१२ कात्तिक, काठमाडौं । बंगलादेशका टेष्ट र टी-२० कप्तान सकिब अल असनमाथि दुई वर्षको प्रतिबन्ध लागेको छ ।
भ्रष्ट आचरणका लागि आएको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले उनीमाथि दुई वर्षसम्म क्रिकेटका कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाइएको हो ।
यद्यपि उनले तीन आरोप स्वीकार गरेमा प्रतिबन्ध एक वर्ष निलम्बित रहेनेछ । र, उनी २९ अक्टोबर २०२० मा क्रिकेट खेलमा फर्कन सक्ने आईसीसीले जनाएको छ ।
आईसीसीकाअनुसार शकिबमाथि जनवरी २०१८ मा बंगलादेश, श्रीलंका र जिम्बाब्वेको ट्राई सिरिज र आईपीएल २०१८ का क्रममा भ्रष्ट आचारणका लागि प्रस्ताव आएको थियो । तर यसबारे उनले आईसीसीलाई जानकारी गराएनन् ।
सकिबले पनि आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘जुन खेललाई म माया गर्छु, त्यसमा प्रतिबन्ध लागेको सुन्दा दुखी छु । तर मैले प्रस्तावबारे जानकारी नदिएको स्वीकार गर्छु ।’
सट्टेबाजीविरुद्ध लड्ने आईसीसीको अभियानमा खेलाडी प्रमुख भूमिकामा रहेको तर आफूले त्यो जिम्मेवारी पुरा गर्न नसकेको उनले बताए । उनले आफूले जस्तो गल्ती अरु युवा खेलाडीहरुले नगरुन् भनेर आईसीसीले चलाउने अभियानमा साथ दिने समेत बताएका छन् ।
सकिबमाथि यस्तो बेला प्रतिबन्ध लागेको छ, जतिबेला उनले क्रिकेटरहरुको आन्दोलनको अगुवाई गरे । खेलाडीहरुको अधिकांश माग पुरा गर्ने क्रिकेट बोर्डको आश्वासनपछि हड्ताल भने अन्त्य भएको छ ।
प्रतिक्रिया 4