+
+
Shares
सरकारलाई बैंकर्सको सुझाव :

‘कोरोनाबाट अर्थतन्त्रलाई जोगाउन अर्को कमिटी बनाऔं’

रोयल आचार्य रोयल आचार्य
२०७६ चैत २ गते २०:१८

४ चैत, काठमाडौं । कोरोनाकै कारण विश्व अर्थतन्त्रमा यस वर्ष गिरावट आउने पक्का छ । विश्वमा संक्रमण फैलिरहँदा नेपालको पर्यटन व्यवसाय ठप्प प्रायः बनिसकेको छ । नेपाल सरकारले विदेश जानेहरुका लागि श्रम स्वीकृति रोकिदिएको छ । यसबाट अर्थतन्त्रको टेकोको रुपमा रहेको रेमिट्यान्स घट्ने पक्का भएको छ ।

भाइरसको असर बैंकिङ क्षेत्रमा पनि पर्न थालेको छ ।

नेपालमा पनि यो भाइरसको संक्रमण भित्रिए नेपालको बैंकिङ क्षेत्र कस्तो होलान ? संक्रमणबाट जोगिन बैंकहरुको तयारी कस्तो छ ?

यिनै विषयमा हामीले नविल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका पूर्वध्यक्ष अनिलकेसरी शाहलाई सोध्यौं ।

शाहले अहिले नै बैंकलाई यसले असर गरिसकेको नभए पनि अगामी दिनमा बैंकिङ क्षेत्रमा ठूलो असर पर्ने बताए । तर, ग्राहकका सेवामा भने सकेसम्म बैंकहरु खटिरहने उनले बताए ।

प्रस्तुत छ, शाहसँग गरिएको कुराकानीको सम्पादित अंश –

विश्वभर यतिबेला कोरोना भाइरसको त्रास छ, यसले बैंकिङ क्षेत्रलाई कत्तिको असर परेको छ ?

संसारमै अहिले कहिल्यै अनुमान पनि नगरिएको वातावरण आइपरेको छ । कोभिड-१९ भन्ने भाइरसका कारण शारीरिक सन्तुलनमात्रै होइन, आर्थिक सन्तुलन पनि बिगारेको छ । चीनको एउटा सहरबाट सुरु भएको भाइरसले संसारकै मुख्य स्टक मार्केटदेखि लिएर समग्र अर्थतन्त्रलाई उथल-पुथल गरेको छ । हामीले देखेको नेपालको सन्दर्भमा मुख्य व्यापार हो । यसमा असर परिसकेको छ ।

अधिकांश तीनबाट आउने सामाग्रीहरु रोकिएका छन् । जुन व्यापारको आकार छ त्यो घटेको छ । दोस्रो भनेको पयर्यटन हो । आन्तरिक तथा बाहृय पर्यटन दुबै नै ठप्प बनेको छ । अघिल्लो साता लगातार ३ दिन बिदा थियो । शनिबार, महिला दिवस अनि होली । सामान्य समयमा यो ३ दिन बिदा भएको भए नेपालका आन्तरिक पर्यटनका क्षेत्ररहरु भरिभराउ हुने थिए । पोखरा, लुम्बिनी, सौराहा, बर्दियालगायतका ठाउँहरु भरीभराऊ हुने थिए ।

आन्तरिक पर्यटनले यी क्षेत्रहरु भरिभराउ हुने थिए । विदेशी पर्यटकहरु आउन त बन्द नै भइसकेको छ । आन्तरिक पर्यटकहरु पनि अहिले घुम्न निस्केका छैनन् ।

पर्यटन भनेको यस्तो क्षेत्र हो कि यसले होटल क्षेत्रलाई मात्रै असर गर्छ भन्ने हुँदैन । पर्यटन खस्कँदा पोल्टीफार्मको हृयाचरीमा पनि असर परेको छ । स्ट्रबेरी फार्मिङमा पनि असर गरेको छ । तरकारी फार्म, माछा पालन गर्नेदेखि लुगा धुने धोबीसम्मलाई असर परेको छ । अर्को महत्वपूर्ण कुरा, रेमिट्यान्समा असर ठूलो पर्दैछ ।

अहिले नै रेमिट्यान्स आउने क्रम रोकिएको त छैन । तर, हाम्रा श्रम गन्तव्यहरु ठप्प भएका छन् । कतारले रोक्यो, त्यसपछि अन्य देशमा पनि रोकिए । अहिले त हाम्रै सरकारले श्रम स्वीकृति अनिश्चितकालीन रुपमा बन्द गरेको छ । यसले रेमिट्यान्समा भयंकर असर गर्दैछ । अहिले कतारले नेपालीलाई आउन नदिने भनेको छ, भोलि त्यहाँ भएको नेपाली फर्काउनु पर्ने स्थिति पनि सिर्जना हुन सक्छ ।

त्यसपछि त रेमिट्यान्समा ठूलो धक्का लाग्नेछ । कोभिड फेरी भूकम्प जस्तो होइन । भूकम्प त आयो गयो । भूकम्प गइसकेपछि अब बनाऔं भन्न मिल्छ । तराई आन्द्योलनले यस्तेा भयो अव सुधार हुन्छ भने जस्तो अवस्था पनि छैन । अहिलेसम्म त पशुपतिनाथको कृपाले छिमेकी राष्ट्रहरु भन्दा धेरै कम डर छ ।

तर, भोलि संक्रमण फैलिएको अवस्थामा त नेपालले थेग्नै नसक्ने अवस्था आउन सक्छ । यसको अन्त्य कहिले र कसरी हुन्छ भन्ने कुरा कसैले भन्न सक्दैन । हाम्रो अनुमानमा यो आर्थिक वर्षमाआर्थिक प्रगति गाह्रो पर्छ । अब सकारात्मक रुपमा अन्य क्षेत्र जस्तै वित्तीय क्षेत्रमा पनि असर परेको छ ।

अहिले ब्याजको मिनाहा गर्नुपर्छ भन्ने कुरा आइसक्यो । ब्याजको मिनाहामात्रै होइन, सरकारले करको कुरा पनि हेर्नुपर्‍यो । कसरी हुन्छ, प्रोत्साहन कसरी हुन्छ भन्ने कुरा सोच्नुपर्‍यो । कोभिडले मान्छेमात्रै होइन, अर्थतन्त्र नै बिरामी पर्दैछ, यसलाई कसरी स्वस्थ बनाउने भन्ने विषयमा सोच्नुपर्छ ।

अहिले सरकारले कोभिड समस्या समाधानका लागि उच्चस्तरीय समिति बनाएको छ । अर्को कमिटी अर्थतन्त्रलाई पर्ने असर र समाधानका लागि तत्कालै बनाउनुपर्छ । राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एफएनसीसीआई, चेम्बर अफ कमर्श, बैंकर्स संघ लगायतका प्रतिनिधि सम्मिलित कमिटी बन्नुपर्छ ।

अर्थतन्त्रमा लागि महत्वपूर्ण सबै क्षेत्र समेटेर तत्कालै समिति बनाइहाले अर्थतन्त्रलाई रोगी हुन नदिने रोग लागिहाले कसरी स्वस्थ हुने भनेर समाधान गर्न सकिनेछ ।

कोभिड-१९ ले नेपालको बैंकिङ क्षेत्रमा अहिले असर परिसकेको छैन ?

बैंकिङ क्षेत्रमा यसको असर अहिले परिसकेको छैन । हामी ‘सेकेन्डरी इम्प्याक्ट’ भन्छौं । तपाई हाम्रो बैंकमा आउदा माक्स लगाइरहेको देख्नु भयो । स्टाफहरुले स्वास्थका लागि आवश्यक सावधानीहरु अपनाइरहुनुभएको छ । बैंकमा पर्ने मुख्य असर त्यो हो, जब हाम्रा ग्राहकहरुलाई यसको असर पर्छ । अहिले हाम्रा ग्राहकहरु पर्यटन व्यवसायमा हुनुहुन्छ, अन्य धेरै क्षेत्रमा हुनुहुन्छ । यसले नछुने भनेको कुनै पनि क्षेत्र छैन भन्ने लाग्छ ।

मेडिकल क्षेत्रबाहेक अन्य सबै क्षेत्रलाई यसको असर पर्छ । मलाई जहाँसम्म लाग्छ, यो आउने महिनादेखि यसको असर पर्छ । हाम्रो ब्याज पेमेन्ट हुँदैन । किस्ता पेमेन्ट हुँदैन । अनि त्यसपछि चाहिँ यसको ठूलो प्रभाव हामीले पनि देख्न सुरु गर्न सक्छौं ।

नेपालमा यसको संक्रमण नै भित्रिहाल्यो भने, बैंकिङ क्षेत्रलाई त उक्सन मुस्किल पर्ला ?

नेपालमा त्यत्रो ठूलो भूकम्प जाँदा सरकारभन्दा पछि धेरै काम गर्ने भनेको वित्तीय क्षेत्र हो । त्यो हामीले बिर्सन हुँदैन । किनभने, त्यो बेलामा पैसा चाहियो भन्नेलाई बैंकले पैसा दिएकै थिए । पैसा राख्नु भन्नेका बैंकले सुरक्षित राखिदिएका थिए । यसको असर पनि बैंकिङ क्षेत्रमा हुँदैन भन्ने होइन, हुन्छ नै ।

तर, एउटा प्रतिवद्धता के छ भने जे-जस्तो भए पनि हामी सकेसम्म सेवा हामी प्रदान गर्छौं । धेरै समस्या आयो, हामी नेपाली जनतालाई सेवा दिँदैनौं भन्न सक्दैनौं । मेरो पैसा यहाँ राख्न सक्छु अथवा म पैसा झिकेर यो गर्न सक्छु भन्ने ढुक्क भयो भने पीडा पनि हुन्छ । यसका लागि हामी प्रतिवद्ध छौं । हामी वित्तीय सेवामा सकेसम्म सधैं तत्पर रहनेछौं ।

भोलि भाइरसले महामारीकै रुप लिए पनि बैंकिङ क्षेत्रले सेवा दिइरहन सक्ला त ?

अहिले इटलीमा ठूलो संक्रमण फैलिएको छ । सरकारले त्यहाँ आपातकाल नै घोषणा गरिसकेको छ । त्यहाँको सरकारले नै सबै बन्द गर्नु भनेको छ । सरकारले दिएको निर्देशन त सबैले मान्नैपर्छ । वित्तीय क्षेत्रको त्यो अधिकार छैन, ता कि मन लागेकेा बेलामा बन्द गरुन् ।

बिदा पनि हामी नेपाल राष्ट्र बैंकले भनेको दिनमा मात्रै दिन्छौं । बिदाकै दिन बैंक खोल भनेको बेलामा खोल्छौ पनि । भोलि समग्र अवस्था हेरेर सरकारले सबै क्षेत्र बन्द गरौं, बैंक पनि बन्द गरौं भन्यो भने हामीले खोलेर सेवा दिन मिलेन । सरकारले नै भनेको अवस्थामा अलग कुरा भयो, नत्र जहिलेसम्म सक्छौं, हामी सर्वसाधारणको सेवामा खटिरहने छौं ।

बैंकिङ क्षेत्रले यसबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीहरु चाहिँ के-के हुन सक्छन् ?

सर्बप्रथम त, हाम्रो वित्तीय क्षेत्रमा कार्यरत जनशक्ति छ, वहाँहरुलाई सुरक्षित राख्नुपर्छ मान्छे बिरामी भए भने बिल्डिङले सुरक्षा दिँदैन । अहिले हृयाण्ड स्यानेटाइजर, माक्स लगायतका वस्तुहरु सुरक्षाका लागि प्रयोग गर्नु परो । नबिल बैंकमा यो सुरु भइसकेको छ, अन्य सबै बैंकहरुमा पनि यो हुनुपर्छ ।

बैंकमा काम गर्ने मान्छेलाई नै म अफिस गएर रोग्ने हो कि भन्ने डर लाग्यो भने वहाँहरुले सेवा दिन सक्नुहुन्न । वहाँहरुमा म सुरक्षित छु, भन्ने बनाउनुपर्‍यो ।

दोस्रो कुरा, कुन क्षेत्रमा धेरै प्रभाव पर्न सक्छ भन्नेबारे पनि जानकारी राख्नु पर्‍यो । यो हामीले गरिहेका छौं । ग्राहकहरुलाई तपाई कहाँ अप्ठेरो परिरहेको छ, हामीले के मद्दत गर्न सक्छौं भन्ने कुरा हेर्नु पर्‍यो । बैंकर्स संघले पनि कोभिडले के असर गर्छ भनेर छलफल भएको छ । ब्याज मिनाहाभन्दा पनि यसबाट बच्ने ?

कसरी सुरक्षित रहने भन्नेतर्फ शतर्क रहनुपर्‍यो । ब्याज, मिनाहा, कर मिनाहामात्रै भनेर केही हुँदैन । हामी सबैलाई थाहा छ, पाँचतारे होटल यतिधेरै बनिरहेको छ, उनीहरुको हालत के होला ? कर्मचारीहरुलाई तलब खुवाइरहनुपरेको छ, खर्च भइरहेको छ । तर, पर्यटक नआउने हो भने उनीहरु समस्यामा पर्छन् । विदेशी जाने ठमेलको रेस्टुरेन्ट होस् या नेपाली जाने अन्य ठाउँको रेस्टुरेन्ट होस सबै खाली छ ।

वहाँहरुको खर्च ठूलो छ, यो समस्या भूकम्पभन्दा पनि ठूलो छ । तराई आन्दोलनका कारण मुलुकको अर्थतन्त्रमा जति क्षति पुगेको थियो त्यसको १० गुणा बढी अहिले क्षति पुग्दैछ । यसको प्रभाव मैले देखेको यो हो । नेपाली जनताले तराई आन्दोलन हुँदा जसरी नेपाली जनता एकजुट हुनुभयो क्षमता फेरि नेपालीले देखाउनुपर्ने अवस्था आउन सक्छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा नै सम्भावित कोरोना प्रभावित क्षेत्रहरु पहिचान गरी त्यस क्षेत्रमा सहुलियत दिनुपर्ने कुरा उल्लेख गरेको छ, यो आवश्यकता छ र ?

यो आवश्यकता छ । साधारण तरिकारले व्यवापार व्यवसाय व्याज तिर्नुस, साँवा घटाउनुस् भन्दा अप्ठेरो स्थितिमा अलि गाह्रो हुन्छ । एउटा राम्रो फुटबल खेलाडी छ, उ स्ट्राइगर हो । उसको खुट्टा भाँच्चियो भने उसलाई तँ स्ट्राइकर होस् जा गोल हान्, तैंले गोल हान्नैपर्छ भनेर हुन्छ त ? तर, उसको खुट्टालाई राम्ररी ठीक हुन दियो भने पहिलाको भन्दा पनि राम्ररी खेल्न सक्छ ।

हामीमा यस्तै भएको छ । कसरी मजवुत बनाउने भन्ने कुरामा हामी सबैलाग्नुपर्छ । मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षामा राष्ट्र बैंकले बोलेको कुरा एकदमै ठीक छ । आउने दिनमा बोलेको कुराको कार्यान्वयन पनि हुनुपर्छ भन्ने लाग्छ ।

नबिल बैंककै कुरा गरौं, कोभिड-१९ बाट बच्न कस्ता सावधानी अपनाइहनुभएको छ ?

हामीले आवश्यक सतर्कता अपनाउन सुरु गरिसकेका छौं । कर्मचारीहरुलाई माक्स अनिवार्य गरिएको छ । सबै शाखाहरुमा हामीले हृयाण्ड स्यानिटाइजर पठाइसकेका छौं । हामी क्रमिकरुपमा थप सुरक्षा सतर्कता अपनाउँदै जाने छौं ।

एकचोटि सबै गर्नेभन्दा पनि हामी स्टेपबाइ स्टेप कसरी हुन्छ सतर्कता अपनाउने नीति लिएका छौं । अहिले अन्य देशहरुमा जस्तो नेपामालमा असर छैन । हामीले स्टाफहरु सुरक्षित हुनुहोस् भन्ने चाहेका छौं । हाम्रोमा आउनुहुने ग्राहकहरु पनि यहाँ सुरक्षित छ भन्ने महशुस गर्न सक्नुहोस् भन्ने हामीले चाहेका छौं । हामीले आन्तरिक तथा बाहृय भ्रमणहरु रोक लगाइसकेका छौं । ठूलो बैठक पनि हामी नगर्ने भनिसकेका छौं ।

बैंकका स्टाफ त सुरक्षित हुनु भयो, बाहिरबाट आएका ग्राहकहरुबाट कसरी सुरक्षित हुने भन्ने सावधानी पनि त आवश्यक पर्ला नि ?

हामीले सतर्कताको दोस्रो स्टेपमा त्यो पनि सोचेका छौं । हामी आगामी साताबाट बैंकमा आउनुभएका ग्राहकरुलाई पनि सुरक्षित हुनुहुन्छ, हुनुहुन्न भन्ने कुरा ख्याल गछार्छौं । बाहिर तापक्रम नाप्ने काम पनि हामी गर्नेछौं ।

हाम्रो स्टाफ त ल सुरक्षित हुनुहुन्छ, अरु ग्राहकलाई सर्ला कि भनेर एकपटक कर्मचारी तथा ग्राहक सबैलाई एक-पटक ढोकामै स्क्रिनिङ गर्ने, जो बिरामी भेटिनुहुन्छ, वहाँलाई सेल्फ क्वारेनटाइनमा बस्न सुझाव दिनेछौं ।

बैंकको वित्तीय अवस्था कस्तो छ ?

हाम्रो बैंकमात्रै होइन, सबै बैंकहरुको वित्तीय अवस्था चालु आर्थिक वर्षको ६ महिनासम्म नाजुक नै थियो । सातौं महिनासम्म आइपुगदा धेरै राम्रो भएको छ । यो वर्षमा मात्रै हामीले ४० वटा शाखा कार्यालयहरु खोलेका छौं । यसले राम्रो कारोबार गर्न केही समय लाग्छ ।

अन्य बैंक तथा वित्तीय संस्थाहरुले मर्जर/एक्विजिशनबाट ग्रोथ गरे भने हामीले अर्गानिक ग्रोथ गरिरहेका छौं । हामीले पहिले देखि यसमा ध्यान दिइरहेका छौं । हामीले लगानीका लागि नयाँ क्षेत्रहरु पनि खोजिरहेका छौं । हाम्रो वित्तीय अवस्था मजबुत छ, थप मजबुत बनाउने योजनमा हामी छौं ।

धेरै सूचकहरुले नविल बैंक सधैं पहिलो नम्बरमा नै देखिन्छ, तर पछिल्लो समय अन्य बैंकहरुले प्रतिष्पर्धामा उछिन्लान् कि जस्तो देखिएको छ । के नविल बैंकको साख गुम्ने देखिएको हो ?

दुईवटा ठूलो वाणिज्य बैंकहरु मर्ज भए । मर्ज भएपछि उनीहरुको शाखा सञ्जाल, निक्षेप, कर्जा सबै हाम्रोभन्दा बढी भयो । वहाँहरुले नाफामा पनि हामीजस्तै कमाउनुभएको छ । तर, लगानीकर्ताले प्रतिफल कति पाए त ? जस्तै- मैले १८ अर्ब लगानी गरेको छु, उसले ८ अर्ब रुपैयाँ लगानी गरेको छ । १८ अर्ब गर्नेले ६ अर्ब कमायो अनि ८ अर्ब लगानी गर्नेले ५ अर्ब कमायो । अब भन्नुस् को नम्बर वान ? यहीँ नै हो ।

अर्को कुरा, कुनै पनि सरकारी बैंकसँग प्रतिष्पर्धा गर्न सजिलो छैन । अर्बौं रकम ब्याज नतिर्नुपर्ने गरी आइराख्ने भए मेरो पनि ब्यालेन्ससिट अर्कै हुने थियो । सरकारी बैंकको दायित्व अर्कै छ । वहाँहरुले सेवा पनि अर्कै किसिमले गरिरहनुभएको छ । वहाँहरुको राम्रोमात्रै होइन, नराम्रो पनि धेरै छ । नेपालको मात्रै होइन, अन्य देशको पनि सरकारी बैंक त्यस्तै हो ।

इन्डियाको बैंक अफ इन्डियासँग कसले प्रतिस्पर्धा गर्ने ? निजी क्षेत्रका बैंकहरुसँग त हामी प्रतिस्पर्धामा सधैं छौं । नम्बर वान केमा हुने भन्ने कुरा महत्वपूर्ण हो । मेरो टिमको लक्ष्य काम बढी गर्नुपर्छ र काम बढी गरेपछि प्रतिफल पनि राम्रो आउनुपर्छ भन्ने हो । लगानीकर्ताहरुले राम्रो प्रतिफल खोज्नुहुन्छ, त्यो हामीले दिएका छौं ।

हामी पनि मर्जर एक्विजिशनका लागि सकारात्मक छौं । क वर्गको राम्रो बैंक पाएको खण्डमा हामी मर्जर एक्विजिशनमा जान्छौं । गर्नका लागिमात्रै होइन, गरिसकेपछि त्यसले राम्रो प्रतिफल पनि आउनुपर्छ ।

नविल बैंकको सफ्टवेयरले नियम विपरीत पैसा खाताबाट काट्यो भनेर एकजना तपाईंहरुकै ग्राहकले गुनासो गर्दै हिँड्नुभएको रहेछ नि ?

हाम्रो सफ्टवेयर केही पनि परिवर्तन भएको छैन । नाफाभन्दा पनि हाम्रो कम्प्लायन्स महत्वपूर्ण कुरा हो । हामी ग्राहकको विश्वास गुम्न दिँदैनौं । तर, अहिले तपाईंले कुरा गर्नुभएको एकजना ग्राहक जो अटो लोनको हुनुहुन्छ । हामी राष्ट्र बैंकको नीतिमा पूर्ण प्रतिवद्ध छौं । हाम्रो सफ्टवेयरले जे गर्छ, त्यो रेगुलेशनबाटै गर्छ ।

यो ग्राहकको फाइदाकै लागि हुन्छ । यो कुरा कसरी उठ्यो भन्ने कुरा पनि बुझ्नुपर्‍यो । कुनै एक व्यक्तिले कर्जा लिएर तिरेन । कर्जा लिएर नतिरेपछि एक्शन त बैंकले लिनैपर्‍यो । किनभने, यो मेरो पैसा होइन, सर्वसाधारणको पैसा हो । कर्जा नतिरेपछि लिएको गाडी बेच्नुस, अथावा हामी बेच्छौं यस्ता कुरा भए होलान् । यो कुराको शुरुआत ऋण नतिरे भएको हो । ऋण तिर्ने मान्छेले यो कुराको शुरुआत गरेको होइन ।

जसले ऋण तिरेन अनि उसैले यो कुरा उठाउनुभयो । ऋण नतिरेपछि बैंकले रिकभरी गर्ला कि भनेर यस्तो कुरा उठाएको हो । हाम्रो लाखौं ऋणी हुनुहुन्छ, वहाँहरुले यस्तो कुरा गर्नुभएको छैन । ऋण राम्ररी तिरिरहेको मान्छेले यस्तो कुरा गर्नुपर्ने हो त हाम्रो गल्ती भएको भए । जसको इज्जतमा धेरै गर्व छ, उसलाई इज्जतमा प्रश्न उठाउँदा दुःख लागिहाल्छ ।

यो कुराले हामीलाई दुःख लागेको छ । तर हामी ढुक्क छौं, हाम्रोमा त्यस्तो समस्या केही छैन । हाम्रो बोर्डमा पनि यो विषयमा छलफल भयो । हामी हाम्रो नियमनकारी निकायमा कुरा गर्छौं । सञ्चार माध्यममा आएको कुरा भएकाले हामी यो विषयमा प्रेस काउन्सिलमा पनि निवेदन हाल्छौं । सत्य रहेछ भने त हामीले दण्ड भोग्न तयार छौं । तर, असत्य कुराले संस्थाको इज्जतमाथि प्रश्न उठाउनु राम्रो होइन ।

ग्राहकहरुले नै बैंकले दुःख दियो भन्ने किसिमका विषय उठान गरेको पाइन्छ, यहाँ बैंकले नै बुझाउन नसकेको हो कि ?

कर्जा लिएपछि धेरै मान्छेहरुले नियमित नै तिर्नु हुन्छ । नियमित तिर्दा तिर्दै पनि केही मान्छेहरुले कहिले काहीँ तिर्न सक्नुहुन्न र वहाँहरुले म बिरामी परे वा अन्य कारणले तिर्न थोरै ढिला भयो भन्नुहुन्छ । मलाई समस्या परो, म चाँडै तिर्छु भन्नेका लागि बैंकले पनि अप्ठेरोमा पार्दैन । तर, केही ग्राहक यस्ता पनि हुन सक्छन् । पैसा छ तर म तिर्दिनँ, लु के गर्छस् गर भन्नेखालका पनि हुन्छ ।

सर्वसाधारणको निक्षेप लिएर बैंकले लगानी गरेको हुन्छ । ऋण दिएपछि ऋण उठाउनु त पर्‍यो । मोटर किन्नुभएको छ, ऋण तिर्न सक्नु भएन भने हामी मोटर बेच्नुस् भन्छौं । नभए लिलामाीमार्फत हामी बेचिदिन्छौं । पैसा भएर पनि तिर्न नचाहनेहरुले भने अर्को बाटो खोज्नु हुन्छ । सुतेको मान्छेलाई उठाउन सजिलो हुन्छ । तर, सुतेजस्तो गरेको मान्छेलाई उठाउन धेरै गाह्रो हुन्छ । यहाँ भएको पनि त्यही हो ।

ग्राहकलाई असन्तुष्ट बनाएर बैंक अघि बढ्न सक्दैन । हामीसँग ३५ वर्ष अघिदेखिकै ग्राहक अहिलेसम्म पनि निरन्तर हुनुहुन्छ । हाम्रो मनस्थिति ठग्ने भएको भए, स्थापनाकालदेखिका हजारौं ग्राहकहरु अहिलेसम्म हामीसँगै रहनुहुने थिएन । अघिको विषयमा सत्य-तथ्यमा पुग्न चाहान्छौं । जसले कम्प्लेन गर्नुभयो, वहाँहरु पनि अगाडि आउनु पर्‍यो । हाम्रो अगाडि नआए पनि राष्ट्र बैंकको अगाडि जानुपर्‍यो ।

कसरी बैंकले ठग्यो भन्ने कुरा भन्नुपर्‍यो । यहाँ लोन तिरेको छ कि छैन भन्ने कुरा पनि होला । मैले लोन त तिरेको छैन । तर, पनि बैंकले ठग्यो ? लोन तिर्ने इच्छा छ कि छैन भन्ने कुरामा पनि त्यो त म तिर्ने इच्छा छैन भन्ने होला ।

हामीकहाँ अन्य बैंकका धेरै ग्राहकहरु पनि आउनुभएको छ । तपाईंहरुको ब्याज पनि तलमाथि हुँदैन रहेछ भन्नुहुन्छ । तपाईंहरुको शुल्क पनि धेरै रहेन छ भन्नुहुन्छ । हामी पारदर्शी र ग्राहकमुखी सेवा दिन प्रतिवद्ध छौं ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?