
१३ पुस, काठमाडौं । शुक्रबारबाट शुरु भएको होर्डिङ बोर्ड हटाउने क्रमलाई काठमाडौं महानगरपालिकाले आइतबार पनि निरन्तरता दिएको छ ।
आइतबार त्रिपरेश्वर, पुतलीसडक र सोह्रखुट्टेमा राखिएका ठूला बोर्डहरु हटाइएको महानगरका नगर प्रहरी शाखाका प्रमुख धनपति सापकोटाले जानकारी दिए ।
सहरको सौन्दर्य बढाउन भन्दै महानगरले होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो । ४ वर्षअघि नै सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्रका होर्डिङ बोर्डहरु हटाउन आदेश दिएको थियो ।
महानगरपालिकाले ४ वटा कार्यदल बनाएर यो अभियान चलाएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले कार्यदल बनाएर तत्कालै होर्डिङ बोर्ड हटाउने निर्णय गरेको थियो ।
पोस्टर टाँस्ने १४ जनालाई कारबाही
महानगरपालिकाले आइतबार १४ जनालाई कारबाही समेत गरेको छ । जथाभावी विज्ञापनका पोस्टर टाँस्दै हिँड्नेहरुलाई कारबाही गरिएको महानगरपालिकाले जनाएको छ ।
१४ जनालाई जरिवानाबापत ७० हजार रुपैयाँ लिएको समेत महानगरले जानकारी दियो । यसअघि शुक्रबार पोष्टर टाँस्दै हिँड्ने १० जनालाई कारबाही गरी ५८ हजार रुपैयाँ महानगरले जरिवाना गरेको थियो ।
प्रतिक्रिया 4