
१० कात्तिक, बुटवल । भाइटीकामा नभई नहुने सयपत्री फूलको मालाको बिक्रीमा व्यापारीहरुले मनपरी मूल्य लिने गरेका छन् । मौकाको फाइदा छोप्दै व्यापारीहरुले लागत भन्दा दोब्बर बढी मूल्यमा माला बिक्री गरिरहेका छन् ।
बुटवल बजारको सडक पेटीमा सयपत्री फूलको एउटा मालाको मूल्य न्यूनत्तम एक सय पचास रुपैयाँ कायम गरिएको छ । ग्राहक हेरी व्यापारीले दुई सय रुपैयाँसम्म भन्न भ्याएका छन् । जबकी कुनै नर्सरीले ७० रुपैयाँमै बिक्री गरेका छन् भने कतिपयले सय रुपैयाँदेखि १२० रुपैयाँसम्ममा बिक्री गरेका छन् ।
भारतबाट आयात गरिएको फूलको माला भने प्रतिगोटा ७५ देखि ८० रुपैयाँमा बिक्री भएको छ । सम्बन्धित सरकारी निकायले बजार अनुगमन नगर्दा व्यापारीले मनपरी मूल्य असुलेर उपभोक्तालाई ठग्ने गरेको स्थानीय उपभोक्ताहरुले गुनासो गरेका छन् । ‘एउटा मालालाई डेढसय रुपैयाँका दरले किनेर ल्याएँ’ रुपन्देही तिलोत्तमा गणेशनगरकी शर्मिला थापाले भनिन्, ‘जति पैसा भने पनि किन्नै पर्यो, महँगो भनेर नकिन्ने कुरा भएन ।’ रुपन्देही नयाँमिलका जनक भण्डारीले नर्सरीमै पुगेर १२० रुपैयाँका दरले २० वटा माला किनेको बताए ।
नर्सरीमा एउटा मालाको मूल्य ७० रुपैयाँ
रुपन्देहीको तिलोत्तामा ड्राइभरटोलको गुप्ता नर्सरीका सञ्चालक शम्भु कुमार गुप्ताले लागत मूल्यमा प्रति गोटामा ७ रुपैयाँ नाफा राख्दा पनि एउटा माला ७० रुपैयाँमा बेच्न सकिने बताए ।
उनले उपभोक्ताहरुलाई चाडपर्वका बेला सहुलियत दिनुको साटो ठग्ने परिपाटी बढेको देखेर आफूहरुले गत वर्षदेखि सहुलियत दरमा माला बेच्न थालेको बताए । नर्सरीले पाल्पामा उत्पादन गरेको सयपत्री फूललाई रुपन्देहीको डाइभरटोलस्थित शोरुमा राखेर बेच्न थालेको हो । यसपटक नर्सरीले शोरुमबाट प्रतिगोटा ७० रुपैयामा उपभोक्तालाई माला बिक्री सुरु गरेको छ । तीन दिनसम्म यही मूल्यमा माला विक्रि गर्ने गुप्ताले बताए ।
अघिल्लो वर्ष तिहारमा दुई हजार माला बेचेको नर्सरीले यो वर्ष ६ हजार थान माला बिक्री गर्ने लक्ष्य राखेको छ । ‘७० रुपैयाँमा एउटा माला बेच्दा पनि ७ रुपैयाँ जति नाफा आउँछ भनेपछि डेढ सय रुपैया असुल्नु भनेको त चरम कालोबजारी हो’–५२ वर्षदेखि फूलको व्यवसाय गर्दै आएका गुप्ताले भने–‘व्यवसायी/ब्यापारीहरुमा उपभोक्तालाई राहत दिने भन्दा पनि मौकाको फाइदा उठाउने परिपाटी छ, त्यसलाई चिर्न हामीले थोरै नाफा राखेर बेच्न थालेका हौं ।’ बजार मुल्य भन्दा आधा सस्तो मूल्य तोकेपछि गुप्ता नर्सरीको शोरुमबाट पहिलो दिनमा नै दुई हजार बढी माला बिक्री भएको अर्का सञ्चालक सुरज गुप्ताले बताए ।
रुपन्देही नयाँमिलकै फूल व्यापारी खिमलाल पाण्डे अपवाद छाडेर अधिकांश नेपाली व्यापारीले दोब्बर महँगो मूल्य लिने गरेकाले उपभोक्ताले भारतीय माला प्रयोग गर्न वाध्य भएको बताउँछन् । ‘भन्सार गरेर ल्याएर बेच्दा पनि एउटा मालाको मूल्य ८० रुपैयाँ भन्दा बढी पर्दैन’–भारतीय माला आयात गरेर बेच्दै आएका पाण्डेले भने–‘न्यून आय भएका उपभोक्ताको रोजाइ भारतीय माला नै भएको छ,सरकारले कालोबजारी रोक्ने हो भने मात्रै नेपाली फूलको माला सस्तो हुन्छ र खपत बढ्छ ।’
नेपाली फूलको माला अचाक्ली महँगो हुँदा सर्वसाधारणले भारतीय माला र प्लास्टिकबाट बनेका कृत्रिम माला प्रयोग गर्न वाध्य भएका पुष्प व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष रमेश पाण्डे बताउँछन् । सरकारले सयपत्री फूलको उत्पादन बढाएर किसानलाई समर्थन मुल्य तोक्नुपर्ने र भारतीय फूल आयात नियन्त्रण गर्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उनको गुनासो छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बिचौलियाहरुका कारण हरेक उपभोग्य वस्तुको मूल्य मनपरी हुने गरेको स्वीकार गर्दै यसलाई क्रमशः नियन्त्रण गरिने बताए ।
प्रतिक्रिया 4