
१५ मंसिर, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पक्राउका लागि विराटनगरको विराट नर्सिङ होम पुगेको प्रहरी खालीहात फर्किएको छ । आइतबार बलात्कार आरोपी सिद्धबाबालाई पक्राउका लागि पुगेको प्रहरी टोली रित्तो हात फर्किएको हो ।
आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माको नेतृत्वमा प्रहरी टोली अस्पताल पुगेको थियो । सिद्धबाबालाई अदालतमा पेस गर्नका लागि दिनभर पर्खिएको प्रहरी टोली करिब तीन बजे सुनसरी फर्किएको हो ।
विराट नर्सिङहोमले गिरीलाई हृदयघात भएको बताउँदै आईसीयूयमा भर्ना गरेपछि पक्राउ नगरी फर्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी शर्माले जानकारी दिए ।
आइतबार बिहान आफ्ना सुभचिन्तक र अनुयायीसँग गफ गरिरहेका सिद्धबाबालाई करिब ११ बजे आईसीयूमा भर्ना गरिएको थियो । उनी आईसीयूको १० नम्बर बेडमा छन् ।
आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई अस्पतालबाटै अदालत लैजान भन्दै डीएसपीको नेतृत्वमा प्रहरी टोली आएको थियो । तर चिकित्सकले उनलाई हर्ट एट्याक भएकाले बाहिर लान नमिल्ने बताएका थिए ।
गिरीको उपचारमा संलग्न चिकित्सक डा. ज्ञानेन्द्र गिरीले गरिरहेका छन् । वरिष्ठ मुटुरोग विषेशज्ञ डा. गिरीले माइनर हर्ट अट्याक बढेपछि आईसीयूमा राखेर उपचार सुरु गरिएको बताए । माइनर हर्ट अट्याक भए पनि जोखिम उच्च भएका कारणले आफूले रिक्स लिन नचाहेको उनले बताए । ‘हर्ट एट्याकका कारण मुटुका चाल बढेपछि आईसीयूमा भर्ना गरिएको छ’ उनले भने ‘यस्तो अवस्थामा चिकित्सकको निगरानी आवश्यक छ ।’
गत कात्तिक ४ गते आफूलाई बलात्कार गरेको दाबी गर्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् । सिद्धबाबा भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए ।
उनलाई छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गौलाको पत्थरीले समस्या बनाएको अस्पतालले बताउँदै आएको थियो ।
प्रहरीको निगरानीमा उपचार गराइरहेका गिरीले बिहान १० बजेसम्म आफ्ना अनुयायी र शुभचिन्तकसँग भेटघाट गरिरहेका थिए ।
प्रतिक्रिया 4