
१३ चैत, बिराटनगर । कोरोना संक्रमणको त्रास फैलिएपछि सरकारले आफ्नो सम्पूर्ण ध्यान यसको रोकथाम र नियन्त्रणमा लगाएको बताउँदै आएको छ । कोरोना जोखिमका कारण देश मंगलबार यता लकडाउन भएको छ । तर, स्वास्थ्य मन्त्रालयले सुरक्षाको उचित प्रवन्ध गर्न नसक्दा कोरोनाविरुद्ध लड्ने टोलीको फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु आफैं असुरक्षित छन् ।
कोरोना संक्रमित र आशंकामा उपचारका लागि आउने विरामीको जाँचका लागि खटिएका स्वास्थ्यकर्मी मनोबैज्ञानिक त्राससँगै जोखिममा छन् ।
बुधबार दिउँसो कोसी अस्पतालको इमरजेन्सी वार्डमा ६ स्वास्थ्यकर्मी थिए । दैनिक दुईहजार हाराहारी बिरामीको आउजाउ हुने कोसी अस्पताल सुनसान थियो । पाइला राख्ने ठाउँ नपाइने इमरजेन्सी वार्डका बेडहरु खाली थिए ।
इमरजेन्सी वार्ड प्रवेशद्धार बन्द थियो । भित्र रहेका ६ जना स्वास्थ्यकर्मी ‘हाइअलर्टमा’ थिए । अस्पतालमा विरामी नभए पनि स्वास्थ्यकर्मीहरु भने फुर्सदमा थिएनन् । सतर्कता सामाग्रीले अनुहार ढाक्ने कोसिस गरेका उनीहरुको चिन्ता र तनाव आँखामा प्रष्ट झल्किन्थ्यो ।
सुनसान अस्पतालको इमरजेन्सी अगाडि एउटा एम्बुलेन्स आयो । एउटा रोकिन नपाउँदै अर्काे एम्बुलेन्स पनि इमरजेन्सी अगाडि रोकियो ।
सामान्य सतर्कता अपनाएका व्यक्तिले इमरजेन्सीमा छिर्ने बैकल्पिक ढोका बन्द गरे । च्यानल गेटबाट एम्बुलेन्स चालकलाई सोधे ‘कस्तो बिरामी ? एम्बुलेन्स चालकले ‘कोरोना आशंकामा पठाएको बिरामी’ भने ।
रतुवामाई नगरपालिकाबाट बिरामी लिएर आएको बताएका चालकले मास्क बाहेक अन्य सुरक्षाका सामग्री लगाएका थिएनन् । एम्बुलेन्सको पछाडिबाट ओर्लिएका एकजना पुरुषले कागज देखाउँदै भने, ‘रतुवामाई नगरपालिकाबाट आएको ।’
सुरक्षाका लागि पानी पर्दा ओड्ने रेनकोट लगाएकी स्वस्थ्यकर्मीले स्लिप समातिन् ।
एम्बुलेन्समा युवक थिए, जो भारतको चेन्नेइबाट आएका ती युवकलाई बान्तासँगै जोरो पनि आएपछि स्थानीयले कोसी अस्पतालमा पठाएका रहेछन् ।
बिरामीलाई आइसोलेसनमा अगाडि जान भन्दै स्वास्थ्यकमीहर्रु आवश्यक काजगी प्रकृया मिलाउनतिर थाले । इमरजेन्सीमा रहेका ६ जना मध्ये एकजनाले इमरजेन्सी वार्डको गेट वरपर औषधि छर्किए ।
एउटा एम्बुलेन्स चालकको पालो नसकिँदै अर्काे एम्बुलेन्सका चालक पनि गेट अगाडि आएर उभिए ।
गेटमै भएका स्वास्थ्यकर्मीले अघिल्लो एम्बुलेन्सलाई जस्तै प्रश्न गरे कस्तो बिरामी ?
चालकले विष खाएको बिरामी भएको बताए । यो बेलामा पनि विष खाएको बिरामी ? चिकित्सकले भने नोबेल (नोबेल मेडिकल कलेज) लैजानुहोस् ।’
एम्बुलेन्सलाई विदाइ नगर्दै अधबैंशे महिला र पुरुष गेट अगाडि आए । कोरोनाबारे अनविज्ञजस्ता देखिने महिलाले पेट अत्याधिक दुखेको बताइन् । इमरजेन्सीमा रहेका स्वास्थ्यकर्मीले ‘औषधि खानुहोस्’ भन्दै कागजमा प्रेस्किप्सन लेखेर उनीहरुलाई पठाए ।
तीन फरक-फरक प्रकृतिका बिरामी आउँदा च्यानल गेट खुलेन । मंगलबार भने गेट खुल्लै थियो । तर, शङ्कास्पद बिरामीहरु भित्रै पसेपछि बुधबार बिहानदेखि चेन गेटभित्र चिकित्सक, बाहिर बिरामी बस्ने अवस्था मिलाइएको हो ।
बुधबार अपराह्न तीनजना बिरामीलाई झेलेका स्वास्थ्यर्मी अत्तालिएका देखिन्थे । तर, उनीहरु सम्हालिएर पुनः आफ्नो डिउटीमा लागे ।
‘पीपीई (प्रशनल प्रोटेक्टिभ इक्युपमेन्ट) छैन, कसरी काम गर्ने ?’ रेनकोट लगाएकी नर्सले भनिन्, ‘एउटै गम्बुट (जुत्ता) त पालो गरी-गरी लगाउनुपर्छ,’ उनले पीपीई नहुँदा आफूहरुलाई काम गर्न पनि जोखिम भएको बताइन् ।
अस्पतालले इमरजेन्सीमा खटिने स्वास्थ्यकर्मीका लागि पीपीईका नाममा रेनकोट, गम्बुट, मास्क, टाउकोमा लगाउने टोपी अनुहार छोप्नका लागि प्लाष्टीस्क दिएको छ । बजारबाट किनिएको गम्बुट रेनकोट दुवैले पूर्ण सुरक्षा दिँदैन । तर, आंशिक सुरक्षाका लागि भए पनि यसरी काम गर्नुपरेको उनीहरुले बताए ।
शङ्कास्पद बिरामी आए नर्सले गएर पहिले हेर्नुपर्छ । तर फ्रन्टलाइनमा काम गर्ने उनीहरु नै असुरक्षित छन् । बुधबार बिहान पीपीई नपाएपछि स्वास्थ्यकर्मीहरुले काम नगर्ने चेतावनी दिएका थिए । स्वास्थ्यकर्मीले असन्तुष्टि जनाएपछि प्रदेश सरकारले पीपीई दिने प्रतिवद्धता व्यक्त गर्यो ।
मेसु भन्छिन् – अब पीपीई आफैं बनाउँदैछौं
कोसी अस्पतालकी मेडिकल सुपरीटेण्डेन्ट डा. संगीता मिश्र पीपीई नपुगेपछि अस्पतालले आफैं बनाउन लागेको बताइन् ।
प्रदेश सरकारले पठाएको पीपीई शङ्कास्पद व्यक्तिको स्वाब संकलन गर्दा प्रयोग हुन्छ । अन्य अवस्थामा प्रयोगका लागि छुट्टै बनाउन लागिएको उनले बताइन् । यसरी निर्माण गरिने पीपीई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार हुने उनले दाबी गरिन् ।
‘अहिले रेनकोटको लगाएर काम गरिरहेका छौं,’ उनी भन्छिन् ‘संकास्पद व्यक्तिको स्वाब निकाल्नुपर्दा सरकारले दिएको सामग्री प्रयोग हुन्छ ।’
प्रतिक्रिया 4