+
+
Shares

जहाँ बाह्रैमास फूल फूल्छ

ताङतिङको फूल पशुपतिसम्म

विकास रोकामगर विकास रोकामगर
२०७६ पुष २३ गते १३:५८

२३ पुस, पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले असोज तेस्रो साता सार्वजनिक कार्यक्रमलाई छिटो छरितो र कम खर्चिलो बनाउन एउटा निर्देशिका तयार पार्‍यो । निर्देशिकाअनुसार जुनसुकै सार्वजनिक कार्यक्रम १ देखि ढेड घन्टामा सक्नु पर्ने र अतिथिलाई स्वागत तथा सम्मान गर्दा खादा, माला, अबीर एकसाथ लगाउन नपाइने थियो ।

तर, प्रदेश सरकारले लेकसाइडबाट भ्रमण वर्ष २०२० घोषणा गर्दा सबै अतिथिले माला पनि लगाए, खादा पनि लगाए । प्रदेश सरकारले आफ्नै नीतिविपरीत कदम चालेको भन्दै सामाजिक सञ्जालमा विरोध पनि भयो । तर, ती अतिथिले लगाएका फूलका मालाको कथा भने अर्कै छ ।

अतिथिले खादासँगै लगाएको माला भने कास्कीको मादी गाउँपालिका २ ताङतिङका महिलाले ल्याएका हुन् । ताङतिङ प्रवर्द्धन गर्न करिब ३ दर्जन गाउँले फूलमालासहित उदघाटन समारोहमा उपस्थित भएका थिए । तर, अतिथिको गलामा माला नभई खादा देखेपछि उनीहरु आफैं अग्रसर भएर माला लगाइदिए । गाउँमा हुने कार्यक्रममा पनि अतिथिमात्रै नभई सहभागी सबैलाई माला लगाइदिने ताङतिङको अतिथि सत्कार नीतिभित्र पर्छ ।

मादी खोला उक्लेर किनारैकिनार हिँडेपछि टाढैबाट देखिन्छ, पहेंलपुर ताङतिङ गाउँ । २०६८ सालमा गाउँमा होमस्टे खुल्दा आएका पाहुनालाई स्वागत तथा बिदाई गर्न फैलाइएको हजारी फूल अहिले गाउँकै चिनारी भएको छ ।

स्थानीय भाषामा ‘ताङतिङे बाह्रमासे हजारी’ नाम दिइएको फूल जुनसुकै मौसममा गए पनि त्यस्तै फूलिरहेको देख्न सकिन्छ । यो फूल ताङतिङबाहेक अरु ठाउँमा नफूल्ने दाबी स्थानीयको छ । ‘यो फूल बाह्रैमासे यस्तै हो । पाहुना आउँदा र यहाँ कार्यक्रम हुँदा लगाइदिन्छौं,’ स्थानीयबासी पूर्ण सुब्बाले भनिन्, ‘यो फूल अरु ठाउँमा लगेर रोप्यो भने सर्दैन । यतामात्रै फूल्छ ।’

गाउँमा फूलेको त्यो फूल अरु फूलजस्तै बीउ या ब्याडबाट उम्रदैन । एउटा बोट छिप्पिएपछि त्यसको हाँगा काट्छन् र त्यसैबाट फैलाउनुपर्छ । ‘बर्खायाममा हामीले फूल, डाँठ काटेर सार्छौं । त्यही डाँठबाट उम्रिएको बोटले वर्षभरि फूल्छ,’ मादी २ का वडाध्यक्ष रहेका स्थानीय एकजङ गुरुङले भने ।

फूल खेती गर्न गाउँपालिकाको अनुदान

त्यसैले मादी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र हुने कार्यक्रममा आयातित फूल माला निषेध गरी गाउँकै जैविक माला नै लगाउने नीति ल्याएको छ । गाउँपालिकाको नीतिलाई सघाउ पुर्‍याउन ताङतिङका आमा समूहलाई व्यवसायिक फूल खेती गर्न अनुदान पनि दिइएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ले जानकारी दिए ।

ताङतिङका आमा समूहलाई गत वर्ष व्यावसायिक फूल खेती गर्न १ लाख रुपैयाँ अनुदान दिइएको थियो । ‘ताङतिङमा व्यवसायिक फूल खेतीको राम्रो सम्भावना देखेर गत वर्षदेखि आमा समूहलाई अनुदान दिन सुरु गर्‍यौं । आमा समूहको मेहेनतले अनुदान खेर गएन,’ उनले भने, ‘त्यो अनुदान हामीले वडा कार्यक्रमअन्तर्गत दिएका हौं ।’

व्यवसायिक फूलका लागि सुरुआतमा वडाले अनुदान दिए पनि त्यसैबाट आमा समूहले मनग्गे आम्दानी गरेपछि यो वर्ष अनुदान दिनु नपरेको वडाध्यक्ष एकजंग गुरुङले जानकारी दिए । ताङतिङमा ३ वटा आमा समूह छन् । ती आमा समूहले अनुदानमा आएको रकम आवश्यकताअनुसार बाँडेर सामूहिक फूल खेती गरेका हुन् । ‘प्रत्येक आमा समूहले फूल बेचेरै २ देखि ३ लाख रुपैयाँसम्म नाफा कमाइसक्यौं,’ स्थानीय रोशमाया गुरुङले सुनाइन् ।

पशुपतिसम्म पुग्छ फूल

करिब ५ वर्षअघि गाउँमा प्रवेश पाएको उक्त फूल अहिले सबैको घरघरै फूल्छ । ३ आमा समूहले गाउँकै करिब ८ रोपनी क्षेत्रफलमा फूल खेती गरेका छन् । ताङतिङका आमा समूहले फूलाएको फूल पोखरा, तनहुँमात्रै नभई काठमाडौं पशुपति मन्दिरका लागि पनि माग हुने स्थानीय जसबहादुर गुरुङ बताउँछन् ।

‘पहिले–पहिले फूल माग्दा डोकोभरि दिन्थे । तर, आजभोलि कतिवटा माला भनेर सोध्छन्,’ गुरुङले भने, ‘सामूहिक बाहेक पनि घरैपिच्छे फूल रोपेका छन् ।’ गाउँमा फूलमात्रै नभई आलु, सागलगायतका तरकारी पनि महिला समूहले सामूहिक खेती गर्दै आएका छन् ।

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?