
१८ चैत, काठमाण्डौ । जवाफदेहिता निगरानी समितिले लकडाउन उल्लंघन गरेको भन्दै नागरिकलाई नियन्त्रणमा लिएर निर्मम कुटपीट गर्ने र यातना दिनेलाई कारबाही गर्न माग गरेको छ ।
समितिका संयोजक चरण प्रसाईंले मंगलबार विज्ञप्ति जारी गर्दै नागरिकलाई प्रहरी–प्रशासनले नियन्त्रणमा लिएर यातना दिएको भन्दै त्यसको निन्दा गरेका हुन् ।
‘यस्ता अशोभनीय र अनुचित कार्य एवं शारीरिक तथा मानसिक यातना, अमानवीय व्यवहार तत्काल बन्द गर्न र यसमा संलग्न प्रहरी अधिकारीलाई कारबाहीको दायरामा ल्याउन समेत हार्दिक अपिल गर्दछौं,’ प्रसाईले भनेका छन् ।
सरकारले कोभिड–१९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र जीवनरक्षाका लागि अगाडि सारेका उचित कदमलाई पूर्ण पालना गर्न पनि समितिले आम जनसमुदायमा अपिल गरेको छ ।
समितिले धादिङमा अलपत्र परेका ईंटाभट्टामा कार्यरत ६ हजार मजदुरको जीवन रक्षा गर्न माग गरेको छ ।
कोभिड–१९ को महामारीका बेला स्वास्थ्य उपचारमा कमीकमजोरी आउन नदिन, धार्चुलालगायतका सीमा नाकामा अलपत्र यात्रुलाई स्वास्थ्य परिक्षण, आवश्यक उपचार, काउन्सिलिङ गरेर स्वदेश प्रवेश उचित प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया 4