+
+
Shares

ट्रष्टको जग्गा भाडा प्रकरणबारे स्पष्ट पार्न विवेकशील नेपाली दलको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ११ गते १३:२६

११ पुस,  काठमाडौं । विवेकशील नेपाली दलले पूर्वराजा वीरेन्द्र शाह तथा उनको परिवारको सम्पति राष्ट्रियकरण गरी बनेको नेपाल ट्रष्टको जग्गा भाडामा दिने क्रममा अनियमितता तथा भ्रष्टाचार भएको भन्ने विषयमा आम सञ्चार माध्यममा आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सो दलकी उपाध्यक्ष अजीता राईले शुक्रबार एक प्रेश विज्ञप्ती जारी गर्दै ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण रिसोर्टको करिब २ हजार ९ सय रोपनी जग्गा भाडामा दिने लिज अवधि सकिन ५ वर्ष ८ महिना बाँकी हुँदै विना प्रतिस्पर्धा पुन: यति होल्डिङ्स प्रालिलाई २५ वर्षको लागि मासिक प्रति रोपनी ५ सय ६४ रुपैयाँमा भाडामा दिनुले भ्रष्टाचारको संकेत भएको बताएकी छन्  ।

‘एउटै समूहका व्यक्तिहरू संलग्न कम्पनीहरूलाई नेपाल ट्रष्टको जग्गा विना प्रतिस्पर्धा निक्कै कम भाडा दरमा लिजमा दिने निर्णयले प्रधानमन्त्रीको भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीतिमा गम्भीर आशंका पैदा गरेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘तसर्थ सो विषयमा यथाशीघ्र स्पष्टीकरण दिन तथा हालसम्म भएका सम्झौताहरू नियम तथा महालेखा परीक्षकको प्रतिबेदनमा उल्लेख भए बमोजिम हुने गरी व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दछौं।’

सुरूको लिजको अवधि सकिएपछि त्यहाँ निर्माण गरिएका सम्पूर्ण सम्पति जग्गाधनीकै हुने कानूनी व्यवस्था हुँदा हुँदै त्यसलाई वेवास्ता गरी जग्गामा निर्माण गरिएका संरचनाहरूलाई सामान्य जग्गा लिजमा दिएको जस्तो गरिनु नियमसंगत नभएको विवेकशील दलको भनाइ छ ।

काठमाडौंको दरबारमार्ग स्थित ट्रष्टको जग्गामा भवन बनाइ लिजमा उपयोग गर्न थामसेर्कु डेभलपर्सलाई जम्मा १ अर्ब ४० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको भेटिएको छ,’ विज्ञप्तीमा भनएिको छ, ‘ जसबाट ट्रष्टलाई ५ अर्ब ५७ करोड रुपैयाँ नोक्सानी हुने देखिन्छ भनी महालेखा परीक्षकको प्रतिवेदन, २०७४ मा उल्लेख गरिएको छ ।’

हालै नेपाल ट्रष्ट ऐन, २०६४ मा आफू अनुकूलका संशोधन गरी यस किसिमका निर्णयहरु गरिएको भन्दै सो दलले यस प्रकारका कार्यले नीतिगत भ्रष्टाचारतर्फ स्पष्ट संकेत गरेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?