+
+
Shares

२० करोड घुस : दुर्गा प्रसाईको आरोप र गिरीको प्रष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २३ गते २१:१४

२३ पुस, काठमाडौं । एउटा समय यस्तो देखिन्थ्यो, झापाको बी एण्ड सी मेडिकल केलजलाई सम्बन्धन दिलाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै लागेको छ ।

मेडिकल शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी र सरोकारवालाको आग्रहलाई वेवास्ता गर्दै संसदमा नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक बहुमतले पास गर्नुले पनि यही आशंकालाई बल दियो ।

तर बुधबार घटनाक्रमले नयाँ मोड लियो । बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाए । लगत्तै डाक्टर गिरीले पनि पत्रकार सम्मेलन गर्दै भनेका छन्, ‘यो विकृत मनस्थिति भएका व्यक्तिले लगाएको आरोप हो । यसमा सत्यता छैन ।’

यस्तो छ, प्रसाईको आरोप र डा. गिरीको प्रष्टिकरण

दुर्गा प्रसाई : मंसिर १५ गते म बी एण्ड सी मेडिकल कलेजको सम्बोधनका लागि निवेदन दिन चिकित्सा शिक्षा आयोग गएको थिएँ । मैले मेरो कलेजलाई सम्बन्धन दिन आग्रह गरेर आशयपत्र लगायतका अन्य कागजातसहित निवेदन दिएँ । तर निवेदन दर्ता गर्न मान्नु भएन । किन दर्ता नगरेको भनेर सोध्दा बताउनु भएन । त्यही दिन साँझ डा. गिरीले मलाई बत्तिसपुतलीको होटल द्वारिकाजमा बोलाउनुभयो र, सम्बन्धन लिने भए २० करोड दिनु भन्नुभयो ।

डा. गिरी  : उहाँ चिकित्सा शिक्षा आयोगमा आएको मिति मलाई ठयाक्कै थाहा छैन, तर आयोगमा आउँदा मेरो कलेजलाई सम्बन्धन दिइपाउँ भनेर ठाडो निवेदन मात्रै थियो । मैले उहाँसँग अरु कागजात माग गर्दा छैन भन्नु भयो । उहाँको कलेजले आशयपत्र पाएको मलाई थाहा थियो । मैले कागजात छ होला, पछि दिँदा पनि हुन्छ भन्दै ऐनले माग गरेका कागज १,२,३ भनेर जानकारी दिए । त्यसपछि उहाँ निवेदन दर्ता नगरी फर्किनु भयो । कागजात जुटाएर आउनुहुन्छ होला भन्ने लागेको थियो, आउनु भएन ।

जहाँसम्म मैले उहाँलाई होटल द्वारिकाजमा भेट्न बोलाएको कुरो छ, त्यो सरासर झुट हो । म मंसिर १५ गते त के, गएका १० वर्षको बिचमा होटल द्वारिकाज गएको छैन । उहाँलाई प्रत्यक्ष भेटेको पनि आयोगमा पहिलो पटक हो ।

प्रसाई : डाक्टर गिरीले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि मिलाउनु पर्छ भनेर २० करोडको लबिङ गरे । १०/२० लाख वा १ करोडसम्म भए सोच्नुहुन्थ्यो भन्दा उहाँले मेडिकल कलेजको १० प्रतिशत शेयर झापामा रहेक मेरो सम्धीको नाममा पास गर्दिनुस् भन्नुभयो ।

डा गिरी : मैले मेरो जीवनकालमा आजसम्म न आफ्ना लागि घुस मागेको छु, न कुनै नेताका लागि । म आफ्नो योग्यता र क्षमताले यो स्थानमा आएको हुँ । मलाई लगाएको निराधार आरोपबारे म कानुनी उपचारको बाटो खोज्छु ।

प्रसाई : मैले होटलमा भेटेकाले उहाँले गरेको कुरो रेकर्ड गरिन् र मसँग प्रमाण छैन । तर २० करोड मागेको होइन भनेर फेस टु फेस कुरा गर्न चुनौती दिन्छु ।

डा. गिरी : म उहाँलाई आरोप प्रमाणित गर्न चुनौती दिन्छु ।

पत्रकार सम्मेलनमा बी एण्ड सीका सञ्चालक प्रसाईले डाक्टर गिरीलाई आफ्नो कलेजले आशय पत्र पाइसकेको, तीन सय शैय्याको अस्पताल रहेको र पूर्वाधार पनि पुगेको भन्दै बी एण्ड सीलाई किन सम्बन्धन दिइएन भन्ने प्रश्न गरेका छन् ।

त्यसको जवाफमा डा. गिरीले भने, ‘बी एण्ड सीले सम्बन्धन पाउने नपाउने भन्ने कुरो उहाँको निवेदन दर्ता भएपछि थाहा हुन्छ । सबै कागजात पूरा गरेर निवेदन दर्ता भएपछि प्रकिया पुरा गर्नु भएको छ कि छैन भन्ने थाहा हुन्छ । हाम्रो काम सम्बन्धन दिने हो । सबै प्रक्रिया पुग्यो भने सम्बन्धन दिन्छौं । तर त्यसको लागि पनि त उहाँले आयोगमा निवेदन दिनु त पर्‍यो नि ।’

अयोग्य होइन म : डा. गिरी

डा. गिरीमाथि चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष हुन अयोग्य भएको आरोप पनि लागेको छ । गत भदौमा गिरीलाई नियुक्त गरेपछि प्रा. डा. गोविन्द केसीले पत्रकार सम्मेलन गर्दै उनी अयोग्य भएको आरोप लगाएका थिए ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार उपाध्यक्ष हुन मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा २० वर्षको अनुभव भएको वा चिकित्सा शिक्षा क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवाको क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएको हुनुपर्ने हुन्छ ।

१६३२ नम्बरको प्रमाणपत्र लिएका डा. गिरीले सन् २००३ मा हाडजोर्नी विशेषज्ञका रूपमा काम गरिरहेका छन् । उनले सन २००२ सेप्टेम्बर ८ मा उपाधि लिएको भेटिन्छ । डा. गिरीलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट २०७४ असार देखि २०७५ वैशाखसम्म स्वास्थ्य मन्त्रालयमा खटाइएको थियो । उक्त अवधि फ्याकल्टीमा गणना नहुने प्रतिष्ठानका एक प्राध्यापक बताउँछन् । त्यसो भएमा उपाध्यक्षका लागि डा. गिरीको योग्यता पुग्दैन ।

तर उनले भने आफू अयोग्य नभएको जिकिर गरे । सहप्राध्यापक भएको केही समयपछि प्राध्यापकको आह्वान भएको र प्रतिस्पर्धा गरेर नियुक्त भएको उनले सुनाए ।

को दोषी हो, छुट्याऊ

बुधबार प्रसाई र गिरीबीच जुहारी चल्यो । आरोप लगाएकै भरमा उपाध्यक्ष गिरी दोषी हुन् भन्ने अवस्था छैन भने प्रसाईंले झुटो आरोप लगाएका हुन् भन्न पनि सकिँदैन ।

त्यसमाथि प्रसाईले शिक्षामन्त्री र सत्तारुढ नेकपाका प्रवक्ताको समेत नाम मुछेकाले यसमा छानविन गर्न ढिला गर्न हुन्न । यसका लागि सजिलो के छ भने प्रसाईंको दाबी छ, आयोगका उपाध्यक्ष गिरीले उनलाई १५ गते द्वारिकाज होटलमा भेटेका हुन् ।

अर्थात फोन कलका आधारमा त्यो दिन दुई जनाबीच सम्वाद भए नभएको पत्ता लगाउन सकिन्छ भने होटलको सीसीटीभी फुटेजका आधारमा उनीहरुबीच भेट भएको नभएको छानविन गर्न सकिन्छ ।

सरकार र नेकपा स्वयंमको पनि यसतर्फ ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?