
१४ पुस, कञ्चनपुर । कञ्चनपुरमा तीन वर्षीया बालिकाको हत्या भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले सौतेलो बाबुलाई पक्राउ गरेको छ । बालिकाको बलात्कार र कुटपिटपछि हत्या भएको आशंकमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सोमबार दिउँसो बालिकाका सौतेलो बाबुलाई पक्राउ गरेको हो । कञ्चनपुर प्रहरीका डीएसपी नरेन्द्र चन्दले अनलाइनखबरसँग भने, ‘कुटपिटबाट बालिकाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ त्यसअघि बालिकामाथि जबरजस्तीकरणी पनि भएको हुन सक्ने आशंका गरिएको उनले बताए ।
भीमदत्त नगरपालिका-१८ स्थित घरमा कोही नभएको मौका पारेर बाबुले बालिकाको ज्यान लिएको प्रहरी बताउँछ । उनले अत्याधिक मादक पदार्थ सेवन गरेको भेटिएको प्रहरीको भनाइ छ ।
आमा दाउरा लिन गएको समयमा बालिकाको बलात्कार भएको हुन सक्ने आशंका प्रहरीको छ । अहिले बालिकाको शवलाई महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।
यसअघि १० साउन २०७५ मा कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको भने अझै अभियुक्त समातिन सकेका छैनन् । यो प्रकरणलाई लिएर प्रहरीको तीब्र आलोचना भएको थियो । त्यसयता जिल्लामा अरू पनि महिला हिंसाका घटना भइरहेका छन् ।
प्रतिक्रिया 4