
१७ माघ, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका-९ पुरानागाउँमा रहेको ऐतिहासिक तथा धार्मिक तीर्थस्थलको रुपमा रहेको स्थानापति महादेव मन्दिर प्रचार अभावमा ओझेलमा परेको छ ।
स्थानापति महादेवस्थान काठमाडौंको पशुपति, पूर्वी नेपालको हलेसी महादेव जत्तिकै महत्वको महादेव मन्दिर भएको स्थानीयवासीको भनाइ छ । यो मन्दिरको इतिहास धेरै वर्र्ष पुरानो रहेको स्थानापति मावि पुरानागाउँका शिक्षक प्रकाश पुरीले बताए ।
सो मन्दिरमा गइ पूजा आराधना गरी ठूलो स्वरले बरदान माग्दा मागेको वर पाइने विश्वास रहेको सोही विद्यालयका प्रअ रामबाबु गिरी बताउँछन् ।
महादेव मन्दिरमा बस्तु थारो बस्दा ब्याओस् भनेर माग्ने तथा सन्तान नहुनेले सन्तान प्राप्तिको कामना गर्दै वर माग्ने चलन रहेको छ । मन्दिरमा बस्तुको दाम्लो चढाएर त्यही दाम्लोले महादेवस्थान परिसरको ढुंगा डोहोर्याएर घरमा ल्याउँदा बस्तुभाउ फस्टाउने जनविश्वास रहेको छ ।
‘मेरा बा आमाले यहाँ आएर बरदान मागेपछि म जन्मिएको रे । त्यसैले मलाई स्थानापति महादेवप्रति ठूलो विश्वास छ’, मन्थली नगरपालिका-७ का पाण्डव प्रसाईंले बताए ।
भौगोलिक विकटताको र प्रचारप्रसारको कमीले छायामा परेको महादेवस्थानको विकासको लागि मन्थली नगरपालिकाले पूर्वाधार निर्माण्को काम सुरु गरेको छ ।

नगरपालिकाले मन्दिरको फेदीबाट मन्दिसम्म जानको लागि सिँढी निर्माण गरेको छ । त्यसैरी मन्दिर परिसमा पनि पूर्वाधार निर्माणका विभिन्न कामहरु भइरहेका छन् ।
महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने गरी काम भइरहेको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए । उनले बुढामाहादेव, भीमसेनस्थान र चिसापानी गढीलाई जोड्ने गरी पूर्वाधार निर्माण र विकासको काम भइरहेको बताए ।
महादेव मन्दिरमा प्रत्येक वर्षको हरितालिका तीज र ठूलो एकादशीमा मेला लाग्दछ । यी पर्वहरुमा रामेछाप जिल्लाका साथै छिमेकी जिल्लाहरु सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुंगा, काभ्रे तथा दोलखाबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।
स्थानापति बैरा महादेवको नामले परिचित यस महादेव मन्दिरलाई बुढामहादेव भनेरसमेत पुकारिन्छ । महादेवस्थानमा पुगेर वर माग्ने जो कोही व्यक्तिले मागेका मनोकामना महादेवले पूरा गरिदिने जनविश्वास रहेको छ । तर वर माग्दा ठूलो स्वरले माग्नु पर्ने जनविश्वास छ ।
पहाडको टाकुरामा पर्ने महादेवस्थानबाट मनोरम दृश्यावकलोकनसमेत गर्न सकिन्छ । महादेवको दर्शनसँगै पहाडका नागवेली दृश्यहरुको अवलोकन गर्न पाइन्छ ।
अहिले मन्दिरकै फेदीसम्म यातायात साधन पुग्ने भएकोले मन्दिर पुग्न सहज भएको छ । मन्दिरको फेदीबाट आधा घण्टा सिँढी चढेपछि मन्दिरमा पुग्न सकिन्छ ।
मन्दिरको प्रचार गरी आवाससहितको पूर्वाधार निर्माण गर्न सके पर्यटकहरु आकर्षित गर्न सकिने सम्भावना रहेको छ ।
प्रतिक्रिया 4