरेको छ । प्रतिबन्धित समूहका केन्द्र र जिल्लाका स्तरका नेतालाई एकैपटक ठूलो संख्यामा समातिएको यो पहिलो पटक हो ।

५ नं. प्रदेश प्रहरी कार्यालय, तुल्सीपुरका प्रवक्ता डीएसपी नवराज पोखरेलले विशेष सूचनाका आधारमा राजपुर गाउँपालिका–४, मरेठाबाट २१ जनालाई पक्राउ गरिएको अनलाइनखबरलाई बताए । ‘अहिले जिल्ला प्रहरी कार्यालय, दाङमा राखेर अनुसन्धान भइरहेको छ’, उनले भने ।

पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर उर्फ वीरजंगसहितका नेता छन् । हाल उनी समूहका केन्द्रीय सदस्य, लुम्बिनी ब्युरो र मध्यपश्चिम कमाण्ड इञ्चार्ज थिए ।

राप्ती ब्युरो इञ्चार्ज केशवबहादुर बाँठा मगर (सुवास), राप्ती ब्युरोका न्याय विभाग जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), कार्यालय सचिव सविन पोख्रेल, जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष बबिन केसी (पाटन, जंगली), बुद्धिजीवि सुनिल पौडेल र क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी पनि पक्राउ परेका छन् ।

त्यस्तै, क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान), पूर्वजनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, सदस्य हितप्रसाद रोका, रोल्पा सदस्य पोष्टमान घर्ती, दलबहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापा पक्राउ परेका छन् ।

चन्द्र चन्द

विप्लवको गतिविधि देखिएको इलाका

प्रहरीको गुप्तचरी निकाय विशेष ब्युरोको इन्टलिजेन्स रिपोर्ट अनुसार गएराति अपरेशन चलाइएको इलाका महासचिव विप्लवको पनि ‘मुभमेन्ट’ देखिइरहने क्षेत्र हो । त्यसैले त्यहाँ प्रहरीको निरन्तर निगरानी रहेको नेपाल प्रहरीका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।

उनका अनुसार पछिल्ला तीन दिनदेखि ठूलो संख्यामा समूहका नेता जंगलभित्र बसिरहेको सूचना थियो । त्यसैले प्रदेश नं. ५ प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालयको टोली जंगलतिर पसेको थियो ।

‘निरन्तर निगरानी पश्चात् राति १ बजेतिर सूराकीका अनुसारको घरमा प्रहरी टोली छिरेको थियो’, एक अनुसन्धान अधिकृतले सुनाए, ‘त्यसक्रममा हामी समूहको बैठकस्थलमै छापा हान्न सफल भयौं ।’ उनले मध्यरातिको अपरेशनलाई प्रहरीको ठूलो सफलता भनेका छन् ।

भारतसँग सीमा जोडिएको त्यस क्षेत्रमा रहेको घना जंगलभित्र केही घर थिए । तीमध्ये ज्ञानेन्द्र ओलीको घरमा समूहको बैठक बसिरहेको थियो । ‘ज्ञानेन्द्रजी विदेशमा हुनु हुँदो रहेछ । खाली भएकाले समूहका नेता बस्दा रहेछन्’, उनले थपे ।

पक्राउ परेकाको साथबाट महत्वपूर्ण दस्तावेज, चन्दा मागिएका विवरण, ३२ थान मोबाइल, केही हतियारसहितका सामग्री बरामद भएका छन् ।

थप अनुसन्धान र बरामद भएका वस्तुका विवरण यकिन गर्ने काम भइरहेको दाङ प्रहरी प्रमुख जनक भट्टराईले बताए । उनले अनलाइनखबरसँग भने, ‘विस्तृत विवरण भोलि सार्वजनिक गर्छौं ।’

यो पनि पढ्नुस् 

विप्लव समूह: ‘माओवादी समस्या’ को दोस्रो संस्करण !

विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?

विप्लव समूह प्रहरीसँग आमने सामने भएको हो ?

विप्लवसँग लुकामारी ! प्रहरी समात्ने, अदालत छाड्ने

‘काफलडाँडा’ अपरेशन: हेमन्तप्रकाशलाई समाउन खोज्दा चश्मा र औषधिमात्रै भेटियो (तस्वीरसहित)

‘खुला राजनीतिमा आउन तयार छौं’

माइलाको गिरफ्तारीले वार्ता बिथोलिँदैन : सरकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?