
२ माघ, काठमाडौं । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । प्रसाईं भने फरार छन् ।
मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।
साथै, उनले आफूविरुद्ध गुण्डागर्दी गरेर असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए ।
निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।
लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेको थियो । तर, उनी नभेटिएको प्रहरी स्रोतले बताएको छ ।
प्रहरीले झापास्थित प्रसाईंको घरमा पनि खोजी गरेको छ । त्यहाँ पनि उनी भेटिएनन् ।
बुधबार साँझबाटै उनको मोबाइल पनि स्वीच अफ रहेको स्रोतले बतायो ।
प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरेर डा. गिरीविरूद्ध अख्तियारमा उजुरी दिएको पनि बताएका थिए । द्धारिका होटलमा मंसिर १५ मा उपाध्यक्ष गिरीले घुस मागेको प्रसाईंको दाबी छ ।
उनले भनेका थिए, ‘म माथिका नेताहरुलाई पनि रकम बुझाउनुपर्छ भन्दै २० करोड मागियो । मैले सम्पत्ति शुद्धीकरण लगायतले गर्दा बैंकको पैसा यताउति गर्न मिल्दैन । १०/२० लाख, एक करोडसम्म भनेको बैग्ले कुरा हो । यत्रो पैसा चलाउन सक्दैनौं भनेँ ।’
यो पनि पढ्नुस्
२० करोड घुस : दुर्गा प्रसाईको आरोप र गिरीको प्रष्टीकरण
प्रतिक्रिया 4