
१७ चैत, काठमाडौं । नेपाल र भारतको सीमा दार्चुलापारि धार्चुलामा अलपत्र परेकाहरूलाई नेपाल प्रवेश गर्न नदिने निर्णय प्रशासनले गरेको छ । स्थानीय प्रशासनले स्वदेश आउन नदिएपछि तीन जना नेपाली भने महाकाली नदीमा पौडी खेल्दै नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली भूमिमा आउनासाथ प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको छ ।
कोरोना भाइरस रोकथामको उद्देश्यले गरिएको लकडाउनपछि भारतका विभिन्न स्थानबाट घर फर्किन लागेका पाँच सय ६३ जना नेपाल–भारत सीमा धार्चुलामा तीन दिनदेखि अलपत्र छन् । लामो समयदेखि सीमा नाका नखोलिएपछि दार्चुलाका दुई र बैतडीका एक गरी तीन जना नेपालीहरु सोमबार दिउँसो महाकालीमा हामफालेर पौडी खेल्दै नेपाल आएका थिए । अर्धनग्न उनीहरुलाई नेपाल प्रवेश गर्नासाथ प्रहरीले पक्रेको थियो ।
भारतमा अलपत्र रहेकाहरूले घर फर्कन संघर्ष गरिरहेका बेला सरकारले प्रवेश नदिने निर्णय गरेको हो । सोमबार बिहान गृहमन्त्रालयको निर्देशनपछि भारतीय पक्षसँग छलफल गरी धार्चुलामा रहेका नेपालीलाई लडकडाउनको अवधिभर नेपाल प्रवेश गर्न नदिने निर्णय भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार, धार्चुलामा रहेका सबै नेपालीलाई खाने-बस्ने प्रवन्ध भारतीय सरकारले गर्नेछ ।

‘लकडाउनको पालना गर्दै नेपालको सीमा धार्चुला (भारत) मा रहेका नागरिकलाई नेपाल प्रवेश गर्न नदिने निर्णय भएको छ,’ प्रजिअ पौडेलले अनलाइनखबरसँग भने, ‘उनीहरूको बसोबास, खानपानलगायतका सबै व्यवस्थापन भारतले गर्नेछ । केही सहयोग आवश्यक परे हामीले पनि सहजीकरण गर्छौं ।’
सीमा नाका धार्चुलामा रोकिएका नेपालीहरुलाई चार समूहमा विभाजन गरेर भारतीय पक्षले स्थानीय विद्यालय लगायतका सार्वजनिक स्थान राखेको प्रजिअ पौडेलले बताए ।
नेपालतर्फ अलपत्र परेका भारतीयको भने आफूहरूले नै व्यवस्थापन गर्ने उनले जानकारी दिए । यद्यपि, नेपाली भूमिमा अलपत्र परेको भनेर अहिलेसम्म कुनै पनि भारतीय नागरिक सम्पर्कमा नआएको उनले बताए ।
यसै सन्दर्भमा हामीले दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसँग कुराकानी गरेका छौं । कुराकानीको सारसंक्षेपः
दार्चुलापारि धार्चुला (भारत) मा अलपत्र नेपालीलाई नेपाल ल्याउने के तयारी हुँदैछ ?

लकडाउनको पालना गराउन हामी प्रतिबद्ध छौं । त्यसैले दार्चुलाको पारि धार्चुला (भारत) मा रहेका नेपालीलाई प्रवेश गर्न नदिने निर्णय हामीले गरेका छौं ।
भनेपछि ३ दिनदेखि खुला आकाशमा भोकभोकै रहेका नेपालीले घर फर्कन नपाउने भए ?
हो । अब तिनीहरू त्यहीँ बस्छन् । हामीले यसको चाँजोपाँजो मिलाएका छौं ।
कसरी मिलाउनु भएको छ, चाँजोपाँजो, बताइदिनुहोस् न ?
भारततर्फ विद्यालय र सार्वजनिक भवन खाली रहेका छन् । भारतीय पक्षसँग छलफल गरेर धार्चुलामा रहेका नेपालीलाई ४ स्थानमा व्यवस्थापन गर्ने सहमति बनेको छ । सहमतिअनुसार, खाने तथा बस्ने व्यवस्था भइसकेको जानकारी हामीले पाएका छौं । स्रोत साधनको अभाव भएमा भारतलाई हामीले पनि सघाउँछौं । यो कार्यमा दुबैतर्फका उद्योग वाणिज्य संघ, एसपी, एसएसबी, कोर्टवली र जिल्ला प्रशासन कार्यालयका समकक्षीले साथ दिनुभएको छ ।
धेरै संख्या नेपाली हुँदा तिनको स्वास्थ्यबारे पनि चिन्ता व्यक्त भइरहेको छ । स्वास्थ्य परीक्षणको प्रवन्ध पनि मिलाइएको छ कि ?
आफ्ना देशका नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौं । गम्भीर भएर नै हामीले उहाँहरूको व्यवस्थापन उतै गरेका हौं । रह्यो कुरा, स्वास्थ्य परीक्षणको । त्यो पनि भइसकेको छ । अनुशासित भएर नेपाली बस्ने हो भने अब कुनै समस्या आउने छैन ।
तर, धार्चुलामा रहेका नेपालीहरूले खान बस्न नपाएको गुनासो गरिरहनुभएको छ नि ?
अधिकांश नेपालीको चाहना घर फर्केर परिवारसँग बस्नेछ । त्यसैले उहाँहरूले व्यवस्थापनबारे आलोचना गरिरहनुभएको छ । यो सही होइन । उहाँहरूको उचित व्यवस्थापन आजबाट भएको छ ।
विशेष परिस्थिति बनेकाले यतै ल्याएर राखेको भएपनि हुन्थ्यो भन्ने मत पनि प्रकट भएका छन् नि ?
लकडाउनको पनि पालना गर भन्ने, अनि त्यसविपरीत प्रवेश पनि दिने काम विरोधाभाषपूर्ण हुन्छ । त्यसैले हामीले उतैतिर व्यवस्थापन गरेका हौं । म सबैलाई कोरोना भाइरसको संवेदनशीलता र हामीले अपनाएको सतर्कताप्रति गम्भीर बनिदिन आग्रह गर्दछु ।
नेपालतर्फ फसेका भारतीयचाहिँ जान दिइन्छ कि यतै व्यवस्थापन हुन्छ त ?
त्यतातर्फको व्यवस्थापन हामी गर्छौं । तर, अलपत्र परेका त्यस्ता भारतीय अहिलेसम्म हाम्रो सम्पर्कमा आएका छैनन् । आएका खण्डमा त्यसको व्यवस्थापन हामी गर्छौं ।
यस विषयमा गृह मन्त्रालयलगायतसँग पनि केही कुराकानी भयो ?
सोमबार बिहान जिल्लाका सरोकारवालासँग छलफल गर्यौं । गृह मन्त्रालयमा पनि के गर्ने भनेर जानकारी लियौं । सबैतिरबाट लकडाउनको मर्मअनुसार अघि बढ्ने सुझाव आएपछि यस्तो निर्णय लिएका हौं ।
अलपत्र नेपाली जोखिम मोलेर महाकाली नदी तर्दै नेपाल प्रवेश गरेका तस्वीर र भिडियो प्रकाशमा आएको छ नि ?
तपाईंले अलपत्र भन्ने शब्द प्रयोग गरिरहनु भएको छ, यो सही होइन । सीमा नखुलेर उहाँहरू त्यहाँ रोकिनु भएको हो । त्यसलाई अलपत्र भन्न मिल्दैन । जहाँसम्म पौडिएर आएको कुरा छ, बैतडीका २ र दार्चुलाका एक जना महाकाली तरेर आज नेपाल प्रवेश गर्नुभएको छ । उहाँहरूलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेका छौं ।
नदी तरेर तीन जना व्यक्ति भारतबाट नेपाल प्रवेश गरेको घटनापछि हामीले दुबैतर्फ सुरक्षा सतर्कता बढाएका छौं । अब नदी पार गरेर नेपालतर्फ आउने अवस्था रहँदैन ।
प्रतिक्रिया 4