
१३ पुस, काठमाडौं । सिंहदरबार प्रवेश गर्ने क्रममा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलसहित १५ नेता पक्राउ परेका छन् ।
सीमा अतिक्रमणका विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन भन्दै गजुरेलसहितका नेताहरु सिंहदरबार प्रवेश गर्न खोजेका थिए ।
उनीहरुले मन्त्री पोखरेलको समय पनि लिएका थिए । तर ४०/५० जनाको समूहमा आएको भन्दै प्रहरीले उनीहरुलाई दक्षिण गेटमै रोक्यो ।
त्यसक्रममा प्रहरीमाथि ढुंगामुढा भएको र दुई जना प्रहरी घाइते भएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए । पोखरेलले भने, ‘घाइते प्रहरी निरीक्षक वेद पौडेल र असई मानबहादुर तामाङको उपचार भइरहेको छ । प्रहरीको दुई थान मोबाइल पनि हराएको छ ।’
त्यसपछि प्रहरीले गजुरेलसहित र १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका नेताहरुलाई प्रदर्शनमार्गस्थित पुलिस क्लबमा राखेर साँझपख मात्र छाडिएको छ ।
प्रतिक्रिया 4