
१४ मंसिर, वीरगञ्ज । पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका वडा नं ५ को वडाध्यक्ष पदको लागि शनिबार भएको मतदानमा २१२८ जना (८१.७८ प्रतिशत)ले मतदान गरेका छन् ।
१२११ पुरुष र ९१७ जना महिला गरी २१२८ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिइन् । यस वडामा १४९२ पुरुष र १११० जना महिला गरी जम्मा २६०२ मतदाता रहेका थिए ।
कडा सुरक्षा व्यवस्थाकाबीच नेपाल राष्ट्रिय मा.वि. महुवन स्थित मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको झाले बताइन् ।
मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिएका थिए ।
वडा अध्यक्षमा उम्मेदवारी दिएका नेपाली कांग्रेस, नेकपा र समाजवादी पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान छ ।
कांग्रेसबाट अशेश्वर यादव, नेकपाबाट उदयशंकर रौनीयार र समाजवादी पार्टीका तर्फबाट तत्कालीन वडा अध्यक्ष बृजमोहन यादवको जेठो छोरा रुपलाल यादव चुनावी मैदानमा छन् ।
तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित वडाध्यक्ष बृजमोहन यादवको हृदयघातका कारण मृत्यु भएको थियो । कुल खसेको १८ सय ७६ मत मध्ये उनले ६९४ मत ल्याएका थिए ।
प्रतिक्रिया 4