+
+
Shares

भीआईपी जुवाडे छुटेनन्, बिहीबार पुनः अदालत उपस्थित गराइने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १३ गते १६:१८

१३ कात्तिक, काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ जना जुवाडेलाई बिहीबार पुनः उपस्थित गराउन अदालतले आदेश दिएको छ ।

प्रहरीविरुद्ध ६ जना भीआईपी जुवाडेले आइतबार बन्दीप्रत्यक्षीकरणको रिट  दायर गरे पनि इन्द्रबहादुर श्रेष्ठ, शम्भुबहादुर बुढाथोकी लगायतले सोमबार र बुधबार पुनः अर्को रिट दिएपछि निवेदन दिने सबै जनालाई सँगै उपस्थित गराउन अदालतले आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार सबै निवेदनलाई ‘साथमै राख्न’ आदेश दिएको हो ।

क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामालाई बुधबार थुनामै राख्न भनिएको छ ।

आदेशमा भनिएको छ, ’… बन्दीप्रत्यक्षीकरणका निवेदनहरु साथै राखि एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरुसँग साथै राखि बन्दीहरुलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू ।’

उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।

बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो । पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने प्रहरी तयारी छ ।

बिहीबार अदालत खुलेपछि कानून बमोजिम पक्राउ परेकामाथि अनुसन्धान गर्न म्याद थप गरिने डीएसपी उमेश लम्सालले बताएका छन् । उनले अनलाइनखबरसँग भने, ‘रिट दिनेहरुलाई बिहीबार बिहान अदालतमा उपस्थित गराउनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?