+
+
Shares

‘न फाइनलमा भिड्न पाएँ, न गर्भवती श्रीमतीलाई साथ दिन’

जितिसकेको स्वर्ण आँशुमा बगाएर आएँ : मंगल थारू

विश्वास खड्काथोकी विश्वास खड्काथोकी
२०७६ मंसिर २४ गते १२:१८

२४ मंसिर, काठमाडौं । स्वयम्भु तीनधारा । एउटा कोठा । ढोकै छेउमा ग्याँस चुल्हो । दुईवटा पलङ । बीचमा सानो खाली ठाउँ, जहाँ दुई जना दोहोरो हिँड्न गाह्रो पर्छ । पलङको खुट्टैनेर मुस्किलले टाँसिएका दुई दराज । दराजमाथि कपडाका पोका ।

कोठामा सोफाको त कुरा छोड्नुस्, कुर्सी अटाउने पनि ठाउँ छैन ।

पत्याउन मुस्किल पर्छ कि उसुका नेशनल च्याम्पियनको डेरा हो यो । तीनपटक राष्ट्रिय खेलमा स्वर्ण बिजेताको डेरा हो यो ।

भित्तामा टाँगिएका सशस्त्र प्रहरीको ड्रेसमा राइफल भिरेका तस्वीरहरु र एउटा प्रमाणपत्रले भन्छ – हो, यहीँ हो मंगल थारु बस्ने ।

मंगल थारु पलङमा बसे । सागकै ड्रेसमा छन् । अर्को पलङमा छिन् पत्नी लक्ष्मी । एकमहिने छोरीलाई काखमा राखेकी लक्ष्मी निद्रा बोलाउन जिब्रो फट्कार्दैछिन् – च्व च्व च्व च्व…।

मंगलसँग भर्खर सकिएको सागको उसु प्रतियोगिताबारे कुरा गर्न पुगेका थियौँ हामी । तर शुरुमा उनको जीवनशैलीलाई कोट्याउन मन लाग्यो ।

‘तलब कति हुन्छ र सर, त्यही २३ हजार रुपैयाँ हो । यसले कोठा वहाल, परिवार, रासनपानी, लत्ताकपडा सबै हेर्नुपर्छ’, यति भनेर मंगल तरकारी चलाउन हिँडे ।

बेलुकीको त्यस्तै पाँच बजेको छ । भातको एक सिठ्ठी बज्यो । उनले ग्यास बन्द गरे । अनि खुट्टा खोच्याउँदै फेरि पलङमा बस्न आइपुगे ।

‘निरन्तर च्याम्पियन हुने खेलाडीलाई पनि सरकारले केही व्यवस्था गर्दैन ?’, स्वाभाविक जिज्ञासा ।

‘नेशनल गेममा परेपछि केही लत्ता कपडा दिन्छ । प्रतियोगिताका बेला क्लोज क्याम्पमा राख्छ । गेम जितेपछि १०/१५ हजार रुपैयाँ चाहिँ दिन्छ । अरुबेला त आफ्नै तलबबाट म्यानेज गर्नुपर्छ’, सागको उसुमा रजत पदक बिजेता मंगल बोल्दैछन् ।

०७० सालसम्म त उनको तलव ११ हजार मात्र थियो । अहिले २३ हजार पुगेको छ ।

मंगलले ०६५ देखि सशस्त्र प्रहरीबाट उसु खेलिरहेका छन् । हरेक राष्ट्रिय प्रतियोगिता, हरेक प्रतियोगितामा मंगलको घाटीमा स्वर्ण । योपटक पनि मंगलमानले सोचेका थिए, ‘यसपटकको सागमा नेपाललाई गोल्ड मेडल दिलाएरै छाड्छु ।’

त्यसैले त गर्भवती श्रीमतीलाई एक्लै छोडेर क्लोज क्याममा गएका थिए मंगल । तर दुर्भाग्य, सेमीफाइनल जितेका मंगल फाइनलमा भिड्नै पाएनन् ।

दुःख पोख्छन्, ‘जितिसकेको स्वर्ण आँशुमा बगाएर आएँ ।’

००००

दोस्रोपटक गर्भवती बनेकी थिइन् लक्ष्मी । पहिलो गर्भको शिशु पेटबाटै हरायो । त्यसैले मंगल-लक्ष्मी सन्तानको व्यग्र पर्खाइमा थिए ।

त्यो समय आउन एक-डेढ महिनाभन्दा पर थिएन ।

तर, त्यही समय साग प्रतिस्पर्धाका लागि मंगललाई क्लोज क्याम्प हिँड्नुपर्‍यो । ‘डेलिभरी त नेचुरल कुरा हो । म क्लोजक्याम्प पुग्दा मात्र गोल्ड मेडल सम्झिएको थिएँ । त्यो मेडल देशका लागि हो, परिवारकै लागि हो’, मंगल सम्झन्छन् ।

यता लक्ष्मीको सुत्केरीको मिति नजिकिँदै थियो । एक्लै घरधन्दा भ्याउँथिन् । खाना पकाएर खान्थिन् । ‘नियमित चेकजाँचका लागि एक्लै जान्थेँ’, मंगललाई हेर्दै लक्ष्मी खुल्छिन्, ‘सबैजना आफ्नो श्रीमानसँग जचाउन आइरहेका हुन्थे । त्यतिबेला लाग्थ्यो, उहाँ पनि भैदिए कत्ति सजिलो हुन्थ्यो ।’

स्वास्थ्य परीक्षण गरेर डेरामा आइपुगेपछि लक्ष्मीले मोवाइल झिकेर मंगललाई फोन गर्थिन्, ‘आज पनि थापाथली गएर आएँ है ।’

एकदिन भर्खर खाना तयार पारेर राखेकी थिइन् । लक्ष्मीको पेट अचाक्ली दुख्न थाल्यो । डेरामा एक्लै थिइन् । खप्नै नसकेपछि रातको १० बजे छिमेकीको ढोका ढक्ढक्याउन पुगिन्, ‘हस्पिटल जाऔँ न !’ हिँड्ने बेलामा मंगलले भनेका थिए, केही पर्‍यो भने छिमेकीको सहयोग लिनू ।’

लक्ष्मी भन्छिन्, ‘छेउमा बस्नेले सहयोग गर्नुभयो । मनमोहनमा गएर इमरजेन्सीमा उपचार गरेर दुई बजेतिर फर्कियौँ । धन्न नानीलाई केही भएको रहेनछ ।’

यस्तै-यस्तै बेला कहिलेकाँही लक्ष्मीलाई लाग्थ्यो, ‘यो साग पनि कस्तो बेलामा परेको ।’ तर उनले मंगललाई बुझि्थन् । किनभने, लक्ष्मी पनि कुनै समयकी उसु खेलाडी नै हुन् ।

कात्तिक २६ गते । मंगल उता कठोर मेहनतमा थिए, यता लक्ष्मीलाई बेथाले च्याप्यो । केही समयअघि मंगलकी आमा र भाञ्जी आएका थिए । उनीहरुले नै अस्पताल पुर्‍याए । उता मंगलले भावी सन्तान र श्रीमतीका लागि प्रार्थना गरे, ‘हे भगवान केही नभइदियोस् ।’

केही भैहाल्यो भने मंगललाई सकस थियो । बैंक ब्यालेन्स थिएन । मात्र तलबको पैसा श्रीमतीलाई छाडेका थिए ।

श्रीमतीसम्म नपुगी क्याम्पमा बसिरहन मंगलको मनले मान्दै मानेन ।

तर, क्लोज क्याम्पबाट निस्कनै मिल्दैन !

‘तैपनि एकघण्टाका लागि गुरुसँग आग्रह गरें । अनि साँझमा पुगें थापाथली प्रसुती गृह,’ मंगल भन्छन्, ‘छोरीको मुख हेर्दा नै मलाई लागिसकेको थियो कि एउटा स्वर्ण जितें । अब प्लेटर्फममा अर्को स्वर्ण त्यसै जित्छु ।’

त्योबेला उनीसँग एक घण्टाभन्दा बढी समय थिएन । हिँड्नेबेलामा लक्ष्मी भन्दै थिइन्, ‘अझै एकछिन् बस्नुस् न ! गुरुलाई कुरा मिलाउनुस् ।’

लक्ष्मीलाई त्यो एक घण्टाको समय एक मिनेटजस्तो लागेको थियो । श्रीमान् छेवैमा बसिरहे हुन्थ्योजस्तो लागेको थियो । आखिर यस्तै बेला त हो नजिकका मान्छेको ढाडस चाहिने ।

‘यति समय पनि त गुरुलाई कुरा मिलाएर त आएको हुँ’, यति भनेर मंगल होटेलतिर हिँडे ।

यस्तै हुन्छ खेलाडीको जीवन । फौजीको जीवन ।

००००

दुई हप्तापछि दक्षिण एसियाली खेलकुद (साग) शुरु भयो । ‘उता लक्ष्मी जन्मिइन्, यता टाइसिट थुत्दा वाइ पर्‍यो’, मंगल दंग पर्छन् ।

६० केजी तौलको समूहतर्फ उसु (सान्सौ) अन्तरगत बंगलादेशसँग सान्डा (फाइट) गर्न मंगल प्लेटर्फममा पसे । पहिलो राउण्डमा दुई नम्बरले पछि परे । उनको दिमागमा गोल्ड मेडलले यत्रतत्र राज गरेको थियो । होइन, होम ग्राउण्ड हो, मरेर भए पनि परास्त गर्नुपर्छ ।

सेकेण्ड राउण्डमा फाइट हान्दै थिए । खुट्टा खचक्क भयो । तर, पनि अघि बढे, भिडिरहे । मंगल माथि भए ।

थर्ड राउण्डमा पनि बंगलादेशी खेलाडीलाई नकआउट गरे । उनी गर्वका साथ भन्छन्, ‘त्यतिबेला मैले गोल्ड मेडल बाहेक केही सोचेको थिइनँ । संसार बिर्सिएको थिएँ । र, सोचेको थिएँ, मेरो हातमा गोल्ड मेडल आइसक्यो ।’

तर, दुई घण्टापछि उनको खुट्टा दुख्न थाल्यो । उनले खुट्टा खोच्याउन थाले । डाक्टरले भने, ‘ठीक छ, एक्सरे गरेर हेरौँ ।’

एक्सरेले भन्यो, ‘देब्रे खुट्टाको हड्डी क्र्याक भएको छ ।’

यो खबर मंगलको जिन्दगीको सबैभन्दा दुःखदायक थियो । एक्सरे हेर्दै मंगलले अनुहार आँशुले भिजाए ।

‘मेरो गेम हेर्नका लागि मेरो ०६५ सालदेखिको साथी प्लेन चढेर आएको थियो । उसले भनेको थियो – गोल्ड मेडल जित्, तँलाई गिफ्ट दिन्छु । त्यो साथीको भनाइले पनि मेरो गोल्ड मेडल जित्ने आत्मविश्वास वान हर्डेड टु पर्सेन्टले बढेको थियो’, मंगलका आँखा टिप्पिलाउँछन्, ‘राति ११ बजे प्लास्टर गरेर होटेलमा पुगेपछि त्यही साथीलाई पहिलोपटक फोटो पठाएँ ।’

अर्को दिन विहान लक्ष्मी कपडा धुँदै थिइन् । छेउमा बस्ने दाइले भने, ‘मंगलको त खुट्टा भाँचिएछ । फेसबुकमा हेरेको । अहिले कस्तो छ ?’

लक्ष्मी झसङ्ग भइन् । ला ! के भयो ? ‘धुँदै गरेका कपडा छाडेर दौडँदै भित्र आएँ र फोन गरेँ’, लक्ष्मी भन्छिन्, ‘तर, पनि उहाँले मलाई ढाँटिरहनुभएको थियो । फोन राखेर सासूआमा र म बेस्सरी रोयौँ ।’

योबाहेक लक्ष्मीले गर्न सक्ने केही थिएन ।

लक्ष्मीलाई पहिल्यैदेखि लागेको थियो-यसपालि त पक्का स्वर्ण जित्नुहुन्छ । मंगलले त्यही स्वर्ण भिरेको हेर्न त लक्ष्मीले यतिधेरै सम्झौता गरेकी थिइन् ।

लक्ष्मीको पीडा रोकिँदैन, ‘यस्तो होला भनेर सोचेकी पनि थिइनँ । खेलेरै हारेको भए पनि केही हुन्थेन । उसले त नखेलिकनै गोल्ड मेडल लग्यो ।’

अघिल्लो राति नै मंगललाई नदुख्ने इन्जेक्सन दिइएको थियो । त्यसले उनको शरीरको दुखाइ हराइसकेको थियो । मंगल स्पोर्ट गेयरमा प्लस्टर्ड खुट्टा बोकेरै प्लेटर्फम पुगेँ ।

‘मेरो दुःखाइ हराइसकेको थियो । त्यसैले प्लेटर्फममा छिर्दा म अझै लड्न सक्छु भन्ने लागेको थियो । चिट्चिट् पसिना छुटिसकेको थियो’, मंगल सुस्केरा हाल्छन्, ‘तर के गर्नु, मेडिकल्ली डिसक्वालिफाइड भइसकेको थिएँ । एम्पायरले सिठ्ठी फुकेर भारतको हात ठड्यायो ।’

र, पनि मंगलको अन्तरराष्ट्रिय पदक लिने धोको भने पूरा भएको छ । यो साँघुरो कोठामा मंगलले रजत पदक दराजमा लुकाएर राखेका छन् । ‘देशले लगानी गरेर यहाँसम्म पुर्‍याएको छ । यसलाई पनि मैले स्वर्ण नै मानेको छु । अहिले दुई स्वर्ण भित्रिएका छन्’, मंगल छाती फराकिलो बनाएर भन्छन् ।

तस्वीरः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?