+
+
Shares

सभामुखबारे नेकपा अनिर्णित, उपसभामुखको राजीनामा कहिले ?

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७६ पुष १० गते १९:२३

१० पुस,काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा सभामुख चयन प्रक्रिया अघि बढाउने उल्लेख छ । तर उपसभामुख शिवमाया तुम्बाहाम्फेले बिहीबार साँझसम्म राजीनामा दिएकी छैनन् ।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक बाध्यताका कारण नेकपाले उनलाई उपसभामुखबाट राजीनामा गर्न भनिसकेको छ । सभामुख निर्वाचन प्रक्रिया शुरु हुनुअघिनै उपसभामुखको राजीनामा नआए सभामुख नेकपाले नपाउने कांग्रेस नेताहरुले बताएका छन् ।

उपसभामुख तुम्बाहाम्फेले भने पदबाट राजीनामा दिनेबारे भोलि (शुक्रबार) सम्म केही नबोल्ने बताएकी छन् । शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक राखिएको छ । बैठकको सम्भावित कार्यसूचीसमेत तय भइसकेको छ । जसमा सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउने विषयलाई एक नम्बरमा राखिएको छ ।

उपसभामुख तुम्बाहाम्फेले शुक्रबारको बैठक शुरु हुनुअघिनै राजीनामा दिने र त्यसपछि जेष्ठ सदस्यले सभामुख चयन प्रक्रिया अघि बढाउने नेकपा स्रोतले जनाएको छ ।

नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने सहमति नहुँदा उपसभामुख तुम्बाहम्फेले पनि दावी गरिरहेकी छन् र आफ्नो पक्षमा निर्णय गर्न दबाब दिनका लागि पनि उनले राजीनामा ढिला गरेको बताइन्छ ।

‘सभामुख निर्वाचनको प्रक्रियासँगै राजीनामा दिनुपर्छ भन्ने थाहा छ । तर, राजीनामा बारे भोलिसम्म केही बोल्दिन’ उपसभामुख तुम्बाहाम्फेले भनिन् ।

नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले भने सम्भावित कार्यसूची फेरिन सक्ने बताएका छन् । तर, उनले पनि सभामुख र उपसभामुखबारे कुनै औपचारिक प्रतिक्रिया दिने पक्षमा आफू नरहेको बताए ।

उपसभामुखले निर्वाचन गराए के हुन्छ ?

कानुनका जानकारसमेत रहेका नेकपा सांसद रामनारायण बिडारी उपसभामुखले सभामुखको निर्वाचन प्रक्रिया घोषणा गरेर पनि राजीनामा दिन सक्ने बताउँछन् ।

‘उपसभामुखले सदनको अध्यक्षता गरी सभामुखको निर्वाचन प्रक्रिया घोषणा गरेर राजीनामा दिए पनि हुन्छ’ सांसद बिडारी भन्छन्, ‘सभामुखको निर्वाचनको प्रक्रिया घोषणा गरेर पनि उपसभामुखले राजीनामा दिनुभएन भने नेकपाको तर्फबाट सभामुखमा उम्मेदवारी हाल्न पाइने छैन ।’

सभामुखको निर्वाचन प्रक्रिया जसले सुरु गर्यो उसैले टुङ्ग्याउनुपर्छ भन्ने नरहेको पनि उनले तर्क गरे । नेकपाले नै सभामुख पाउनुपर्ने र त्यसका लागि भने उपसभामुखले राजीनामा दिनुपर्ने उनको मत छ ।

तर, प्रमुख विपक्षी कांग्रेसकी सचेतक पुष्पा भुसाल उपसभामुखले सभामुख निर्वाचनको घोषणा गरेर राजीनामा दिनु संविधानसँग मेल नखाने बताउँछिन् । ‘सभामुखको निर्वाचनको घोषणा गरिसकेपछि स्वतः अर्को दलले खाली भएको सभामुख पदमा दाबी गर्ने सामान्य सिद्धान्त हो’ भुसालले अनलाइनखबरसँग भनिन् ।

नेकपाकी सांसद विन्दा पाण्डेले भने सभामुख हुने भएपछि मात्रै उपसभामुख तुम्बाहाम्फेको राजीनामा आउने बताएकी छन् ।

‘कि उहाँ (शिवमाया) ले राजीनामा दिन पर्यो कि महाअभियोग लगाउनुपर्‍यो । राजीनामा सभामुख हुने भएपछि दिने हो’, सांसद पाण्डे भन्छिन्, ‘महाअभियोग लगाउने पार्टीले आँट गरे दलमा छलफल गरौला ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?