+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

लोकगीतबाट बसाइँ सरेका सन्तोष सुगमसंगीतको शिखरमा

दोहोरी गायनमा विष्णु माझीलाई हराएका एक संगीतकर्मीको संघर्ष

दिप्सन लुइँटेल दिप्सन लुइँटेल
२०७६ पुष १५ गते ११:५१
Photo Credit : शंकर गिरी/अनलाइनखर

१५ पुस, काठमाडौं । ‘तिम्ले पराइ ठानेपछि, पराइ हुन के भयो र ?’ अञ्जु पन्तले गाएको यो गीत नसुन्ने सायदै होलान् । यो गीत यति हिट भयो कि लेख्ने, संगीत भर्ने र गाउने सबैलाई हिट बनायो । यो गीतले गायिका अञ्जु पन्तलाई मात्र होइन, गीतकार लोकराज अधिकारीसँगै संगीतकार सन्तोष श्रेष्ठलाई पनि स्थापित बनायो ।

पहिले मैले संगीतबद्ध गरेको गीत बजारमा ल्याइदिनुस् न भन्दै म्युजिक कम्पनी चहार्ने सन्तोषलाई अहिले एल्बम निकाल्न अफर गर्नेहरुको लाइन नै लाग्ने गरेको छ । हुन पनि यस्तो भइदियो कि सन्तोषले हात हालेका प्राय गीतहरु हिट भएका भए । त्यसैले त उनी स्वरसम्राट नारायण गोपाल युवा संगीत पुरस्कार, सेतुराम संगीत सम्मान, रेडियो नेपालबाट उत्कृष्ट आधुनिक संगीतकार जस्ता प्रतिष्ठित पुरस्कारबाटसमेत सम्मानित भएका छन् । त्यतिमात्र होइन, राष्ट्रकवि माधव घिमिरे, शताव्दी पुरुष सत्यमोहन जोशीलगायतसँग सहकार्य पनि गरेका छन् ।

संगीतमा संघर्ष

दाङको हापुरमा माध्यमिक तहको शिक्षा पूरा गरेर सदरमुकाम घोराही छिरेपछि उनको सांगीतिक यात्रा पनि सुरु भएको थियो । २०५६ सालमा दाङमा आयोजित खुला लोकगीत प्रतियोगिता उनी जिल्ला प्रथम भए । त्यसपछि आफ्नै स्वरमा गीत रेकर्ड गराउने हुटहुटी सुरु भयो । तर, नयाँ कलाकारलाई म्युजिक कम्पनीले पत्याउँदैनथे । दुरदराजमा गुञ्जिने उही एउटा रेडियो नेपाल थियो । अन्ततः उनले २०६२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरे ।

त्यसअघि २०५८ सालमा सन्तोष श्रेष्ठको सोलो संगीतमा पहिलो एल्बम तयार भयो- ‘चिनारी’ । तर, एल्बम बजारमा आउनै चार वर्ष लाग्यो ।

किन लाग्यो त चार वर्ष ? किनकी एल्बमलाई बजारमा ल्याउनको लागि कम्पनीको खाचो थियो । तर, ४७ वटा म्युजिक कम्पनीको ढोका ढक्ढक्याउँदा पनि कसैले पत्याएनन् । ४८ औं नम्बरमा भेटिएको ‘सगरमाथा डिजिटल’ले भने सन्तोषको गीत बजारमा ल्याउन तयार भयो ।

चिनारी एल्बमको पहिलो गीत थियो, ‘आउँछु भनी पापिनीले’ । त्यो बेला आधुनिक गीतमा रामकृष्ण ढकालको बर्चश्व थियो । त्यसैले सन्तोषले पनि यो गीत रामकृष्णलाई नै गाउन दिए । यही गीतलाई पछि अञ्जु पन्त र शिशिर योगीले पनि गाए । २०६२ सालमा रिलिज भएको उक्त गीतले बजार ततायो । तर, एल्बममा समावेश अन्य सात गीतहरु खासै चलेनन् । सन्तोषको लगानी डुब्यो । उनले सोचे, ‘ओहो ! आधुनिक गीतमा काम गरेर त नहुने रहेछ ।’

विष्णु माझीलाई हराएको त्यो क्षण

अनि, उनको बाटो लोकगीततर्फ नै मोडियो । रेडियो नेपालबाट स्वर परीक्षा पनि पास गरेका थिए । ठमेलका रेष्टुरेन्टहरुमा पनि गाउँथे । सन्तोष भन्छन्, ‘काठमाडौंमा टिक्नको लागि पनि रेष्टुरेन्टमा गीत गाइरहेको थिएँ ।’

त्यसो त उनी राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा प्रायः प्रथम हुन्थे । २०६२ सालमा भृकुटीमण्डपमा आयोजित लोकदोहोरी गीत प्रतियोगितामा सन्तोष पहिलो हुँदा विष्णु माझी दोस्रो भइन् । यो नै उनको र विष्णु माझीको दोहोरो प्रतियोगितामा प्रतिस्पर्धा अन्तिम हुन पुग्यो । ‘०६२ पछि लोकदोहोरी प्रतियोगितामा भाग लिन छाडेर म आधुनिक संगीत साधनामै व्यस्त हुन थालेँ, विष्णु माझी पनि त्यस्ता प्रतियोगितामा देखिन छाड्नुभयो,’ सन्तोष भन्छन् ।

ठमेलमा गीत गाइरहेको समयमा २०६४ सालतिर उनलाई बहराइनमा गएर गीत गाउने अफर आयो । तर भिसा ८१ दिनको मात्र थियो । सन्तोष त्यहाँ गीत गाएर नेपाल फर्किने सोचमा बहराइन उडे । तर, बहराइनका नेपालीले उनलाई नेपाल फर्किन दिएनन् । उनी सात महिना उहीँ बसेर गीत सुनाए । सन्तोष सम्झिन्छन्, ‘म नेपाल फर्किन्छु भन्यो भने पैसा बढाइदिन्छु भन्नु हुन्थ्यो । नजा भन्नुहुन्थ्यो, तर सात महिना बसेपछि म नेपालमै फर्किएँ ।’

हवाईजहाजमा गरेको कम्पोज

बहराइन उड्नुभन्दा अगाडि नै लोकराज अधिकारीले लेखेको एउटा गीत उनको हातमा परेको थियो । त्यो गीतका शव्द र हवाईजहाजको झ्यालबाट देखिने बाहिरको दृष्यले छोएपछि उनी गुनगुनाउन थाले र त्यहीँ निष्कियो भाका ।

‘तिमीले पराइ ठानेपछि पराइ हुन के भयो र ?

आखिर डाँडा काट्नु रै’छ, त्यो मन अन्तै साट्नु रै’छ

बादल जस्तै फाट्नु रै’छ., आखिर डाँडा काट्ने रै’छ…. ।’

नेपाल फर्किएपछि पुनः सगरमाथा डिजिटलले उनलाई नयाँ एल्बम निकाल्न अफर गर्‍यो । लगानी डुब्ने डरले उनी तयार थिएनन् । तर निरन्तर पछ्याएपछि सन्तोष दोस्रो एल्बमको लागि तयार भए । गीत रेकर्ड गराए, उही ‘तिमीले पराइ ठानेपछि…।’

त्यस समय अञ्जु पन्त आधुनिक गीतमा पाइला चाल्दै थिइन् । सन्तोषले यो गीत अञ्जुलाई नै गाउन दिए । यसै गीतलाई पुरुष स्वरमा शिशिर योगीले गाए । यो गीतसँगै जम्मा ८ गीत तयार गरेर सन्तोषले दोस्रो एल्बम तयार गरे, ‘साधना’ ।

६५ सालमा सार्वजनिक भएको यस एल्बमबाट पनि ‘तिमीले पराइ ठानेपछि’ बोलको गीत बम्पर हिट भयो । सिडी र क्यासेटको बिक्री ह्वात्तै बढ्यो । सिडीमा साइन गरेर सन्तोषलाई भ्याइ नभ्याइ भयो । त्यही समय सीआरबीटी (कलर रिङ ब्याक टोन)सुरु भएको थियो । सीआरबीटीमा पनि यस गीतले गतिलो स्थान बनायो । सीआरबीटीमा सबैभन्दा बढी डाउनलोड हुने गीतको रेकर्ड राख्यो । यही गीतले सन्तोष श्रेष्ठलाई संगीतकारको रुपमा स्थापित बनायो ।

सन्तोष भन्छन्, ‘सीडी र क्यासेट धेरै बिक्री भए । धेरैलाई फोन गर्दा त्यही गीत बज्थ्यो । अन्जु र म यसै गीतबाट स्थापित भयौं । उक्त गीत सुपर डुपर हिट भएपछि करिअरमा फर्केर हेर्नु परेन ।’

यो एल्बमपछि सन्तोषमाथि लगानी गर्न तयार म्युजिक कम्पनी धेरै देखिए । तर, उनले आफूलाई दुःखमा साथ दिने सगरमाथा डिजिटलकै लगानीमा गायिका सञ्जिवनीसँग सहकार्य गरेर ‘गरिमा’ एल्बम बजारमा ल्याए । उक्त एल्बमबाट पनि सन्तोषले राम्रै चर्चा पाए ।

अहिले उनीबाट एकल संगीतबद्ध आधुनिक गीतका एल्बम नै ३२ पुगिसकेको छ । सन्तोषद्वारा संगीतबद्ध गीतहरुको संख्या ८ सय हाराहारीमा छन् । तीमध्ये हिट गीतको सूची पनि लामो नै छ ।

तीमध्ये अञ्जु पन्तले गाएका गीतहरु धेरै छन् । ‘तिम्ले भुल्न सके पनि’, ‘आउँछु भनि निष्ठुरीले’, ‘परेलीको वर्षातले’, ‘तिम्रै यादमा भित्रभित्रै’ सन्तोषद्वारा संगीतबद्ध र अञ्जुको स्वरमा सजिएका हिट गीत हुन् ।

यस्तै सञ्जिवनीले गाएका ‘तिम्ले हाँसो लुटी लग्यौ’, ‘कोपिलामा सुन हुन्छ’, नरेन्द्र प्यासीले गाएको ‘तिम्रो दिलमा चोट लाग्दा’, जगदिश समालको स्वरमा रहेको ‘किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै’, दीपक लिम्बुले गाएको ‘तिम्लाई सन्चो छैन भन्ने खबर पाएँ मैले,’ लगायतका गीत पनि हिट भए ।

राष्ट्रकवि माधव घिमिरेसँग संगीतकार सन्तोष श्रेष्ठ

सन्तोषले आधा दर्जन चलचित्रका गीतहरुमा पनि संगीत दिए । तर, यता उनी खासै जमेनन् । तर, आधुनिक गीत संगीतको क्षेत्रमा सन्तोष अहिले नयाँ पुस्तादेखि पुरानो पुस्ताको पहिलो रोजाइका संगीतकार हुन् । राष्ट्रकवि माधव घिमिरे, शताव्दी पुरुष सत्यमोहन जोशी, कालीप्रसाद रिजाल, श्रीपुरूष ढकाल लगायतसँग पनि सहकार्य गरेका छन् । यही नै आफ्नो सफलता भएको बताउँदै उनले भने, ‘राष्ट्रकवि, वाङ्गमय शताव्दी पुरुष जस्ता व्यक्तित्वहरुको पनि विश्वास जितेको रहेछु । थुप्रै दर्शक र स्रोताको माया पाएको छु, त्यही नै मेरो सफलता हो ।’

सन्तोषले राष्ट्रकवि माधव घिमिरेले लेखेको ‘पश्चिम रुन्छ महाकाली, पूर्व रुन्छ मेची’ र वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको जीवनको पहिलो गीत ‘तेरो मेरो जे भन्छौं हामी’ गीतमा पनि संगीत दिएका छन् ।

चुनौती

उहिले ‘एउटा मात्र गीत रेकर्ड गराउन पाए…’ भन्ठान्ने सन्तोष अहिले लोकप्रियताको शिखरमा त पुगे, तर त्यहाँ टिकीराख्ने चुनौती छ ।

२०७१/०७२ सालसम्म संगीत क्षेत्रलाई सीआरबीटीले लिड गरिरहेको थियो । एल्बम बेचेर पनि कलाकारहरुले राम्रो आम्दानी गरिरहेका थिए । तर, जब युट्युबको जमाना सुरु भयो, अनि युट्युबमा डान्सिङ गीतहरुको प्रभुत्व बढ्यो । सन्तोष त्यहाँ अल्मलिए । डान्सिङ गीतहरु सृजना हुँदा स्लो बिटका र शास्त्रीय संगीतका गीत पछि परे । यद्यपि आफू सस्तो लोकप्रियताको पछि नलागेको उनी बताउँछन् । उनी भन्छन्, ‘संगीतमा राम्रो गर्छु, गम्भिर भएर गुणस्तरीय काम गर्छु भन्नेतिर मात्रै मेरो ध्यान गयो । यदि त्यस्तै गीत बनाउने हो भने करोड भ्यूज बटुल्न गाह्रो छैन ।’

आफूले वर्षौं लगाएर बनाएको स्थान हलुङ्गो नहोस् भन्ने सोचेर उनी लहडमा लागेनन् । लहडमा आएका गीतहरुले मेहनत गर्ने संगीतकारलाई पनि असर गरिरहेको सन्तोषको बुझाइ छ । लोकप्रियताको पछि दौडिदै गर्दा राम्रा सृजनाहरु मरिरहेको भान उनलाई भएको छ ।

उनी भन्छन्, ‘यहाँ ९८ प्रतिशत लहडमा काम गर्ने हुनुहुन्छ । अनि २ प्रतिशत मात्रै राम्रो काम गर्ने । ती ९८ प्रतिशतले दुई प्रतिशतलाई पेलिरहेको अवस्था छ । सस्ता गीतहरुले त हामीलाई अगाडि होइन, पछाडि धकेल्छ ।’

सन्तोषले संगीतको विकल्प सोचेका छैनन् । संगीतमा नै के फरक गर्न सकिन्छ, कसरी फरक पहिचान बनाउन सकिन्छ भन्नेतिर नै उनी ध्यानमग्न छन् । अग्रज पुस्ताको सल्लाह र नयाँ पुस्ताको सोचलाई समायोजन गरेर काम गर्ने मनस्थितिमा छन् ।

उनी भन्छन्, ‘२० वर्षदेखि कमाएको स्रोता र अहिलेका पुस्ता दुबैलाई जोड्ने गीत बनाउने कोसिस गरिरहेको छु । पक्कै राम्रो गर्नेछु ।’

स्नातकोत्तरसम्म अध्ययन गरेका सन्तोष संगीतकार मात्र होइनन्, उनका साहित्यिक कृति पनि प्रकाशित छन् । उनका आँसु (गजल संग्रह) र अधुरो सपना (लघुकथा संग्रह) प्रकाशित छन् ।

उनले २०७३ सालमा गृहजिल्ला दाङमा ‘सन्तोष श्रेष्ठ गजल साँझ’ कार्यक्रम गरे, जुन जुन नेपालमै पहिलो एकल गजल गायन भएको उनको दाबी छ । सोही वर्ष राष्ट्रिय भावका गीतहरुको एकल गायन कार्यक्रम राखे । त्यो पनि नेपालमै पहिलो राष्ट्रिय भावका गीतहरुको एकल गायन रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?