+
+
Shares

विदेशमा बस्ने नेपालीलाई पानी किन बेइमानी ?

दिवाकर प्याकुरेल दिवाकर प्याकुरेल
२०७६ माघ १७ गते १४:३६
अस्ट्रेलियामा सर्फिङमा मस्त मानिसहरू ।

१७ माघ, काठमाडौं । गत पुस २७ गते अनलाइन समाचार पोर्टल दिनेशखबरमा एउटा समाचार आयो– मलेसियाको माछापोखरीमा डुब्दा एक नेपाली कामदारले ज्यान गुमाए । त्यसको दुई दिनपछि अमेरिकामा रहेका नेपालीहरूले सञ्चालन गरेको नेपाल ट्वान्टीफोर आवर्स पोर्टलले पोर्चुगलको समुद्रमा डुबेर दुई नेपालीको मृत्यु भएको खबर छाप्यो ।

झट्ट हेर्दा यी दुई समाचारबीच त्यति कसिलो सम्बन्ध छैन । एसियाको मलेसिया र युरोपको पोर्चुगल अनि सामान्य व्यावसायिक पोखरी र विशाल समुद्रबीच तुलना गर्न मिल्दैन ।

यद्यपि, दुई दिनको फरकमा आएका उस्ताउस्तै समाचार झस्काउने खालको छ । यी दुई समाचार प्रतिनिधि घटना मात्र हुन् । हरेक वर्ष विदेशको पानीमा दर्जनौँ नेपालीको मृत्यु भइरहेको छ । र, यो क्रम निरन्तर बढ्दो छ । नेपालमा पौडी दैनिक जीवनको अङ्ग नभएको तर नेपालीहरूले पानीको जोखिमलाई बेवास्ता गर्ने गरेकोले यस्ता दुर्घटना बढेका छन् ।

समस्याको गहिराइ

कुनै निश्चित अवधिमा, कति जना नेपाली विदेशमा पानीमा डुबेर मरे भन्ने तथ्याङ्क पाईंदैन । पानीमा डुबेर मर्नेहरूबारे विशिष्टीकृत सूचनाको त कुरै छाडौँ, समग्रमा हरेक वर्ष कति नेपाली विदेशी भूमिमा मर्छन् भन्ने एकीकृत सूचना पनि नेपाल सरकारसँग छैन ।

परराष्ट्र मन्त्रालयका सूचना अधिकारी सुरेश अधिकारीका अनुसार उल्लेख्य सङ्ख्यामा नेपाली बसेका देशका दूतावासमा निश्चित अवधिमा मृत्यु भएकाहरुबारे जानकारी हुन सक्ने भए पनि मन्त्रालयले एकीकृत तथ्याङ्क राखेको छैन । अतः यो समस्याको गहिराइ नाप्न खासखास घटनाको अध्ययन र विज्ञहरूको भनाइलाई आधार मान्नुपर्ने बाध्यता छ ।

सम्बन्धित सरकारी निकायहरू पनि यो समस्या ठूलै भएको र न्यूनीकरणका लागि तत्काल कदम चालिनुपर्नेमा सहमत छन् । कतै अभिलेखीकरण पनि सुरु भएको छ ।

जस्तो, सन् २०१६ देखि अस्ट्रेलियास्थित नेपाली दूतावासले डुबेर मर्ने नेपालीको तथ्याङ्क राख्न थालेको छ । त्यस अनुसार, गत पाँच वर्षमा १० नेपालीले अस्ट्रेलियाको पानीमा डुबेर ज्यान गुमाएका छन् । यो भनेको औसतमा वार्षिक दुई जना हो ।

लामो समय गैर–आवासीय नेपाली संघमा आवद्व भएर काम गरेका डिला खरेल अस्ट्रेलियामा नेपाली प्रवासीको सङ्ख्यासँगै यस्ता घटना बढ्न थालेको बताउँछन् । नेपाली दूतावास र संघको अभिलेखमा सबै घटना नसमेटिएको हुनसक्ने उनको आशंका छ । गत महिना मात्र अस्ट्रेलियामा तीन जना नेपालीले डुबेर ज्यान गुमाउनुले खरेलको आशंकामा बल पुर्याउँछ ।

अस्ट्रेलियाको रोयल लाइफ सेभिङ सोसाइटीका अनुसार डुबेर मर्ने मध्ये २७ प्रतिशत अस्ट्रेलियाभन्दा बाहिरका छन् । सोसाइटीकी अनुसन्धान तथा नीति व्यवस्थापक स्ट्यासी पिड्जन यस प्रकारको घट्नामा अस्ट्रेलियाको नेपाली समुदाय पनि अधिक जोखिममा रहेको मानिएको छ बताउँछिन् । उनका अनुसार, गत महिनाको तीन वटा दुर्घटना बाहेक अस्ट्रेलिया गत छ वर्षमा १४ जना नेपालीको डुबेर मृत्यु भएको छ ।

चोटपटक रोकथामको विषयमा बेलायमा अध्ययन गरिरहेका पुष्पराज पन्तका अनुसार समुद्रसँग जोडिएका सबै सहरमा बस्ने नेपालीहरु डुबानको जोखिममा छन् । नेपालीहरू डुबेर मरेका समाचारहरुको निरन्तर विश्लेषण गरिरहेका उनी यस्ता घटनामा विद्यार्थी, दक्ष श्रमिक, अदक्ष कामदार सबै खाले प्रवासी नेपाली पर्ने गरेको बताउँछन् । हरेक वर्ष कम्तीमा दुई दर्जन नेपालीले विदेशी पानीमा डुबेर ज्यान गुमाउने गरेको पन्तको ठम्याइ छ ।

विश्वव्यापी समस्या कि नेपाली ?

संसारका सबै देशका नागरिक डुबेर मर्छन्, तर यसमा नेपालीको मृत्युदर अधिक छ । यसका पछाडि खास कारणहरू छन् । अध्येता पन्त भन्छन्, ‘नेपालमा समुद्र नभएका कारणले गर्दा नेपालीहरूलाई समुद्री छाल वा समुद्री जल प्रवाह सम्बन्धी अनुभव छैन । न त नेपालमा जल सुरक्षाबारे अध्ययन गर्ने ठाउँ नै छ ।’

समुद्री छालको प्रवाह प्रवृत्ति र सुरक्षित बाटो देखाउने चित्र । (स्रोत : नेसनल सी रेस्क्यु इन्स्टिट्युट, दक्षिण अफ्रिका)

पिड्जनका अनुसार, डुबेर मर्नुको मुख्य कारण पौडी खेल्ने सिपको अभाव र वातावरणसँग घुलमिल नहुनु हो । ‘बाहिरका धेरै मानिस वयस्क भइसकेपछि अस्ट्रेलिया आएका छन्, उनीहरूले पौडी खेल्न र पानीमा आफूलाई बचाउने सिप सिक्न पाएका छैनन्’, उनी भन्छिन्, ‘र, पनि उनीहरू पानीमा सञ्चालन हुने जोखिमपूर्ण गतिविधिहरूमा संलग्न हुन्छन् ।’

त्यस्तै, पन्त भन्छन्, ‘नढाँटी भन्नुपर्दा, नेपालीहरूमा जोखिमलाई कम आँक्ने बानी छ । उनीहरू समुद्रलाई पनि नेपालकै नदीनालाका पानीजस्ता सोच्दा हुन् । सबभन्दा ठूलो गल्ती यही हो ।’

नेपालीहरू ख्याल–ख्यालमै डुब्ने गरेको पन्तको आँकलन छ । यस्ता घटनाको पछाडि नेपालको आम संस्कृतिले काम गरेको उनी बताउँछन् । पन्तले ‘संस्कृति’ भनेर नेपालीहरूको जोखिमलाई कम आँक्ने प्रवृत्तितर्फ सङ्केत गरेका हुन् ।

क्यान्बेरास्थित नेपाली दूतावासका अधिकारीहरू पनि यस्ता घटनामा लापरबाही केही हदसम्म जिम्मेवार रहेको बताउँछन् । नेपालीहरू मादक पदार्थ सेवन गरेर पौडी खेल्ने, सर्फिङ गर्ने गरेको पाइएको उनीहरू बताउँछन् ।

लाइफसेभिङ सोसाइटीकी अनुसन्धाता पिड्जनका अनुसार समुद्री वातावरणमा घुलमिल नभएका मानिसमा नै समुद्री क्रियाकलापमा बढी चाख हुन्छ र उनीहरू सिधै पानीमा हाम फाल्न चाहन्छन् । विदेश बस्ने नेपालीहरूका हकमा उनको भनाइ लागु भएको देखिन्छ ।

एउटा उदाहरण हेरौँ । चितवन र काठमाडौँमा हुर्किएका पिजे श्रेष्ठ छ वर्षको उमेरमा आफ्ना परिवारका साथ लागेर सन् १९९९ मा अस्ट्रेलिया पुगे । उनको अनुभवमा नेपालका नदीनालाका जल प्रवाह र प्रवृत्ति अस्ट्रेलियाको समुद्रको भन्दा बिल्कुलै फरक छ ।

अर्को कुरा, जल सुरक्षाको विषय अस्ट्रेलियाको पाठ्यक्रममै समेटिएको छ । विद्यार्थीलाई सानैदेखि सर्फिङको अभ्यास गराएर समुद्री किनारमा जान योग्य बनाइन्छ । श्रेष्ठ पनि विद्यालयमा प्रशिक्षित भएपछि मात्र सर्फिङ गर्न समुद्र गएका थिए ।

फरक वातावरणमा हुर्कनु कसैका लागि पनि ज्यान गुमाउनुपर्ने कारण बन्न नहुने उनी बताउँछन् । उनको विचारमा, फरक वातावरणमा हुर्कनु समस्या होइन, फरक वातावरणका लागि तयारी नगर्नु चाहिँ समस्या हो ।

‘नेपालबाट विदेश जाने युवकयुवतीले समुद्री सुरक्षाबारे तालिम पाएको हुँदैनन्’, श्रेष्ठ भन्छन्, ‘मुख्य समस्या यही हो ।’

समस्या विदेशको, समाधान नेपालमै

पिजे श्रेष्ठको भनाइले यो समस्या विदेशमा देखिए पनि यसको जरो नेपालमै छ । अतः नेपाली कामदार र विद्यार्थी विदेश उड्नु अगाडि नै उनीहरूलाई डुबानबाट बचाउन उचित कदम चाल्नुपर्ने देखिन्छ ।

टोफल, आइइएलटिएसजस्ता अङ्ग्रेजी भाषाका परीक्षा पास गर्नु मात्र विदेशमा सहज वातावरण बनाउन पर्याप्त हुँदैन । सम्बन्धित देशको भूगोल, संस्कृति र समाजबारे पनि पर्याप्त जानकारी हुनुपर्छ ।

सामुद्रिक देशहरूमा मनोरञ्जनका लागि लोकप्रिय रहेको समुद्र किनारमा निकै जोखिमपुर्ण पनि हुन्छ । श्रेष्ठ भन्छन्, ‘सामुद्रिक जोखिमहरूबारे नेपालमै जानकारी पाए उनीहरू मानसिक रूपले पनि तयार हुन भ्याउँछन् ।’

लेखक
दिवाकर प्याकुरेल

प्याकुरेल अनलाइनखबर अंग्रेजी संस्करणका संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?